चालू आर्थिक बर्षको तेश्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिकको क्रम जारि छ। यसैक्रमलाई निरन्तरता दिंदै राष्ट्रिय स्तरका ११ वटै बिकास बैंकले आफ्नो प्रगति विवरण सार्वजनिक गरिसकेका छन।
९ महिनाको अवधिमा ११ वटा राष्ट्रिय स्तरका बिकास बैंकले ३ अर्ब ८७ करोड ८१ लाख खुद मुनाफा आर्जन गरेका छन। जुन गत आर्थिक बर्षको यस अवधिसँगको तुलनामा ७६ करोड ९९ लाख रुपैयाँले बढी हो।
चुक्ता पूँजी
चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म सबै ११ वटै बिकास बैंकले राष्ट्र बैंकले तोकेको चुक्तापुंजी २ अर्ब ५० करोड पुर्याएका छन।
यो पनि: २८ बाणिज्य बैंक मध्ये कुनमा लगानी बढी प्रतिफलमुलक ? |
निक्षेप संकलन तथा कर्जा परिचालन
चालु आर्थिक वर्षको तेस्रो त्रैमासा आउँदा ११ वटा बिकास बैंकहरुले २ खर्ब ६६ अर्ब निक्षेप संकलन गरि २ खर्ब ६१ अर्ब कर्जा परिचालन गरेका छन। गत आर्थिक बर्षको यसअवधिसँगको तुलनामा ८८ अर्ब ४९ करोडले निक्षेप बढेको छ भने ७५ अर्ब ९४ करोडले कर्जा परिचालन बढेको छ।
कुन अव्वल कुन कम्जोर ?
चालू आर्थिक बर्षको तेश्रो त्रैमाससम्ममा ११ वटा विकास बैंकहरुलाई पांच वटा महत्त्वपूर्ण सूचकमा हेर्दा गरिमा विकास बैंक अव्वल देखिएको छ। निक्षेप संकलन तथा कर्जा परिचालन, खुद मुनाफा र प्रति सेयर आम्दानीमा गरिमा बिकास बैंक अव्वल देखिएको छ। त्यस्तै चुक्तापुंजीमा ३ अर्ब १० करोड सहित ज्योति विकास बैंक अव्वल देखिएको छ। त्यस्तै प्रति सेयर नेटवर्थमा लुम्बिनी बिकास बैंक राम्रो देखिएको छ।
निक्षेप संकलन तथा कर्जा बिस्तारमा अन्य विकास बैंकको तुलनामा देब बिकास बैंक कम्जोर देखिएको छ। चालु आर्थिक बर्षमा शाखा बिस्तार तथा पुनसंरचनामा ठुलो लगानी गरेको कामना सेवा विकास बैंक खुद मुनाफा र प्रति सेयर आम्दानीमा कम्जोर देखिएको छ। चुक्तापुंजीमा लुम्बिनी बिकास बैंक पछि परेको छ।
कुन विकास बैंकलाई राम्रो मानेर लगानीको निर्णय लिने ?
सामान्यतया लगानीकर्ताको चाहना र क्षमतालाई हेरेर मात्र लगानीको निर्णय लिनुपर्छ। दिर्घकालिन लगानीको लागि संस्थाको संचालकको पृष्ठभुमीबारे थाहा लिन आवश्यक छ। यसका लागि कम्पनिको वेबसाइटमा गएर वा संस्थाले सार्वजनिक गर्ने बार्षिक प्रगति विवरण पढेर वा बिभिन्न स्रोतबाट जानकारी लिन सकिन्छ।
कम्तिमा पनि पछिल्ला ३ बर्षदेखि लाभांश दिंदै आएको र लाभांशको दर बढ्दो क्रममा रहेको संस्था रोज्नु राम्रो हुन्छ। तर हकप्रदको भार मात्र बोकाउने तर कुनै प्रतिफल नदिने संस्थामा लगानी गर्नु कम लाभदायक हुन सक्छ। संस्थाले आफ्नो चुक्तापुंजी वृद्धि गरेअनुसार मुनाफा गर्न सकेको छ छैन त्यसबारे जानकारी लिनु आवश्यक छ।
त्यस्तै संस्थाको खुद आम्दानी, प्रति सेयर आम्दानी, जगेडा कोष, प्रति सेयर नेटवर्थ, मुल्य आम्दानीको अनुपात, निक्षेप तथा कर्जा परिचालनको बिस्तारको अवस्था, संचालन खर्च जस्ता बिषयहरु लगानीको निर्णय लिने प्रमुख आधार हुन।
त्यस्तै समयमै प्रगति विवरण सार्वजनिक गर्ने, सेयरधनीप्रति बढी जिम्मेवार देखिने, पब्लिकको सूचनाको हकलाई ख्याल गरेर पारदर्शी रुपमा सूचना दिने जस्ता कम्पनी लगानीको लागि राम्रा हुन्छन।