तनहुँ हाइड्रोले १०४ मेगावाटको तल्लो सेती आयोजना बनाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 04, 2022 | 02:47:08 PM मा प्रकाशित

laxmi  sunrise bank

तनहुँ हाइड्रोपावर लिमिटेडले तल्लो सेती (तनहुँ) जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । तनहुँको ऋषिङ गाउँपालिका–१ मा १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गरिरहेको तनहुँ हाइड्रोपावरले कम्पनीले १०४ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत आयोजना निर्माण गर्ने भएको हो । 

तनहुँ जलविद्युत आयोजनाको १४० मिटर अग्लो कङ्क्रिट बाँधबाट प्राप्त हुने सेती नदीको रेगुलेटेड प्रवाह तथा मादी नदीको थप प्रवाहसमेत प्रयोग गर्न तल्लो तटीय क्षेत्रमा तल्लो सेती जलविद्युत आयोजना निर्माण गर्न लागिएको कम्पनीले जनाएको छ । 

कम्पनीका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठका अनुसार कम्पनीले आयोजनाको विद्युत् उत्पादनको सर्वेक्षण अनुमति प्राप्त गरिसकेको छ ।

दातृ निकाय एशीयाली विकास बैंक (एडिबी)बाट प्राप्त करिब ३५ लाख अमेरिकी डलर अनुदान सहयोगबाट आयोजनाको विस्तृत इञ्जिनियरिङ डिजाइन तथा बोलपत्रसम्बन्धी काजगात तयार गर्ने परामर्श सेवा खरिदका लागि विसं २०७५ चैत २९ गते खरिद सम्झौता भएको थियो । 

परामर्शदाताले पेश गरेको विस्तृत डिजाइन प्रतिवेदन पुनरावलोकनका लागि नियुक्त ३ सदस्यीय विज्ञ समूहले २०७८ असार २३ गते डिजाइन पुनरावलोकन प्रतिवेदन बुझाएको थियो । विज्ञ समूहले बुझाएको आयोजनाको डिजाइन पुनरावलोकन प्रतिवेदनका विषयमा सरोकारवालासँग छलफल गरी आगामी आर्थिक वर्षमा अन्तिम रुप दिइने बताईएको छ ।

तनहुँको बन्दीपुर गाउँपालिका–६ र देवघाट गाउँपालिका–३ साराङघाट नजिकै रहेको सेती नदीमा ३२ मिटर अग्लो बाँध निर्माण गरिने छ । पानीको प्रवाहलाई देवघाट गाउँपालिका–३ र ४ हुँदै ६.८ किलोमिटर लामो सुरुङमार्फत सेती नदीको सङ्गमदेखि करिब ५ सय मिटर तल्लो तटीय क्षेत्रमा पर्ने देवघाटस्थित कालीगण्डकी नदीको दायाँ किनारमा बन्ने अर्ध भूमिगत विद्युत गृहमा खसाली विद्युत उत्पादन गर्ने योजना बनाइएको छ ।

आयोजनाबाट बन्दीपुर गाउँपालिका–६, व्यास नगरपालिका–१४, देवघाट गाउँपालिका–२, ३ र ४, आँबुखैरेनी गाउँपालिका–५ र ६, भरतपुर महानगरपालिका–२९ का केही भाग प्रभावित हुनेछन् । 

आयोजनाले वातावरणीय प्रभाव मूल्याङ्कन क्षेत्र निर्धारणका लागि राय माग गरेको छ । आयोजनाको क्षेत्राधिकार निर्धारणका लागि सुझाव माग गरिएको कम्पनीले बताएको छ । 

आयोजना निर्माण गर्दा पर्न सक्ने भौतिक, जैविक, सामाजिक, आर्थिक तथा सांस्कृतिक वातावरणीय प्रभावका सम्बन्धमा राय पठाउन भनिएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved