देउवा र मोदीबीचको सहमतिले उर्जा उत्पादक हर्षित, बंगलादेशसम्म विजुली बेच्ने ढोका खुल्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 06, 2022 | 12:35:15 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानले नेपाल र भारतबीच प्रधानमन्त्री तहमा उर्जा क्षेत्रमा सहमतिको स्वागत गरेको छ। भारतले नेपालको जगेडा बिजुली खरिद गर्ने, नेपालको बिजुली बंगलादेशसम्म जान दिने, पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत प्रतिवेदन (डीपीआर) दु्रतगतिमा बनाउन निर्देशन दिने, जलस्रोत र जलबिद्युतका मामिलामा आपसी सम्मान र आपसी सहमति कायम गर्ने सहमति भएकोप्रति  इप्पानले स्वागत गरेको हो। 

नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा प्रधानमन्त्री देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदी बिच भएको यो  सहमति नेपालको समग्र ऊर्जा क्षेत्रको बिकासमा ऐतिहासिक फड्को भएको इप्पानको ठहर छ ।  यस्तो सहमतिले दुवै देशहरुले उर्जाको सहज उपभोग गर्ने आधार निर्माण भएको र दुबै देशले अर्थतन्त्रको दु्रत बिकास गर्दै आर्थिक समृद्धिको यात्रामा सहकार्य गर्न मार्गप्रशस्त भएको इप्पानले जनाएको छ ।

नजिकको छिमेकी मुलुक भएको नाताले नेपाल र भारतबिच आर्थिक क्षेत्रमा हुने यस्तो सहमतिबाट दुबै देशहरुले पर्याप्त आर्थिक उपलब्धीहरु हासिल गर्नुका साथै दुबै मुलुकको आर्थिक कुटनीतिको क्षेत्रमा समेत नयाँ शिराबाट सम्बन्ध बिकास र बिस्तार हुने विश्वास इप्पानले व्यक्त गरेको छ ।

इप्पानले भनेको छ ' औपचारिक वार्तापछि आयोजित कार्यक्रममा ‘हामी नेपालको बिजुली खरिद गर्नेछौं’ भन्ने नरेन्द्र मोदीको घोषणाले नेपालको उर्जा उद्योगमा संलग्न आम उद्यमीहरुलाई उत्साहित र नयाँ आशाको सन्चार गराएको छ । सम्माननीय प्रधानमन्त्री मोदीको उक्त घोषणालाई संयुक्त विज्ञप्तिभित्र रहेको ‘संयुक्त भिजन स्टेटमेन्ट’ मा पनि समाबेश गरिनु नेपालको उर्जा ब्यापारमा ठूलो उपलब्धीका रुपमा लिन सकिन्छ । '

पहिलो पटक भारतले नेपालसँग जलस्रोत र जलविद्युतका मामिलामा आपसी समानता र आपसी सम्मानका आधारमा वार्ता गर्ने सहमति हुनु अर्को ठूलो उपलब्धीका रुपमा इप्पान लिएको छ। त्यसैगरी दुई देशबीचको ऊर्जा सहकार्य बीबीआइएन (भुटान, बंगलादेश, भारत र नेपाल) संरचना तहसम्म विस्तार गर्ने कुरा भिजन स्टेटमेन्टमा उल्लेख हुनु अत्यन्त सुखद पक्ष र यसबाट अब नेपालको बिजुली बंगलादेशसम्म निर्यात गर्ने ढोका खुला भएको इप्पानले उल्लेख गरेको छ । 

इप्पानका अनुसार भिजन स्टेटमेन्टमा जलविद्युतको संयुक्त विकास गर्ने, सीमापार प्रसारण लाइन निर्माण गर्ने, दुईतर्फी विद्युत आयात–निर्यात गर्ने, दुवै देशको ग्रीड (प्रसारण लाइन) सिंक्रोनाइज (एक रुप) तुल्याउने, संस्थागत सहयोग, ज्ञान र प्रविधिको हस्तान्तरण गर्ने कुरा पनि प्राथमिकताका साथ उल्लेख भएका छन् । दुई देशबीच पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको डीपीआर दु्रतगतिमा बनाउन आफ्ना सम्बद्ध अधिकारीहरुलाई निर्देशन दिने बुँदा पनि भिजन स्टेटमेन्टमा समेटिएको छ । 

अबको आवश्यकता भनेको दुई देशका कार्यकारी प्रमुखहरुबिच भएको यो सहमतिको इमानदारितापूर्वक कार्यान्वयनको रहेको इप्पानले जनाएको छ । यो सहमति पूर्ण कार्यान्वयन भएमा नेपाल–भारतबीचको आर्थिक, सामाजिक र राजनीतिक सम्बन्धले नयाँ उचाइ लिने इप्पानले विश्वास व्यक्त गरेको छ ।

इप्पानले भनेको छ 'हामीलाई बिस्वास छ, आजको यो सूचना प्रबिधिको नयाँ युगमा बिश्वले नजिकबाट नियालेको दुई देशबिच राजनीतिक उच्च स्तरमा भएका यी सहमतिहरु पूर्णरुपले कार्यान्वयनको चरणमा जानेछन् । फलतः यसबाट दुई देशको आपसी हित, आपसी लाभ, विस्वास र मैत्रीपूर्णसम्बन्ध अझ प्रगाढ हुने छ ।'

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved