राइडरलाई पठाओको प्रश्न, ‘थाहा हुँदाहुँदै जोडिने, अहिले कमिशन बढी भो भन्ने ?’

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 13, 2021 | 01:09:15 PM मा प्रकाशित

laxmi  sunrise bank

राइड सेयरिङ कम्पनी पठाओ नेपालले कोभिडका समयमा आफ्ना राइडरहरुलाई ‘पठाओ लोगो अंकित’ ज्याकेट अनिवार्य गरेको थियो । तर, अहिले ट्राफिक प्रहरीले लगाउन नपर्ने भनेपछि ज्याकेट नलगाई राइडरहरुले सेवा दिँदै आएका छन् । 

ज्याकेट बाहिर किन्न नदिएर पठाओले राइडरलाई आफूसँगै ज्याकेट किन्न अनिवार्य गरेको राइडरहरुको गुनासो छ । तर, पठाओले भने यसलाई आरोप भन्दै पठाओले ज्याकेट बिक्रि गरेको एउटा मात्रै बिल देखाउन राइडरहरुलाई चूनौती दिएको छ ।

‘पैसा फिर्ता हुँदैन’

पठाओले अफलाइन राइडको बिकृति बढेको महशुस गरेर अर्को सूचना नआउञ्जेल पठाओ लोगो अंकित ज्याकेट नलगाउन आफ्ना राइडरलाई उर्दी गरिसकेको छ । तर, राइडरहरुले भने लगाउन नपर्ने भएपछि आफूहरुले तिरेको पैसा फिर्ता पाउनुपर्ने बताउँदै आएका छन् । 

‘ट्राफिक प्रहरीले तत्कालका लागि लगाउन पर्दैन भनेको हो, कहिल्यै पनि लगाउन पर्दैन भनेको छैन’ पठाओ नेपालका क्षेत्रीय निर्देशक असिममान सिंह बस्नेत भन्छन्, ‘फेरि कोरोना संक्रमित बढ्दै छन्, यसअघि पनि सीसीएमसीको निर्देशन अनुसार लगाउन भनिएको हो, अब फेरि पनि पहिलाकै जस्तो सुरक्षा विधि अपनाउ भन्यो भने लगाउनुपर्ने हुन्छ ।’

यसअघिः
दैनिक ६ करोड रुपैयाँ विदेश पठाउँदै ‘पठाओ’, नेपाललाई फाइदा के ?

बस्नेतले इ–कमर्श, फुड डेलिभर्स र राइड सेयरिङलाई निश्चित क्वालिटीको पीपीई सेट लगाउन कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले निर्देशन दिए अनुसार आफूहरुले पनि आफ्ना राइडरलाई अनिवार्य गरिएको र यो सेट तयार पार्न अर्को कम्पनीलाई करार गरिएको बताए । उनका अनुसार पठाओले बिक्रि गरेको नभई अर्को कम्पनीले बिक्रि गरेकाले पठाओसँग कुनै पनि दाबी नगर्न राइडरहरुलाई सुझाएका छन् । 

तर, राइडरहरुले भने पठाओमा ‘जोइन’ हुँदा पठाओ कार्यालयमा नै ज्याकेटको १५ सय र अन्य शुल्क भनेर ५ सय तिरेको दाबी गर्दै आएका छन् । क्षेत्रीय निर्देशक बस्नेतले भने १५ सय ज्याकेट र ५ सय मास्क, स्यानिटाइजरका लागि राइडरले तिरेको तर, उक्त शुल्क तिरेको बिल पठाओको नाममा नरहेकाले उनीहरुले दाबी गर्न नसक्ने बताउँछन् ।

एकजना राइडरले भने बाहिर खरिद गर्दा ४ सय रुपैयाँमा पाइँने ज्याकेटको पठाओले १५ सय रुपैयाँ लिएको दाबी गर्छन् । उनका अनुसार १ लाख ५० हजार नियमित राइडरले यस्तो ज्याकेट किनेका छन् । 

‘कमिशन घट्दैन’

पठाओका राइडरहरुले कमिशन पनि चर्को भएको गुनासो गर्दै आएका छन् । अहिले एक गन्तव्यको राइडपछि राइडरले २० प्रतिशत रकम पठाओलाई बुझाउनुपर्छ । यदि चक्रपथबाट नक्सालसम्म पठाओको ‘राइड चार्ज’ १०० रुपैयाँ हो भने राइडरले २० रुपैयाँ पठाओ कम्पनीलाई कमिशन चार्जवापत दिनुपर्छ । राइडरहरुले यो कमिशन दर उच्च भएको भन्दै घटाउन दबाब दिँदै आएका छन् । 

तर, पठाओका क्षेत्रीय निर्देशक बस्नेतले राइडरहरुले भने जस्तो कमिशन नघट्ने स्पष्ट पारेका छन् । राइडरहरु पठाओमा जोडिन आउँदा नै यसबारे स्पष्ट जानकारी भएरै आउने र आईसकेपछि पनि फाराम भर्नुअघि सबै कुरा स्पष्ट जानकारी दिईने भएकाले थाहा हुँदाहुँदै आवद्ध हुने र आवद्ध भईसकेपछि कमिशन बढी भयो भन्न नमिल्ने बस्नेतको भनाई छ ।

‘राइडरहरु जोडिन आउँदा नै सबै कुरा थाहा पाएरै आउनुहुन्छ’ बस्नेतले भने, ‘आउने बेलामा नै यति प्रतिशत कमिशन तिर्नुपर्छ भनेका हुन्छौँ, उहाँहरुले प्रष्ट थाहा पनि पाउनु भएको हुन्छ । तर, आएर जोडिइसकेपछि कमिशन बढी भयो भन्न कसरी मिल्छ ?’

केही समय अघि राइडरहरुले कमिसन ८ प्रतिशतमा झार्नुपर्ने, यात्रु र चालक दुवैको बीमा गरिनुपर्ने, राइडरहरु सस्पेन्ड हुनुपूर्व जानकारी दिईनुपर्ने, ड्यू पेमेन्ट बढाउनुपर्ने, कस्टमर केयर नम्बरहरु टोल फ्री हुनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved