तिहारका लागि भाइमसला र माला किन्दै हुनुहुन्छ ? मूल्य थाहा पाउनुहोस्

सीता बुढाथोकी

सीता बुढाथोकी

Nov 10, 2023 | 06:40:02 PM मा प्रकाशित

laxmi  sunrise bank

तिहार नजिकिएसँगै भाइमसला र फूल तथा माला किन्नेको भिड बढेको छ । व्यवसायीहरुले कार्तिक २४ गते अर्थात् आज शुक्रबारबाट भाइमसलाको बिक्रि बढेको बताएका छन् । 

शुक्रबार राजधानीको पुरानो व्यापारिक थलो असन बजारका ठूला होलसेल पसलदेखि सानातिना फुटपाथ पसलसम्म भाइमसला किन्नेको भिड बाक्लो देखिएको छ । मसला मात्रै नभई भाइटिकाका लागि आवश्यक रङ्गसहित माला किन्नेहरु पनि उत्तिक्कै बढेका छन् । 

नेपाल खाद्य किराना व्यवसायी संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठका अनुसार यसपाली भाइमसलामा प्रयोग हुने मसला तथा किसमिसको मूल्य बढेको छैन । गत वर्षकै मूल्य भएपनि यसवर्ष ब्यापार भने सोचे अनुसार हुन नसकेको उनको भनाई छ । 

असनका पसलहरुमा एक केजी काजुको मूल्य १ हजार ७ सय रुपैयाँ छ । यद्यपी, सबै पसलमा भने एउटै मूल्य छैन । केही पसलमा भने प्रतिकेजी १ हजार ६ सयमा पनि उपलब्ध रहेको पाइएको छ । पेस्ता प्रतिकेजी २ हजार २ सय रुपैयाँ र ओखर प्रति केजी ५ सय रुपैयाँ रहेको पाइएको छ । मिश्रि प्रति केजी २५० रुपैयाँ, बदाम प्रति केजी ३ सय रुपैयाँ, नरिवल प्रति केजी ४५० रुपैयाँ रहेको छ । 

त्यस्तै, किसमिसको मूल्य प्रतिकिलो ५२५ रुपैयाँ, छोकडा प्रतिकिलो ५२५ रुपैयाँ, सुपारी (सुपाडी) प्रतिकिलो १४२० रुपैयाँ रहेको पाइएको छ । ल्वाङको मूल्य प्रतिकिलो २ हजार र सुकमेलको मूल्य प्रतिकिलो ३ हजार ५ सय रुपैयाँसम्म रहेको पाइएको छ । 

यी सामानको मूल्य अघिल्लो वर्षको तुलनामा धेरै महङ्गो नभएको व्यवसायीहरुको भनाई छ । 

दाजुभाइलाई तिहारमा दिदीबहिनीले लगाइदिने फूलका मालाको मूल्य पनि पसल अनुसार फरक फरक पाइएको छ । मखमलीको एउटा मालाको मूल्य ४० रुपैयाँ छ भने सयपत्रीको मालाको मूल्य २० रुपैयाँ रहेको छ । 

इण्डियन सयपत्रीको एउटा मालाको मूल्य १ सय रुपैयाँ छ । गोदावरी र सयपत्री मिसिएको एउटा मालाको मुल्य पनि १ सय रुपैयाँ नै रहेको पाइएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved