'द्वन्दकालमा दाजु आउने निश्चित नहुँदा पनि दाजुको लागि माला गाँसेर बसेको हुन्थे'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 10, 2023 | 03:32:52 PM मा प्रकाशित

laxmi  sunrise bank

राधा पोखरेल

 तिहार भन्ने बित्तीकै मन नै त्यसै फुरुङ्ग हुन्छ । घरहरु मैनबत्ती र झिलिमिली बत्तीले उज्यालो पारिने हुनाले मन पनि उज्यालो, एकदम खुसी भएको महशुस हुन्छ । त्यसमा पनि बाल्यकालमा तिहारको समयमा गरिएका क्रियाकलाप सम्झिंदा अहिले पनि मनमा छट्टै खालको आनन्दको महशुस हुन्छ । चाडपर्वहरुमध्ये मलाई तिहार सबैभन्दा बिशेष लाग्छ । 

मेरो एक जना मात्रै दाजु हुनुहुन्छ, दिदीबहीनी भने हामी तीन जना छौं । बाल्यअवस्थादेखि नै मैले दिदीबहीनीको साथमा मेरो दाजुलाई भाइटीका लगाइदिंदै आएको छु । मैले महोत्तरीको बर्दिंबासमा बाल्यकाल बिताएको हुँ । त्यहाँ तिहारका लागि छुट्टै रौनक हुन्थ्यो । पाँचदिन मनाईने तिहारमा काग पुजा, कुकुर पुजा, लक्ष्मी पुजा, गोबर्दन पुजामा म ममी बुबाको साथसाथै सबै काममा सहभागि हुन्थे । मलाई सानैदेखि नै चाडपर्व साह्रै मन पर्ने त्यसमा पनि तिहार अति नै मन पर्ने पर्व हो । 

हामी दशैं सकिए लगत्तै तिहारको तयारीमा जुटथ्यौं। तिहार भन्ने बित्तिकै  देउसी भैलोको कुरा आउँछ । बाल्यकालमा भट्याउनका लागि ममीहरुसँग सोधेर लेख्ने, र त्यसलाई कण्ठ गरी भटयाउँथ्यौ । गीत भने त्यो बेला टेपबाट बजाउँथ्यो । हामीसँग ब्याट्रीवाला टेप थियो । त्यसलाई चार्ज गर्नका लागि २ घण्टा लगाएर बर्दिबास गएर चार्ज गरेको निकै याद आउँछ । सानैदेखि नाच्न मन पराउने मैले तिहारको देउसी भैलोमा नाच्ने गर्थैं। निकै रमाइलो लाग्थ्यो ।

एक वर्षको तिहार मैले कहिल्यै बिर्सन सक्दिन । हाम्रोमा तिहारमा लक्ष्मी पुजाको दिन हजुरममीको श्राद्ध गर्ने तिथि पर्छ । लक्ष्मी पुजाको अघिल्लो रात हामी रातभरी भैली खेलेका थियौं । बिहान आएर सुतेको थिए, म उठ्दा त राती नै भइसकेको रहेछ । दिनभरमा घरमा श्राद्धमा केके भयो मलाई केही थाहा भएन । त्यस्तै, मेरो दाजु प्रहरीमा हनु भएको र मेरो केही बाल्यकाल तत्कालिन माओवादीको द्धन्द्धकालिन समयमा पनि गुज्रेको हुनाले दाजु आउने नआउने निश्चित हुँदैनथ्यो । यद्यपी मैले माला गाँसेर बसेको हुन्थे ।

बाल्यअवस्थामा तिहारका लागि चाहिने सबै सामानको जोहो ममीले गरिदिनु हुन्थ्यो । अहिले भने आफैं गर्न सक्छु तरपनि अहिले कार्य व्यस्तता हुनेहुँदा ममीहरुको सहयोग लिंदै आएको छु ।

यसपालीको तिहार त मेरो लागि विशेष छ । एउटामात्रै दाजु हुनुहुन्छ मेरो म दाजुका लागि टिका लगाउन माइती जानुपर्नेछ । एउटै घरमा खेले हुर्केर र चाडपर्व मनाएका हामीले यसपाली दाजुका लागि बहिनी आफ्नो घरबाट टिका लगाउन जानुपर्नेछ। बाल्यकाल महोत्तरीमा बिताएपनि अहिले मेरो माइती मण्डिखाटार हो भने घर थानकोट गुर्जुधारा । बाल्यकालमा पनि तिहारका लागि विभिन्न थरिका रोटी, तरिकारी लगायतका मिष्ठान्न खानेकुरा ममिले बनाउनुहु्न्थ्यो । यसपाली पनि यसको तयारी सासु ममीले गर्नु भएको छ । यस मानेमा म निकै भाग्यमानि रहेछु । 

स्वास्थ्यलाई मध्यनजर गर्दै तिहारका लागि हामी सकेसम्म घरमा नै खानेकुरा तयार गर्ने गछौं । भाइमसलाका रुपमा प्रयोग हुने काजू, किसमिस, ओखर, छोकडा, बदाम नरिवल लगायतका फ्रुट्स किनेर प्रयोग गरिने भएपनि विभिन्न थरिथरिका रोटी, अचार लगायत अन्य मिठाईका परिकार भने हामी घरमै बनाउँछौं । 

लक्ष्मी पूजा लगायत विभिन्न पूजाका लागि तिहारमा फूल नभइहुँदैन त्यसका लागि सकेसम्म आफैंले घरमा फूल रोप्ने गरेको छु । यसपाली पनि मेरो घरमा सयपत्री फुल फुलेको छ भने मखमली भने किन्नु पर्नेछ । मैले तिहारका लागि चाहिने माला आफ्नै हातले गाँस्ने गर्छु । तिहारको समयमा घरमा गरिने पूजा आराधनाका लागि हामी घर सिँगार्नेदेखि रङ्गोली बनाउने काम आफैँ गर्छौँ । यसभन्दा अघिल्ला वर्षहरुमा छोरीका रुपमा घर सिँगार्ने, रंगोली बनाउँदै आएकोमा यसपाली बुहारीको रुपमा तिहारमा गर्र्नुपर्ने सबै कार्य गर्नुपर्नेछ । म निकै उत्साही छु ।

मलाई आफैंले गाँसेको माला दाजुलाई लगाइदिंदा निकै खुसी लाग्छ । तिहार दिदी बहिनी र दाजु भाईको पर्व भएकालेले दाजु निधारमा सप्तरंगीका टिकाको साथमा आफ्नै हातले उनेको माला गलामा लगाएर दिर्घायुको कामना गर्दाको आनन्द वर्णन गरिसाध्य हुँदैन । 

तास खेल्ने र पटका पड्काउने पनि तिहारको मौलिक विशेषता हो । मलाई तास खेल्न खासै आउँदैन् । एकचोटी बिरामी भएर कान्ति हस्पिटलमा बस्दा त्यहाँ सिकाएको जुटपत्ती नै अहिलेसम्म तास खेल्नका लागि उपयोगी भएको । यसपाली पनि म मौका मिलेमा त्यही जुटपत्ती खेल्ने योजनामा छु । मैल बचपनमा झुरझुर भन्ने पट्का निकै पड्काएको याद छ । अहिले त पट्का पड्काउन सरकारले रोक लगाएको छ ।  प्रहरीको परिवारमा भएकाले लुकीछिपी पट्का पड्काउने कुरा पनि भएन । आफूलाई साह्रै नै मन पर्ने भएर होला उच्छृङ्गखल गतिविधि नगरी सौहार्दपूर्ण तरिकाले पट्का पड्काउन दिए हुन्थ्यो जस्तो लाग्छ । 

अन्त्यमा, सम्पूर्ण पाठक, सेयर लगानीकर्ता, आफन्तजन लगायतमा उज्यालोको पर्व शुभ दिपावलीको हार्दिक शुभकामना व्यक्त गर्दछु । यस्ता चाडपर्वमा साथीभाईसँग रमाउने देश विदेश घुम्न जानु भन्दा पनि परिवारलाई समय दिन र हाम्रा चाडपर्वको जगेर्ना गर्दा आउने पुस्तामा हस्तान्तरण गर्ने भूमिका खेल्न आग्रह गर्दछु । 

राधा पोखरेल नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष हुन् ।


बिजपाटी डटकमले दशैँको अवसरमा ‘यसपालीको दशैँ’ स्तम्भ संचालनको गरेको थियो। तिहारको अवसरमा हामीले विभिन्न क्षेत्रका महिला व्यक्तित्वहरुसँग उनीहरुको तिहारको योजना, बाल्यकालका तिहारका स्मरण र फेरिएको तिहार मनाउने शैली लगायतका विषयवस्तु समेटेर यो विशेष सामग्री तयार पारेका हौ।: सम्पादक 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved