कालिगण्डकीमा ढकमक्क फूले सयपत्री, २५ लाख आम्दानीको लक्ष्य

नारायण प्रसाद कोइराला

नारायण प्रसाद कोइराला

Nov 03, 2023 | 01:46:06 PM मा प्रकाशित

laxmi  sunrise bank

स्याङ्जाको कालिगण्डकी गाउँपालिकामा सयपत्री फूल ढकमक्क फुलेका छन् l ६० रोपनी क्षेत्रफलमा गरिएको फूल खेती तिहार लगायतका पर्व र पूजाआजाका लागि तयार भएको छ l

पालिकाको आर्थिक र प्राविधिक सहयोगमा १६ जना कृषकहरूले व्यवसायिक फूल खेती गरिरहेका छन् l  कृषकहरूलाई व्यवसायिक फूल खेतीमा आकर्षित गर्न पालिकाले समेत  १५ रोपनी र  ध्रुवज्योती माध्यमिक विद्यालयले समेत ३ रोपनी क्षेत्रफलमा व्यवसायिक फूल खेती गरिरहेको छ l 

गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापाले गाउँपालिकालाई फूलमा आत्मनिर्भर बनाउन र व्यवसायिक कृषिलाई प्राथमिकता दिई कृषकहरूको जीवनस्तर उकास्न पालिकाले फूल खेतीलाई प्राथमिकता दिएको बताए l सुरूमा वडा ७ मा रहेको लालीगुराँस होमस्टे,बारीचौरलाई फूलैफूलको होमस्टे बनाउने प्रयोजनका लागि पालिकाले सयपत्री फूलको खेती गरेको थियो l अपेक्षित सफलता प्राप्त भएपछि अहिले सबै वडामा फूल खेती विस्तार गरिएको   अध्यक्ष थापाले बिजपाटीलाई बताए l उनका  अनुसार  गाउँपालिकाले  कृषकहरूलाई व्यवसायिक फूल खेतीमा आकर्षित गराउन न्युनतम २ रोपनीमा फूल खेती गर्ने कृषकलाई जग्गाको क्षेत्रफलको आधारमा ५० प्रतिशत अनुदानका साथमा प्रविधि, सीप, तालिम तथा आवश्यक सहयोग हस्तान्तरण गरिरहेको छ l  


विगत ३ वर्षदेखि फूल खेती गर्दै आएको पालिकाले कृषकहरूलाई व्यवसायिक बनाउने हेतुले प्रति रोपनी ९ हजारका दरले अनुदान दिदै आएको छ l न्युनतम २ रोपनी जग्गामा फूल खेती गर्ने कृषकहरूलाई पालिकाले आर्थिक, प्राविधिक सहयोग र बजारीकरणमा समेत सहजीकरण गर्दै आएको छ l उत्पादित फूल २५० प्रति केजीको दरले होलसेल मूल्यमा र प्रतिकेजी ३०० रूपैयाँका दरले खुद्रा मूल्यमा  बिक्रि भैरहेको पालिकाका कृषि अधिकृत अनुप पौडेलले बिजपाटीलाई बताए l गत वर्ष ७ हजार केजी फूल उत्पादन गरेर १८ लाख रूपैयाँ आम्दानी गर्न सफल भएको पालिकाले यस वर्ष करिब १० हजार केजी उत्पादन गरी २५ लाख आम्दानी गर्ने लक्ष्य लिएको छ l तयारी माला समेत ग्राहकको माग र गुणस्तर हेरीकन प्रतिगोटा ७० रूपैयाँ देखि १५० भन्दा बढी मूल्यमा बिक्रि भैरहेको छ l 


करिब ४ रोपनी क्षेत्रफलमा फूल खेती गरिरहेका कृषक काशिराम न्यौपानेको  फूलबारीमा  २ हजार ५ सय सयपत्री फूलका विरुवाहरू फक्रेर ढकमक्क फुलेका छन् l १ हजार देखि १ हजार ५ सय केजी बिक्री गर्ने अपेक्षा गरेका उनले पालिकाले गरेको आर्थिक तथा प्राविधिक सहयोगले कृषकहरू उत्साहित भएको बताए l उनले भने  “अनुप सर (कृषि अधिकृत) नियमित रूपमा हाम्रो फूल खेती अनुगमन गर्न आउनुहुन्छ, आवश्यक प्राविधिक सहयोग तत्काल उपलब्ध गराउनुहुन्छ, हामी उत्साहित पनि छौं , व्यवसायिक बन्ने जमर्को गर्दै छौं  l”

ध्रुवज्योती माध्यमिक विद्यालयका प्रधानाध्यापक हिरा गाहाले विद्यालयको सौन्दर्यकरण र आर्थिक उपार्जनमा समेत फूल खेतीले सहयोग पूर्र्याएको बताए l उनका अनुसार सयपत्री फूलको बिक्रीबाट विद्यालयले वार्षिक १ लाख भन्दा बढी आम्दानी गर्दै आएको छ l यो वर्ष २ लाख सम्म आम्दानी गर्ने अपेक्षा गरिएको प्रधानाध्यापक  गाहाले जानकारी दिए l पालिकाको प्राविधिक सहयोग र शिक्षक विद्यार्थीको मिहिनेतमा फुलेका फूलहरूले विद्यालयको वातावरण बालाबालिकामैत्री भएको प्रधानाध्यापक गाहाको अनुभव छ l फुल खेतीबाट हुने आम्दानी विद्यालयको शैक्षिक विकासमा खर्च गर्ने गरिएको विद्यालयले जनाएको छ l 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved