काठमाडौं, १८ असोज । नवरात्रको आज नवौं तथा अन्तिम दिन । आज विशेषगरी दुर्गाको
नवौं स्वरुप सिद्धिदात्री देवीको पूजाआराधना गरिन्छ ।
नवरात्रभर पहिलो दिन शैलपुत्री,
दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो
दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ
दिन महागौरीको पूजाआराधना गरिएको थियो ।
महाअष्टमीका दिन हातहतियार, मेसिन र सवारीसाधनको पूजा नगरेकाहरूले आज बलीसहित
विश्वकर्माको पूजा गर्ने गर्छन् । आजै
नवदुर्गाको प्रतिकको रुपमा नौ कन्याहरूको पूजासमेत गरिन्छ । कुमारी, त्रिमूर्ति, कल्याणी, रोहिणी, काली, चण्डिका, शाम्भवी, दुर्गा र सुभद्राको स्वरुपमा नौ
कन्याको पूजा गरिन्छ ।
आज नेपाली सेनालगायत सुरक्षा निकायले कोतमा रहेको
हातहतियारको र निशानको पूजाआजा गरी हर्षबढाइँ गर्ने परम्परा छ । नेवार समुदायमा
महानवमीकै दिन भीमसेनको पूजा गरी बली दिने परम्परा छ ।
देवीको बिसर्जन दशमीका दिन मात्र
हुने भएकाले नवमीका साँझ पनि सधैँको जस्तो विधिले देवीको एवं स्थापित देवताहरूको
पूजा गर्नुपर्छ।
सिद्धगन्धर्वयक्षाद्यैः असुरैरमरैरपि
।
सेव्यमाना सदा भूयात् सिद्धिदा सिद्धिदायिनी ।।
सिद्ध, गन्धर्व, यक्ष, असुर, देवता आदिले सिद्धिप्राप्तिको लागि
सिद्धिदात्रीको आराधना गर्ने गर्छन् । कमलको फूललाई आफ्नो आसन बनाएकी देवी सिद्धिदात्रीको हातमा कलमको फूल,
शंख, चक्र,
गदा रहेको छ । अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्राकाम्य, ईशित्व तथा वशित्व नाम गरेका अष्ट
सिद्धिहरू यीनै देवीको कृपाबाट पाइने शास्त्रहरूमा उल्लेख गरिएको छ ।
नौ दिनसम्म आह्वान गरेर घरघरमा पूजा
गरेको नवदुर्गाको दशमीका दिन बिसर्जन गरिन्छ ।
नवरात्रभर देशका विभिन्न
शक्तिपीठहरूमा दर्शन गर्न भक्तजनको घुईँचो लाग्ने गर्छ । विशेषगरी काठमाडौंको नक्साल
भगवती, शोभा भगवती, भद्रकाली, काभ्रेको नाला भगवती, पलाञ्चोक भगवती, ताप्लेजुङको पाथीभारा, धरानको
दन्तकाली, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता, पोखराको विन्ध्यावासिनी, भोजपुरको
सिद्धकाली मन्दिरमा विशेष पूजाआराधना हुने गर्छ ।