बजारमा तिहारको झिलिमिली बत्ती पाउनै मुस्किल, भाउ पनि बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 23, 2022 | 10:54:19 AM मा प्रकाशित

laxmi  sunrise bank

तिहारमा सबैभन्दा बढी खपत हुने बस्तु हो ‘झिलिमिली बत्ती’ । उज्यालो चाड समेत भनिने भएकाले सहर बजार र गाउँमा समेत अहिले झिलिमिली बत्तीको खपत बढ्दो छ । 

लोडसेडिङ हुन छोडेपछि विद्युत लाइन पुगेका बस्तीहरुमा पनि अहिले यस्तै खालका झिलिमिली बत्ती नै बालिन्छ । मैन बत्ती वा हातले बनाइएका बत्तीलाई तेलले भिजाएर बालिने प्रचलन क्रमशः हट्दै गएको छ । 

झिलिमिली बत्तीको मूल्य बढ्यो

झिलिमिली बत्तीको मूल्य गत वर्षको तुलानामा यसपाली १० प्रतिशतले बढेको छ । नेपाल विद्युतीय व्यवसायी महासंघले झिलिमिली बत्तीको मूल्य ८ देखि १० प्रतिशतले बढेको जनाएको छ ।

अमेरिकी डलरको मूल्य बढ्दा आयात गर्दा शुल्क पनि बढी तिर्नुपरेकाले मूल्य बढेको महासंघको दाबी छ । यस्तै, तातोपानी र रसुवागढी नाका पनि सहज रुपमा सञ्चालन हुन नसक्दा चीनबाट झिलिमिली बत्तीको आयात कम हुँदा पनि मूल्य बढेको हो । 

यससँगै, यस्ता बस्तुको आयातमा प्रतितपत्र (एलसी) खोल्दा अनिवार्य शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने भएकाले पनि झिलिमिली बत्तीको सहज आपूर्ति नहुँदा मूल्य बढेको महासंघका पदाधिकारीहरु बताउँछन् ।

बजारमा अभाव

झिलिमिली बत्तीको उपलब्धता विगतका वर्षहरुको जस्तो सहज भने नरहेको महासंघ बताउँछ । विगतको माग बढेको तर, उपलब्धता भने कम रहेकाले सहजै पाउने अवस्था नरहेको व्यवसायीहरुले बताएका छन् । 

गत वर्ष ४० करोड मूल्य बराबरका झिलिमिली बत्ती आयात भएको थियो । यसवर्ष घटेर ३० करोड बराबरको मात्रै आयात हुने अनुमान महासंघले गरेको छ । कति रुपैयाँ बराबरको आयात भयो भन्ने तथ्यांक भने तिहार सकिएपछि मात्रै एकमुष्ट रुपमा थाहा हुने महासंघले जनाएको छ । 

नेपालमा झिलीमिली बत्तीको उत्पादन नहुने भएकाले झालर, माला बत्ती, बल्ब लगायतका सबै प्रकारका बत्तीहरु चीनबाट बढी मात्रामा आयात हुन्छ । यस्ता बत्तीहरु भारतबाट पनि थोरै मात्रामा आयात हुन्छन् । 

कुल आयातको ८० प्रतिशत खपत तिहारमा

नेपालमा बिजुलीजन्य बस्तु तथा बत्तीहरु आयात वर्षमा १ अर्ब बढीको हुन्छ । तर, यसमध्ये ८० प्रतिशत खपत भने तिहारको समयमा हुने गरेको व्यवसायीहरुले बताएका छन् । 

बाँकी २० प्रतिशत भने अरु चाडपर्व, मन्दिरमा हुने पूजाआजा, विवाह जस्ता समारोहमा खपत हुन्छन् । 

तिहारमा नेट झालर, इलेक्ट्रिक दियो, एलईडी लाइट, एलईडी फ्रेम लाइट, एलईडी डिस्को लाइट लगायतका बत्तीहरु धेरै मात्रामा बिक्रि हुन्छन् ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved