४५२ मेगावाट बिजुली निर्यात अनुमति पाएका कुलमानले कसरी बुने हजार मेगावाट बेच्ने असम्भव योजना ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 18, 2023 | 06:03:57 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यस पटकको बर्षायाममा दैनिक एक हजार मेगावाट विद्युत बिक्री गर्ने योजना अघि सारेका छन् । पटकपटक विद्युत आपूर्ति कटौती खेपेका नागरिक र उद्योगीबाट अघोषित लोडसेडिङ् गरेर झुक्याइयो भन्ने आरोप खेपेका घिसिङले अनुमति नै नपाई  यही वर्षा आसपासमा एक हजार मेगावाट विद्युत बिक्री गर्ने योजना अघि सारेका हुन् । 

वर्षायाम सुरु भएसँगै यसपाली पनि भारतलाई विद्युत बिक्री थालेको बताउने कार्यकारी निर्देशक घिसिङ्ले अनुमति पाएको भन्दा दोब्बर बढी विद्युत निर्यात गर्ने असम्भवप्रायः योजना सार्वजनिक गरेका छन् । आफूमाथि नेपालमा लोडसेडिङ् गरेर भारतमा विद्युत बेचेको भन्ने आरोप लागेपछि त्यसको प्रतिवादस्वरुप स्पष्टिकरण पेश गर्न प्राधिकरणमा आज आयोजित पत्रकार भेटघाटका क्रममा उनले यस्तो घोषणा गरेका हुन् ।

 “रातीको समयमा ८०० देखि १००० मेगावाटसम्म बेच्छौँ भन्ने अबस्था छ, जुनबेला रातीको समयमा डिमान्ड कम हुन्छ र दिउँसो पनि कम हुन्छ, त्यो बेलामा बढी नै बेच्छौँ ।” यो उनले यही वर्षाको समयलाई लक्षित गरेर भनेका थिए ।

उनकाअनुसार हाल विद्युतको माग २ हजार मेगावाट रहेको छ । उनका अनुसार कुल जडित क्षमता २७ सय मेगावाट भए पनि विविध कारणले २५ सय मेगावाट उत्पादन हुनेछ । दुई हजार माग भयो भने पिक समयमा पनि ४ देखि ५०० मेगावाट विद्युत बेच्ने उनको योजना छ । यो उनको प्रक्षेपण विष्लेषण गर्दा ४ देखि ५०० सम्म निर्यात गर्न सकिने अबस्था देखिन्छ। तर नेपालले जम्मा ४५२ मेगावाट निर्यातको स्वीकृत भएको अबस्थामा एक हजार मेगावाट निर्यात गर्ने योजना आफैँमा सम्भव हुने देखिँदैन । महत्वकांक्षा राख्नु नराम्रो होइन, तर त्यसलाई वातावरण निर्माण गर्नुपर्नेमा त्यसो नगरी प्रचार बढी गरेको अर्थमा बुझिएको छ ।

सम्मेलनमा पत्रकारले राखेको जिज्ञासापछि भने अलि लयमा गएर वास्तविकता खुलाएका कुलमानले तत्कालै एक हजार बिक्री गर्ने पक्षमा नरहेको भनी आफ्नो फितलोपन पनि स्वीकारे । 

“थप बिक्रीको स्वीकृतिको प्रक्रियामा छ । ४५२ मेगावाट निर्यातको स्वीकृति लिइएको छ, अझै पनि हामी ४५२ मेगावाट निर्यात गर्ने अबस्थामा अहिले नै छैनौँ, विस्तारै अघि बढाउँदै जान्छौँ । त्यतिन्जेलसम्ममा स्वीकृत आउँछ”, घिसिङले भने, “डेली मार्केटमा मात्रै होइन की, मिडियम टर्म ५ वर्षको कन्ट्राक्टको पनि सहमतिको प्रक्रियामा रहेकाले हामी ढुक्छ छौँ, त्यो बेलासम्म स्वीकृति आउँछ ।” उनले नेपालका आयोजनाले पूर्ण क्षमतामा विद्युत उत्पादन गरेको अवस्थामा  १००० मेगावाटसम्म निर्यात गर्नुपर्ने भदौदेखि असोजसम्मको भएको पनि बताए । 

उनले थपे, “असार/साउनको अनुमान गर्न सकिने अबस्था नै छैन, अस्ति एकैछिनमा तामाकोसी ४०० मेगावाट भन्दा बढी उत्पादन भयो, एकैछिनमा तीन सयमा झर्यो, एकै छिन त्योभन्दा तल झर्यो, त्यसैले यो एक, दुई महिना अझै लाग्छ ।” 

उनले हरेक १५, १५ मिनेटमा हिसाब गरेर ट्रेडिङ गरेको र त्यही हिसाबले रातको १२ बजेदेखि अर्काे दिन १२ बजेसम्म निर्यात गर्ने पनि बताए । तर नेपाल भित्र दिइरहेको विद्युत कटौती गरेर नभइ बाँकी रहेको बिजुली मात्रै निर्यात हुने उनले पटकपटक दोहोर्याएर आफूमाथि लागेको आरोपको हिलो पखाल्ने प्रयास गरेका थिए ।

किन अबरुद्ध भइरहेको छ बिजुली ?

घिसिङले प्रणालीमा आएको गडबढीका कारण पटकपटक आपूर्ति अबरुद्ध भइरहेको भन्दै पत्रकारमाझ स्पष्टिकरण नै पेश गरे ।

“लोडसेडिङ गरेर निर्यात पो गरियो की भन्ने प्रचार सामाजिक सञ्जालमा पनि आएकाले त्यो कुनै हालतमा होइन, केही ट्राान्स्मिसनलाईमा ओभरलोड भएकाले समस्या भएको हो, कुनै समयमा दिनमा ११ पटकसम्म सिष्टम गएको छ, विद्युतको माग बढ्दा पनि समस्या भएको हो”, उनले थपे । 

विद्युत अबरुद्ध हुनुको कारण थप प्रष्ट्याउँदै घिसिङले अहिले पनि पूर्व पश्चिम १३२ केभी  कै प्रशारणलाइन रहेको र  केही ठाउँमा २२० केभी क्षमताको प्रसारण लाइन रहेकोले समस्या आएको बताए ।  क्रस बोर्डर ढल्केबर मुजफ्रपुरसम्मको ४०० केभीको लाइन तथा पूर्व पश्चिमको ४०० केभीको लाइन अझै सञ्चालनमा नआएको उनले बताए । २२० केभीको हेटौँडा–भरतपुर–बर्दघाटसम्मको लाइन सञ्चालनको चरणमा रहे पनि अझै अप्रेशनमा नआएकाले विगतमा गरेको योजना सफल हुन नसकेको उनले बताए । “त्यसकारण धेरै स्थानमा सिष्टममा ओभरलोडिङ रहेको छ, तराइको माग गर्मीमा बढ्छ र जाडोमा काठमाडौँ र पोखराको डिमाण्ड बढ्छ, तराईतिर अहिले एसी राख्ने र फ्यान चलाउने एकदम बढेको छ, गर्मीको कारणले बढेको हो, यसले पनि विद्युतमा समस्या आएको छ तर यो माग बढ्नु राम्रो विषय पनि हो”, उनले थपे ।

उनले धेरैजसो ठाउँमा प्रसारण लाइन नबन्दा तथा विभिन्न अबरोधहरु आउँदा विगतदेखिकै समस्याका कारण विद्युत प्रसारणमा ओभरलोड भएको भनी प्रष्टिकरणमा समय खर्चिएका थिए । 

घिसिङले उद्योगको नेचर र लोडको नेचर पत्रकारलाई थाहा नहुने जिकिर गर्दै एसी, फ्यान, आइरनका उद्योगमा अचानक एक मिनेटमा २०/३० मेगावाट विद्युत थपिने र एक मिनेटमै कम हुनेहुँदा भोल्टेजमा भेरिएसन आउने पनि बताए । त्यसले गर्दा एउटा पावरप्लान्टहरुमा असर हुँदा पनि प्रणाली नै जान सक्ने भन्दै उद्योगतर्फका समस्याले पनि विद्युत अवरुद्ध हुने कुरा औँल्याउन भ्याए । उनले यो समस्या आजको नभएको पनि दावी गरे । अचानक माग घटबढ हुने गर्दा प्रणालीले धान्न नसकेर विद्युत अवरुद्द हुने गरेको र केहि समय मै संचालन हुने गरेको उनले प्रष्ट पारे ।  

वनलगायत विभिन्न कारणले आयोजनाहरु अवरुद्ध हुँदा समस्या कायम रहेको उनले बताए । उनले कुश्मादेखि न्यु बुटबलसम्मको २२० केभी लाइन जसरी पनि सक्ने भनेर लागेको तर वनका कारण समस्या भएको, त्यो सकिएको भए अहिले मोदी कोरिडोर, कालिगण्डकी कोरिडोरका परियोजना फूल अपरेशनमा ल्याउन सकिन्थ्यो भने ।

उनले मस्र्याङ्दी कोरियोडमा अहिलेसम्म वनको क्लियरेन्स नपाएको बताए । ट्रान्समिसन लाइनको समस्या समाधान नभए कसरी सहज प्रशारण गर्न सकिने ? भनेर प्रतिप्रश्न पनि गरे । यसमा सबै निकायको सहयोगको माग पनि गरे । 

“यो लाइन बनेन भने यसपाली त म्यानेज गर्छाँै, अर्काे वर्ष म्यानेज गर्न सक्ने सम्भावना छैन, हेटौँडादेखि न्यु–बुटवलसम्मको लाइन एमसीसीले बनाउने भनेको छ, त्यो लाइन ढिला भयो भने हाम्रा पावरप्लान्टबाट जेनेरेशन भएको धेरैजसो विद्युत खेर जाने छ र निर्यात हुनसक्ने अवस्था पनि हुन्न र नेपाली उद्योगलाई पनि सप्लाई दिनसक्ने अबस्थामा छैनौँ”, उनले खुलाए ।

सहज पार्न ८ खर्ब चाहिने, भएन भने विद्युतमा डिजास्टर 

कार्यकारी निर्देशक घिसिङले उत्पादित विद्युत खपत गर्न र बाँकी रकम निर्यात गर्न संरचनामा लगानी गर्न सकेनौँ भने अर्काे डिजास्टर हुने चेतावनी दिए ।

“त्यसकारण हिसाब गर्दा अहिले तुरुन्तै गर्नुपर्ने परियोजनाका लागि ४/५ वर्ष भित्रमा ५ खर्ब रुपैयाँ चाहिन्छ” उनले अगाडि भने, “अब हामीले अली सहज सप्लाईका लागि पूर्व पश्चिम ४०० केभी, क्रस बोडर लाइन र यहाँका आन्तरिक शवस्टेशन सबै बनाउन काठमाडौँलाई मात्रै ५०/६० अर्ब चाहिने र होल देशमा सहज आपूर्ति गर्न करिव ८ खर्ब रकम चाहिन्छ ।” 

उनले विद्युत प्राधिकरण नाफामा नआएको भए र एक खर्ब लगानी नगरेको भए अहिले पनि नेपाल १५,१६ घण्टाको लोडसेडिङको चपेटा हुने दावी पनि गरे ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved