के को आधारमा ८८४८ भोड्काले आफूलाई विश्वकै ‘पियोरेष्ट’ भन्छ ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 23, 2021 | 01:20:26 PM मा प्रकाशित

laxmi  sunrise bank

कुनै बस्तु तथा सेवाको विज्ञापन गर्दा ‘जे हो, त्यो देखाउनु पर्ने’ विश्वव्यापी मान्यता छ । तर, कतिपय उत्पादन र सेवाको विज्ञापनमा अनावश्यक प्रचार पनि देखिन्छ । कुनै आधिकारिक निकायबाट प्रमाणित नगरी उत्पादकहरुले आफूखुशी आफ्ना उत्पादनको क्षमता, स्वाद आदिको प्रचार गरिरहेका हुन्छन् ।

सामान्यतया, मदिराको विज्ञापन गर्न पाइँदैन । तर, नेपाली मदिरा कम्पनीहरुले आफ्ना उत्पादन विश्वस्तरीय मात्रै नभई विश्वकै सबैभन्दा स्वादिष्ट मदिरा भनेर पनि विज्ञापन गरिरहेका छन् ।

८८४८ भोड्का ‘वल्र्ड पियोरेष्ट’ कसरी ?

यती डिष्टिलरी प्रा.ली. उत्पादन गर्दै बजारमा पठाउँदै आएको ८८४८ भोड्कामा ४० प्रतिशत अल्कोहल छ । यो भोड्का ७५० एमएल र १८० एमएलका बोतलमा उपलब्ध छ । ७५० एमएलको १ बोतलको मूल्य १६ सय ७५ रुपैयाँ पर्छ ।

पछिल्लो समय धेरै बिक्रि हुने र रुचाईएको भोड्का हो पनि ८८४८ । सगरमाथाको यसअघि कायम रहेको उचाई ८८४८ मिटर (हाल ८८४८.८६ मिटर) को नामबाट ब्राण्ड भएको यो भोड्काले आफूलाई ‘वल्र्ड पियोरेष्ट’ भोड्का भन्ने गरेको छ । तर, कहाँबाट प्रमाणित गरेर यो लेखिएको हो भन्नेमा केही खुलाईएको छैन ।

के भन्छ कम्पनी ?

यती डिष्टिलरीका अध्यक्ष रवि केसी आफैँले अहिले कम्पनीको सेल्स एण्ड मार्केटिङको पनि नेतृत्व गरिरहेका छन् । ८८४८ भोड्काले आफ्नो प्रचार गर्दा ‘वल्र्ड पियोरेष्ट’ भनेर किन लेखेको भन्ने जिज्ञासामा उनले यो आफूहरुको दाबी भएको बताएका छन् ।

‘संसारकै पियोरमध्येको १ हो भन्न खोजिएको हो, यसलाई नचाहिने प्रचार गर्यो भन्नु हुँदैन’ केसी भन्छन्, ‘हामीले कतैबाट सर्टिफिकेट ल्याएका छैनौ, तर हाम्रो उत्पादन क्वालिटीयुक्त छ । हामी मानव स्वास्थ्यलाई हानी गर्ने कुनैपनि पदार्थ हाल्दैनौँ । चिनी पनि हामी मिसाउँदैनौँ । त्यसैले संसारका पियोर मध्येको ८८४८ पनि हो भन्ने हाम्रो दाबी हो ।’

यो पनिः
सबै कम्पनीले बियरमा ‘अल्कोहल’को मात्रा बढाए, बजारमा ‘कडा’ बियर मात्र

नामले मात्रै र वल्र्ड पियोरेष्ट भोड्का लेखिएकै आधारमा ८८४८ धेरै रुचाईएको नभई आफूहरुले क्वालिटीको उत्पादन उपभोक्तालाई उपलब्ध गराएका कारण लोकप्रीय बनिरहेको केसीको दाबी छ । उनले नेपाल हिमालै हिमालको देश भएकाले हिमालय क्षेत्रको प्रचार हुने गरी ब्राण्डिङ गरिएको उनको भनाई छ । 

सरोकारवालाको जवाफ यस्तो

यस विषयमा नेपाल विज्ञापन संघ (आन) ले प्रमाणित कागजात नभई विज्ञापन गर्न नहुने तर ८८४८ भोड्काको विषयमा अहिले नै कोही बोल्न नसक्ने जनाएको छ । आनका अध्यक्ष सोम धितालले विज्ञापनमा आफ्ना गुणस्तर तथा फिचरहरु भन्न वा देखाउन पाईने भएपनि प्रमाणित कागजात हुनुपर्ने बताए ।

‘भ्रम सिर्जना गर्नेगरी विज्ञापन गर्न पाइँदैन, यो दण्डनीय हुन्छ’ अध्यक्ष धितालले भने, ‘८८४८ भोड्काको विषयमा ठ्याक्कै के हो थाहा भएन तर, समग्रमा भ्रम सिर्जना हुने गरी विज्ञापन र ब्राण्डिङ गर्न हुँदैन । यस्तो नगर्न हामीले विज्ञापनकर्मीहरुलाई भनिरहेका छौँ, गलत गर्नेलाई कारबाही पनि गर्छौ, यो हाम्रो प्रतिवद्धता हो ।’

नेपाल विज्ञापन बोर्डले राष्ट्रिय विज्ञापन नीति बनाउने तयारी भईरहेको र यो नीति बनेपछि यस्ता मसिना भन्दा पनि मसिना समस्याहरु आफैँ समाधान हुने बताएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved