३ महिनालाई घरमा लोडसेडिङ टर्यो तर उद्योगमा अझैं बढ्यो, प्राधिकरणले पठायो तालिका

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 29, 2024 | 11:13:15 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतले सम्झौताको म्याद थप गरिदिएपछि तत्काललाई उपभोक्ताको घरमा हुने लोडसेडिङ टरेको छ। तर दैनिक आठ घण्टाको लोडसेडिङ ब्योहोरिरहेका उद्योगहरुमा लोडसेडिङ बढ्ने भएको हो।

भारतले आफ्नो विद्युत ब्यापार बजार (इन्डियन इनर्जी एक्सचेन्ज) बाट नेपाललाई बिजुली किन्न दिने सम्झौताको म्याद तीन महिनालाई थप गरेकाले अबको तीन महिनाको लागि घरमा हुने लोडसेडिङ टरेको हो। नेपाल र भारतबीचको यो सम्झौता यहि चैत १८ गते सकिदैछ। 

घरमा लोडसेडिङ टरेपनि दैनिक ८ घण्टा लोडसेडिङ व्योहोरिरहेका उद्योगहरुले भने थप लोडसेडिङ सहनुपर्ने भएको छ। साढे २ महिनादेखि उद्योगमा भइरहेको अघोषित लोडसेडिङ अझै ढेड महिनासम्म लम्बिने देखिएको हो ।

माघको पहिलो सातादेखि दैनिक ८ देखि १० घण्टासम्म अघोषित लोडसेडिङ ब्यहोरिरहेका उद्योगहरुले यो समस्या अझै कम्तीमा एक महिना झेल्नुपर्ने देखिएको हो । विराटनगर, बुटवल, नेपालगञ्ज, वीरजञ्ज लगायतका औद्योगिक क्षेत्रमा बिना तालिका मौखिक निर्देशन र ह्वार्टस् एप ग्रुपमा म्यासेज पठाएर प्राधिकरणले लोडसेडिङ गरिरहेको उद्योगीहरूको भनाइ छ ।

‘बिहान ७ बजेदेखि ११ बजेसम्म र साँझ ५ बजेदेखि ९ बजेसम्म उद्योग नचलाउनु भनेर प्राधिकरणले म्यासेज पठाउने गरेको छ’ बुटवलस्थित एक उद्योगीले भने, ‘हरेक दिन बिहान ४ घण्टा र बेलुका ४ घण्टा गरेर ८ घण्टा नियमित लोडसेडिङ भइरहेको छ । कहिलेकहीँ त बिहान र बेलुका गरेर १०/१२ घण्टा सम्ममै पनि लाइन जाने गरिरहेको छ ।’

प्राधिकरणले पठाएको म्यासेज

सुनसरी–मोरङ, पर्सा–वीरगञ्ज, बुटवल–भैरहवा लगायतका मुख्य औद्योगिक करिडोरमा प्राधिकरणले अघोषित रूपमा लोडसेडिङ गरिरहेको उद्योगीहरु बताउँछन् । उद्योग संगठन मोरङका अनुसार विद्युत आपूर्तिमा अवरोध भईदिँदा उद्योगी व्यवसायीमाथि बज्रपात परिरहेको छ ।

‘निरन्तर सञ्चालनमा रहनुपर्ने उद्योगहरुमा पूर्व सूचना विना विद्युत आपूर्ति बन्द गरिदिँदा उत्पादन प्रकृया ठप्प हुने, कच्चा पदार्थ खेर जाने, मेशिन औजारहरु विग्रनुका साथै श्रमिक व्यवस्थापनमा समेत कठिनाई भई अनावश्यक आर्थिक भार वहन गर्नु परिरहेको छ’ उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुनाराले भने, ‘लामो समयदेखि समस्या समाधानका लागि आग्रह गर्दा समेत समस्या समाधानमा सरोकारवाला निकायबाट चासो व्यक्त नहुँदा औद्योगिक क्षेत्रको सञ्चालन भगवान भरोसाको अवस्थामा पुगेको छ ।’

उद्योगी विकास गोयन्काका अनुसार भैरहवा क्षेत्रका उद्योगहरुमा पनि विहान र बेलुका गरी ८ घण्टा लोडसेडिङ भइरहेको छ । विद्युत प्राधिकरणको बुटवल ग्रिडबाट विद्युत उपभोग गरिरहेका ग्राहकहरुलाई प्राधिकरणले ‘ह्वार्टस् एप’मा म्यासेज (सन्देश) पठाएर ‘पिक आवर’मा उद्योग नचलाउन भनेको छ ।

यता, रिलायन्स स्पिनिङ मिल्सका सञ्चालकसमेत रहेका चिनी उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवालका अनुसार अहिले नियमित बिजुली आपुर्ति नहुँदा उद्योगहरु मर्कामा परेका छन् । भारतले नेपाललाई दिने बिजुलीको परिमाण घटाएर सम्झौता नवीकरण गरेको जानकारी आएकाले उद्योगमा थप लोडसेडिङको हुने चिन्ता थपिएको उद्योगी अग्रवाल बताउँछन् ।

भारतबाट शनिबार (चैत्र १७ गते)सम्म दैनिक ६८१ मेगावाट विद्युत् आयात हुनेछ । तर, आइतबारबाट यो परिमाण घटेर ५५४ मेगावाटमा मात्रै सिमित हुनेछ । विद्युत आयात सम्झौता नवीकरण गर्दा भारतले नेपाललाई ६८१ मेगावाटबाट घटाएर ५५४ मेगावाट मात्रै दिने गरि सम्झौता नवीकरण गरेपछि उद्योगमा तत्काल लोडसेडिङ नहट्ने देखिएको हो ।

उद्योगमा विद्युत आपुर्तिको समस्या केही समय कायम रहन्छः स्रोत

नेपाल विद्युत प्राधिकरण स्रोतले पनि उद्योगमा भइरहेको विद्युत आपुर्तिको समस्या अझै केही समय लम्बिने प्रष्ट पारेको छ । आन्तरिक उत्पादन नबढेसम्म उद्योगहरुमा माग अनुसारको बिजुली दिन नसकिने र आयात गरेर दिने सन्दर्भमा समेत भारतले परिमाण घटाएर सम्झौता ‘रिन्यू’ गरेकाले उद्योगले अझै एक देखि डेढ महिना विद्युत आपुर्तिको समस्या झेल्नुपर्ने प्राधिकरण स्रोतको प्रष्टिकरण छ ।

‘नेपालको आफ्नो उत्पादन र भारतबाट आयात हुने ६८१ मेगावाट जोड्दासमेत जम्मा १४ सय ८३ मेवागाट विद्युत मात्रै आपूर्ति भइरहेको थियो, जबकी अहिलेको पिक डिमाण्ड नै १८ सय ८५ मेगावाट छ’ प्राधिकरण स्रोत भन्छ, ‘अब झन आइतबारबाट ५५४ मेगावाट मात्रै आयात गर्न पाइने भएपछि अब आन्तरिक उपलब्धता र आयात गर्दा जम्मा १३ सय ५६ मेगावाट मात्रै बिजुली उपलब्ध हुन्छ । पानी पर्न सुरु भएर हाम्रो आन्तरिक उत्पादन नबढेसम्म अब यसैबाट सबैलाई पु¥याउनुपर्ने बाध्यता छ ।’

प्राधिकरणका प्रवक्ता चन्दन कुमार घोषले देशका पूर्वी क्षेत्रमा रहेका उद्योगहरुमा विद्युत् आपूर्तिमा केही समस्या रहेको स्वीकार गरेका छन् । तर, यो लोडसेडिङ भने नभएको उनको दाबी छ ।

यसअघिः

फेरि बढ्यो लोडसेडिङको जोखिमः पहिलो निशानामा उद्योग, त्यसपछि सर्वसाधारण

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved