सुनचाँदी र भाँडाकुँडा किनेर आज धनतेरस मनाइँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 10, 2023 | 08:42:38 AM मा प्रकाशित

laxmi  sunrise bank

कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरस पर्व आज सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा राखिँदैछ । यसरी ल्याइएको भाँडाकुँडामा कार्तिक कृष्ण औँसीका दिन लक्ष्मीपूजा गरिन्छ ।

यसरी पूजाआराधना गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने वैदिक सनातन हिन्दू धार्मिक विश्वास छ । धनतेरसका दिन सुनचाँदीको गहना किनेर ल्याउने प्रचलनसमेत छ । धार्मिक विश्वासकै कारण आज भाँडाकुँडा एवं गरगहना किन्नेको भीड लाग्ने गर्छ ।

आजको दिनलाई धन त्रयोदशी, भाण्ड त्रयोदशी जस्ता नामले समेत चिनिन्छ । आजका दिन नयाँ भाँडा किनेमा लक्ष्मीले सधैँ घरमा बास गर्छिन् भन्ने धार्मिक विश्वास छ । यस विश्वासका आधारमा भाँडा पसलमा बिहानैदेखि ग्राहकको भीड लागेको छ । भाँडा पसलमा एक साताअघिदेखि नै तामा, पित्तललगायत धातुका भाँडा आकर्षक रुपमा साजसज्जा गरी राखिएको छ ।

यमपञ्चकको पहिलो दिन आज साँझदेखि यमराजलाई प्रसन्न बनाउन घरमा परिवार सङ्ख्याअनुसार यमदीप दान सुरु गरिँदैछ । यसरी दीप दान गर्नाले यम यातनाबाट मुक्त भइन्छ भन्ने शास्त्रीय मान्यता रहेको छ । आज धनका अधिपति कुबेरको जन्मदिन हो भन्ने शास्त्रीय एवं पौराणिक मान्यताका आधारमा विशेष पूजाआराधनासमेत गरिन्छ । केहीले आज कुबेरको पूजाआराधना गरे पनि केहीले भने लक्ष्मीपूजाकै दिन कुबेरको पूजाआराधना गर्छन् ।

दीपावली, तिहार, यमपञ्चक जस्ता नामले परिचित यो पर्व नेपालीले मनाउने दसैँपछिको दोस्रो ठूलो चाड हो । आजदेखि विधिवत् रुपमा कार्तिक शुक्ल द्वितीयासम्म घर, व्यापारिक प्रतिष्ठानलगायत स्थानमा झिलीमिली बत्ती बालेर दीपावली गरिन्छ । 

यमपञ्चक आजदेखि सुरु भए पनि काग तिहार भने शनिवार परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । धन्वन्तरि जयन्ती पनि शनिवार नै मनाइने छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved