'अन्तिम संस्कार': नेटफ्लिक्स र हलिउड सम्झाउने प्रयास, नयाँ प्रयोग रुचाउनेको बन्नसक्छ रोजाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 25, 2023 | 11:11:27 AM मा प्रकाशित

laxmi  sunrise bank

यही साता शुक्रबारदेखि नेपालका हलहरुमा ‘अन्तिम संस्कार’ लागेको छ। नयाँ विदेशी फिल्म रिलिज नभएको मौका छोपेर नेपालका हलमा लागेको ‘अन्तिम संस्कार’ लामाहरुको संस्कारसँग जोडिएको सामाजिक कथावस्तुमा आधारित रहेर बनेको छ। 

नेपाली तथा भारतीय फिल्ममा अनिवार्य दृश्य जस्तै बनेका गीत, फाइट, भीडभाडलाई पर राखेर कथाका पात्रमा केन्द्रित गरेर बनाइएको  ‘अन्तिम संस्कार’ले नयाँ प्रयोग गर्ने दुस्साहस गरेको अनुभूति हुन्छ। 

दृष्य सम्पादनमा भरपुररुपमा नयाँ प्रयोग गर्न खोजेको कुरा  ‘अन्तिम संस्कार’ हेर्ने जो कोहिले महसुस गर्न सक्छन्। त्यसमा पनि नयाँ विकल्प बन्दै गएको प्लेटफर्म ।

नेट फ्लिक्स, प्राइम अमेजोनमा फिल्म, सिरिज वा ड्रामा हेर्ने बानी परेकालाई भने ‘अन्तिम संस्कार’ले तान्न खोजेको देखिन्छ। 

पात्रमा केन्द्रित दृश्य सम्पादन, विषयवस्तु केन्द्रित, कथामा आधारित यथार्थपरक दृश्य र  दृश्य अनुसारका क्यामेरा प्रयोग नेट फ्लिक्स, प्राइम अमेजोनमा देखाइने फिल्म र सिरिजका विशेषता हुन्।  ‘अन्तिम संस्कार’ले पनि यही विशेषतालाई अंगाल्न खोजेको देखिन्छ। 

बुबाको भूमिकामा रहेका विजय लामा र अनाथ छोराको भूमिकामा रहेका त्रिचन्द्र राईलाई देखाउँदा र अनुसन्धानका लागि हिँडेका प्रहरीको भूमिकामा रहेका दीया पुन, रेश्मा घिमिरे, एवनराज उप्रेतीको कथालाई देखाउँदा अलगअलग क्यामेराको प्रयोग गरिएको छ। यो प्रयोगले पनि दर्शकलाई नेटफ्लिक्स र हलिउड मुभी सम्झाउने कोशिस गरेको देखिन्छ। 

हराएको एक फिल्ममेकरलाई खोज्न महिला प्रहरी अधिकृतको नेतृत्वमा चलाइएको अनुसन्धानमा आधारित फिल्म भए पनि फिल्ममा धेरै कुरा देखाउने प्रयास गरिएको छ। फिल्ममा अनाथ आश्रममा भएका केही तिता विषयलाई उजागर गरिएको छ भने समाजमा मात्रै नभई प्रहरी जस्तो सम्मानजनक पेशामा पनि महिलालाई सहज छैन भन्ने कुरा देखाउन खोजिएको छ। 

अर्कोतर्फ फिल्म 'अन्तिम संस्कार' मा रगतले मात्र बाबु र छोराको सम्बन्ध गाढा हुँदैन, भावनाले पनि हुन्छ भन्ने कुरा देखाउन खोजिएको छ। नबोलेरै, नभनेरै पनि सम्बन्धमा कति विषयहरुको पालना हुन्छन् भन्ने कुरा बाबु र छोराको कथाबाट देखाउन खोजिएको छ। 

नयाँ प्रयोग मन पराउनेलाई फिल्म हलसम्म तान्न सफल हुन्छन, हुँदैनन् त्यो हेर्न बाँकी छ तर बेलायतमा बसोबास गर्दै आएका फिल्म निर्देशक प्रदीप शाहीले निर्देशनमा धेरै नयाँ प्रयोग गर्ने आँट गरेका छन्। 

३ महिनाको तयारी र १५ दिनको शुटिङ्मा सम्पन्न गरिएको  १२२ मिनेट लामो यो फिल्म एक करोड प्लसको लागतमा बनेको फिल्म निर्देशक शाही बताउँछन्। विदेशी फिल्म वितरण गर्दै आएको एप्पल इन्टरटेनमेन्टले यसलाई देशव्यापी प्रदर्शन गर्न लागेको हो।

यो फिल्ममा विजय लामा, दीया पुन, रेश्मा घिमिरे, एवनराज उप्रेती, त्रिचन्द्र राई, विशाल पहारीलगायतको अभिनय छ । साई प्रोडक्सनको ब्यानरमा ह्याम्साएर एकाउन्टेनले फिल्म निर्माणमा सहकार्य गरेको छ । विनोद सुवेदी क्षितिज निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा भाइराजा थापा, राजकुमार गुरुङ, सुमन राई, उत्सव विष्ट, रबिन्द्र श्रेष्ठ छन् । बाबु श्रेष्ठको छायांकन र रुपेश गुरुङको सम्पादन रहेको फिल्मको प्रोडक्सन डिजाइनर प्रेम खड्का हुन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved