
 2mb (1).gif)
टुटल र पठाओ नेपालमा ख्याती कमाएका राइड सेयरिङ कम्पनी हुन् । यीनीहरुबीच व्यवसायसँगै प्रविधिमा पनि प्रतिस्पर्धा छ । तर, धेरै देशहरुमा पुगिसकेको पठाओको सामू नेपाली प्रविधि र लगानीको टुटलले प्रतिस्पर्धा गर्न सकिरहेको छैन ।
यद्यपी, पठाओ धेरै विवादित छ । टुटल भने खासै विवादमा आएको पाइँदैन । कहिले ट्याक्सी चालक त कहिले ट्राफिक प्रहरीसँगको लफडामा पठाओ मुछिँदै आएको छ । २ लाखभन्दा धेरै राइडर (चालक) भएको दाबी गर्दै पठाओले आफूलाई कसैले पनि प्रश्न उठाउन नसक्ने घमण्ड पाल्दै आएको छ ।
पठाओ कमाउने धन्दामा, टुटल फन्दामा
टुटल १०० प्रतिशत नेपाली प्रविधि हो । प्रविधिसँगै यो नेपाली ब्राण्ड पनि हो । तर, पठाओ भने बंगलादेशी प्रविधि र उतैको ब्राण्ड हो । विदेशी कम्पनी भएको नाताले उसले प्रचार र मार्केटिङमा प्रशस्त लगानी गरेको छ । तर, सिमित नेपाली युवाहरुले सुरु गरेको टुटलले मिडिया र मार्केटिङमा लगानी गर्न सकिरहेको छैन ।
विजनेश स्टाटेजीमा पनि पठाओ अब्बल छ । उसको ध्यान नै नाफा कमाउने मात्रै भएकाले अरु विषयमा पठाओले सोचेको छैन । जस्तो कि, पठाओमा आवद्ध हुन चाहने ट्याक्सीबाट पठाओले सुरुमै डिपोजिट लिने गरेको खुलेको छ । स्रोतका अनुसार पठाओले आफूसँग आवद्ध हुने एउटा ट्याक्सीबाट सुरुमा ३ हजार रुपैयाँ डिपोजिट लिन्छ ।
तर, टुटलले भने बिना कुनै शुल्क आवद्ध गराउँदै आएको छ ।
कोभिडको समयमा पठाओले आफ्ना राइडरहरुलाई पीपीई सेट (ज्याकेट) लगाउन उर्दी जारी गर्यो । तर, उक्त ज्याकेट आफैँसँग किनेर मात्रै लगाउनुपर्ने र बाहिर खरिद गर्न नपाउने भनेर राइडरबाट २ हजार रुपैयाँ अशुलेको थियो ।
‘कोभिडको बेलामा दर्ता हुँदा जम्मा २ हजार लिन्थ्यो, मैले पनि २ हजार तिरेको हो । यो २ हजारमध्ये १५ सय चाहिँ पीपीईको भन्थ्यो र बाँकी ५ सय चाहिँ फाराम शुल्क भनेर लिएको थियो’ एक जना पठाओ राइडरले भने ।
अफलाइन राइडको बिकृति बढेको भन्दै अहिले उक्त ज्याकेट लगाउन नपर्ने भनेपनि यसअघि लिएको पैसा पठाओले फिर्ता नगरेको उनको गुनासो छ ।
यसरी हेर्दा पठाओ पूर्ण रुपमा नाफामुखी र कमाउने दाउमा मात्रै केन्द्रित हुँदा टुटल भने नामका कारण फन्दामा परेको छ । झट्ट सुन्दा पठाओ नाम नेपाली जस्तो र टुटल विदेशी जस्तो सुनिने र सुरुमा मिडियाबाट पनि यसैगरी प्रचार भएका कारण टुटलले ठूलो विजनेश गुमाईरहेको बताइन्छ ।
दैनिक ६ करोड रुपैयाँ विदेशिँदै
पठाओको कमिशन चार्ज २० प्रतिशत छ । टुटलको १० प्रतिशत मात्रै छ । कोभिड अवधि र त्योभन्दा पहिले मार्केटिङका क्रममा गरी डेढ वर्षसम्म टुटलले चालकबाट कुनै पनि कमिशन लिएन । अहिले भने १० प्रतिशत लिँदै आएको छ ।
पठाओले लिने २० प्रतिशत चार्ज पूरै विदेशिने गरेको छ । २ लाख राइडर आवद्ध भएको दाबी गर्ने पठाओले नेपालमा आफ्ना कर्मचारी राखेको छ ।
‘यहाँ अहिले देखिने कन्ट्री डाइरेक्टर, अरु अरु पोष्टका व्यक्तिहरु पठाओका कर्मचारी मात्रै हुन्’ स्रोत भन्छ, ‘पठाओ नेपाल भनेको १०० प्रतिशत बङ्गलादेशको लगानी भएको कम्पनी हो, यसमा कुनै पनि नेपालीको एक रुपैयाँ लगानी छैन ।’
एउटा राइडरले औसतमा दैनिक १५ सय रुपैयाँ आम्दानी गर्ने देखिन्छ । कसैले दैनिक ३ देखि ४ हजार रुपैयाँ पनि कमाउँदै आएका छन् । यसको आधारमा हिसाब गर्दा यदि एउटा राइडरले दिनमा १५ सय रुपैयाँ कमाउँछ भने २ लाख राइडरले ३० करोड रुपैयाँ कमाउँछन् । यसको २० प्रतिशत पठाओलाई बुझाउनुपर्छ । यो हिसाबमा दैनिक ६ करोड रुपैयाँ पठाओले कमाउँदै आएको छ ।
‘यो ६ करोड त देखिने हिसाब हो, मानौ २ लाख राइडरमा ५० हजारले चलाउँदैनन् भने पनि डेढ लाखले त चलाएका छन्’ स्रोतले दाबी गर्यो, ‘डेढ लाखले मात्रै चलाउँदा पनि त ४ करोड ५० लाख त लगिरहेकै छ ।’
स्रोत थप्छ, ‘पठाओ भनेको प्रत्यक्ष वैदेशिक लगानी हो, यसमा कुनै पनि नेपालीको लगानी भएको लिगल डकुमेन्ट छैन । यसरी हेर्दा नेपालमा देखिने पठाओ सम्वद्ध अधिकारीहरु भनेका कर्मचारी मात्रै हुन् । यसको माउ कम्पनी अमेरिकाको बेलावयरमा छ । नेपाली राइडरबाट लिएको सबै पैसा विदेश जान्छ र यहाँका कर्मचारीले तलब मात्रै पाउँछन् । कुन दिन त्यो तलब पनि नपाउने जोमिख छ ।’
टुटलभन्दा पठाओ ५ देखि १० प्रतिशत सस्तो पनि भएको र नेपाली ब्राण्ड पनि भएकाले सरकारले टुटललाई प्रोमोशन गर्नुपर्ने पठाओका राइडरहरु नै बताउँछन् । पठाओ बन्द नै गरेर टुटललाई व्यवस्थित रुपमा सञ्चालन गरिए आफूहरु पनि आन्दोलनमा जानुनपर्ने ट्याक्सी चालकहरु नै बताउँछन् ।
पठाओले भने कमिशन घटाउने पक्षमा आफू नरहेको र यसको सट्टा राइडर र उपभोक्ताको बीमा गरिदिएको दाबी गर्दै आएको छ । दैनिक ४ करोड ५० लाखदेखि ६ करोड रुपैयाँ विदेश पठाउँदा पठाओबाट नेपालले पाउने भनेको यहाँ कार्यरत १५ जना कर्मचारीको तलब मात्रै भएको पठाओकै राइडरहरु बताउन थालिसकेका छन् । उनीहरुले कमिशन चार्ज ५ प्रतिशतमा मात्रै सिमित गर्नुपर्ने वा बन्द नै गरेर नेपाली ब्राण्डलाई स्थापित गर्नुपर्ने बताईरहेका छन् ।