राष्ट्रिय गौरवका राजमार्गमा समयको बर्बाद, पैसाको सत्यनाश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 10, 2023 | 12:37:03 PM मा प्रकाशित

laxmi  sunrise bank

सडक विभाग अन्तर्गत हुलाकी राजमार्ग, मध्यपहाडी (पुष्पलाल) राजमार्ग र उत्तर दक्षिण तथा ब्यापारिक मार्ग विस्तार आयोजना राष्ट्रिय गौरवका आयोजनाका रुपमा सञ्चालित छन् । राष्ट्रिय गौरवका यी ३ ठूला राजमार्ग यसपाली बनि सकिनुपथ्र्यो । अर्थात्, चालु आर्थिक वर्ष २०७९/०८० भित्र निर्माण सम्पन्न भइसक्नुपथ्र्यो । तर, यी ३ वटैको म्याद आर्थिक वर्ष २०८३/०८४ मा मात्रै सक्ने गरी थपिएको छ ।

उत्तर दक्षिण तथा ब्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत कर्णाली करिडोर, कोशी करिडोर र कालीगण्डकी करिडोर छन् । कालीगण्डकी करिडोर अन्तर्गत पनि गैडाकोट–राम्दी–मालढुंगा सडक योजना र बेनी–जोमसोम–कोरला सडक योजना सञ्चालित छन् ।

हुलाकी राजमार्ग

आर्थिक वर्ष २०६५/०६६ बाट निर्माण सुरु भएको हुलाकी राजमार्ग यसवर्ष निर्माण भइसक्नुथ्र्यो । तराइ मधेशका २१ जिल्ला जोड्ने कुल १८५० किलोमिटर लम्बाईको हुलाकी राजमार्गलाई पूर्व–पश्चिम राजमार्गको विकल्पको रूपमा पनि अथ्र्याइन्छ । 

सन् २००२ मा भारतको सहयोगमा यो राजमार्ग बनाउने सैद्धान्तिक सहमति भयो । सन् २००६ मा भारतसँग पहिलो सम्झौता पनि भयो । तर, पहिलो ठेक्का नै सन् २०१० मा मात्रै लाग्यो ।

भारत सरकारको ८ अर्ब अनुदान र बाँकी नेपाल सरकार आफैँले ब्यहोर्ने गरी आर्थिक वर्ष २०७९/०८० मा सक्नुपर्ने यो राजमार्गको काम अझै केही वर्ष नसकिने निश्चित छ । किनकी, अहिलेसम्म जम्मा ९ सय किलोमिटर मात्रै कालोपत्रे सकिएको छ । 

२५० वटा पुलमध्ये १५० वटाको मात्रै निर्माण सकिएको छ । यस आयोजनाका निर्देशक धर्मेन्द्र कुमार झाका अनुसार ५० वटाको त ठेक्का नै लाग्न बाँकी छ । 

यसैबीच, यो राजमार्गमा चितवन राष्ट्रिय निकुञ्जसहित शुक्लाफाँट बन्यजन्तु आरक्ष र बाँके राष्ट्रिय निकुञ्ज र यसले ओगटेको दाङको समेत केही बन क्षेत्र पर्छ । रेखाङ्कन अनुसार निकुञ्ज क्षेत्रभित्र पर्ने २५० किलोमिटर जति सडक बनाउन सकिने अवस्था नरहेको आयोजना निर्देशक झा बताउँछन् ।

‘आर्थिक वर्ष २०७९/०८० मा नै सक्नुपथ्र्यो, विविध कारणले सकिएन’ उनी भन्छन्, ‘अब निकुञ्जभित्र पर्ने २५० किलोमिटर बाहेक १६५० किलोमिटरको कालोपर्ने गर्ने काम, यसमा पर्ने पुल बनाउने काम २०८२ सम्ममा सक्छौँ ।’

सुरुमा ४७ अर्ब लागत अनुमान गरिएको यो आयोजनामा हालसम्म ५५ अर्ब खर्च भइसकेको छ । शंसोधित लागत अनुमान ६५ अर्ब रुपैयाँ छ । 

‘उत्तर दक्षिणमा लम्बाई थपिएपछि अनुमानित लागत पनि बढ्यो’ झाले भने ।

मध्यपहाडी (पुष्पलाल) राजमार्ग

मध्यपहाडी (पुष्पलाल) राजमार्ग अन्तर्गत केही ठाउँमा ट्रयाक नै खुलिसकेको छैन । १४१७ किलोमिटर मध्यपहाडी र ४६२ किलोमिटर अन्य निकायको समेत गरी कुल १८७९ किलोमिटर लम्बाईको यो राजमार्ग पनि चालु आर्थिक वर्ष २०७९/०८० भित्र सम्पन्न भइसक्नु पर्ने हो । तर, हालसम्म जम्मा ६६ प्रतिशत मात्रै काम सकिएको छ ।

यस राजमार्गको काभ्रे जिल्लामा पर्ने खण्डमा ग्रावेलको ठेक्का लगाइएको भएपनि समयमै काम नसकिँदा कालोपत्रेको ठेक्का लगाउन सकिएको छैन । त्यस्तै, धादिङ खण्डमा भने बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको डुबान क्षेत्र पर्ने भएकाले त्यहाँ पनि काम हुन सकेको छैन । काभ्रे र धादिङ खण्डमा कालोपत्रेका लागि ठेक्का लगाउन बाँकी खण्ड ११७ किलोमिटर जति छ ।

रामेछापको खाँडादेवी गाउँपालिका क्षेत्रमा पर्ने खण्ड र जाजरकोटको मान्ताभीरमा पर्ने खण्डमा त झन ट्रयाक नै खोल्न बाँकी छ । रामेछाप खण्डमा ४ किलोमिटर ट्रयाक खोल्न बाँकी छ ।

‘रामेछाप र जाजरकोटमा ८० प्रतिशत काम सकेर निर्माण कम्पनी कता अलमलिए भन्ने नै बुझ्न सकिएन, काम गरेन भनौँ भने ८० प्रतिशत गरेको छ, तर बाँकी ट्रयाक खोल्ने सुरसार देखाएका छैनन्’ आयोजना निर्देशकले भने ।

हालसम्म ७९७ किलोमिटर खण्ड कालोपत्रे भएको छ । हाल ५०३ किलोमिटरमा कालोपत्रेको काम चलिरहेको छ । चालु आर्थिक वर्षमा ३५० किलोमिटर कालोपत्रेको काम सक्ने लक्ष्य आयोजनाले राखेको छ । 

‘५० किलोमिटर चाहिँ क्रोनिक ठेक्का छ, यसवर्ष काम सम्पन्न भएन भने ठेक्का तोडिन्छ’ आयोजना निर्देशक हरिकुमार पोखरेलले भने, ‘भेरी पुलको ठेक्का तोड्यौँ । ठेकेदार कम्पनी राम्रै थियो, सुरुमा राम्रै काम गरेको पनि हो । तर, कोरोनाले मुख्य मान्छे कै मृत्यु भएपछि केही समय थप पनि गर्यौ तर, छोराहरुले खासै काम गर्न नसकेपछि ठेक्का तोड्यौँ ।’

त्यस्तै, खोटाङको पङ्खु खोलाको पुल र खोटाङ जिल्लाभित्रै पर्ने १० किलोमिटर खण्डको ठेक्का पनि तोड्ने प्रक्रिया सुरु गरिएको छ ।

यस आयोजनामा १३७ वटा पुल बनाउनुपर्नेमा हालसम्म ९४ वटा बनेका छन् । २८ वटा पुल निर्माणाधिन अवस्थामा रहँदा ८ वटाको ठेक्का लाग्नै बाँकी छ । बाँकी ४ वटाको डिजाइन अन्तिम चरणमा पुगेको बताइएको छ ।

सुरुमा बी.पी. राजमार्ग र पृथ्वी राजमार्ग हुँदै पोखरा पुर्याउने भनिएको मध्यपहाडी (पुष्पलाल) राजमार्गको लम्बाई बीचमा ५ सय किलोमिटर थपियो । थपिएको खण्ड रामेछापबाट काभ्रे हुँदै, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, गोरखा र लमजुङमा पर्छ । 

कुल ८४ अर्ब ३३ करोड लागत अनुमान गरिएको राष्ट्रिय गौरवको यो राजमार्गमा हालसम्म ५९ अर्ब खर्च भइसकेको छ । चालु आर्थिक वर्षका लागि ९ अर्ब २२ करोड बजेट विनियोजन गरिएको छ ।

नुवाकोट, गोरखा र लमजुङमा पर्ने बन क्षेत्र प्रयोग गर्न मन्त्रिपरिषदले स्वीकृति दिइसकेको भएपनि सम्बन्धित बन कार्यालयहरुबाट सहजीकरण नहुँदा र बुढीगण्डकी जलाशयको डुबान क्षेत्रमा पर्ने खण्डमा के गर्ने भन्ने यकिन नहुँदा समयमै काम सम्पन्न गर्न चूनौती रहेको आयोजना निर्देशक पोखरेल बताउँछन् ।

त्यस्तै, मध्यपहाडी राजमार्ग आयोजना निर्देशनालय आफैँले बनाउने १४१७ किलोमिटरबाहेक अन्य निकायले बनाएको ४६२ किलोमिटर खण्ड एक लेन (सिंगल लेन)को मात्रै छ । यसलाई डबल लेनको बनाउन सके मध्यपहाडी (पुष्पलाल) राजमार्गको पूरै १८८९ किलोमिटर खण्ड नै दुइ लेन (डबल लेन) को हुनेछ ।

कर्णाली करिडोर

उत्तर दक्षिण तथा ब्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत २०६९ सालमा सुरु भएको कर्णाली करिडोरको म्याद पटक पटक थप हुँदै आर्थिक वर्ष २०७९/०८० मा सक्ने लक्ष्य थियो । तर, जम्मा २६८ किलोमिटर लामो यो सडक आयोजना अब २०८४ सालसम्ममा सक्ने नयाँ लक्ष्य लिइएको छ ।

कालिकोटको खुलालुदेखि बाजुराको धुलाचौर, हुम्लाको सल्लीसल्ला र सिमिकोट हुँदै चीनको नाका हिल्सा जोड्ने यो आयोजनाको ८.५ किलोमिटर ट्रयाक खोल्ने काम नेपाली सेनाले गरिरहेको छ ।

‘भीर क्षेत्र हुनाले सहजै काम गर्न सकिएन, त्यसैले पनि ढिलाई भयो’ आयोजना प्रमुख विरेन्द्र यादवले भने, ‘भीरमा ट्रयाक खोल्न समस्या भएपछि सेनालाई जिम्मा दियौँ, अहिले ८.५ किलोमिटर ट्रयाक खोल्ने काम सेनाले गरिरहेको छ ।’

१२३ किलोमिटर क्षेत्रमा सडक चौडा गर्ने ठेक्का लागेको छ । हिल्सा तिरबाट ३५ किलोमिटर सडकको ठेक्का लागेर काम भइरहेको छ । हिल्सा पट्टिबाटै सिमिकोट तर्फको २६ किलोमिटरको लागि ठेक्का आह्वान भएको आयोजना प्रमुख यादवले जानकारी दिए । 

यस सडक अयोजनामा बन्नुपर्ने जम्मा १४ वटा पुलमध्ये सबैको ठेक्का लागिसकेको छ । 

कुल ४ अर्ब २० करोड लागत अनुमान गरिएको यस आयोजनामा हालसम्म १ अर्ब २२ करोड खर्च भएको छ । यस आयोजनामा चालु आर्थिक वर्षका लागि ५० करोड विनियोजन भएको छ ।

कोशी करिडोर

आर्थिक वर्ष २०६५/०६६ बाट सुरु भएको कोशी करिडोरको निर्माण आर्थिक वर्ष २०७९/०८० भित्र सक्नुपर्ने थियो । तर, अब २०८३/०८४ भित्र सक्ने गरी म्याद शंसोधन गरिएको छ ।

संखुवासभाको खाँदबारीदेखि चीनसँगको ब्यापारिक नाका किमाथाङ्का जोड्ने १६२ किलोमिटरमध्ये हाल १४८ किलोमिटरको ट्रयाक खोलिएको छ । यस योजनामा पनि १४ किलोमिटर ट्रयाक खोल्ने जिम्मा नेपाली सेनाले पाएका छ । सेनाले हालसम्म ४.५ किलोमिटर ट्रयाक खोलिसकेको आयोजना प्रमुख सविन कोइरालाले जानकारी दिए ।

‘५० किलोमिटर खण्डमा कालोपत्रे गर्नका लागि ठेक्का लागिसकेको छ, ३० किलोमिटर ग्रावेलिङ गर्न पनि ठेक्का लागेको छ’ कोइरालाले भने, ‘ग्रावेलिङको काम चालु आर्थिक वर्षमा सकिन्छ ।’

यस सडक योजनामा २३ वटा पुल बन्नुपर्नेमा हालसम्म ९ वटाको निर्माण सम्पन्न भएको छ भने २ वटा निर्माणाधिन अवस्थामा छन् । बाँकीमध्ये ४ वटाको डिजाइन सकिएको छ भने अरुको बाँकी छ ।

सुरुमा १६ अर्ब २० करोड लागत अनुमान गरिएको यस आयोजनाको शंसोधित लागत ११ अर्ब ९३ करोड रुपैयाँमा झरेको छ । हालसम्म ४ अर्ब ५४ करोड खर्च भइसकेको छ ।

बेनी–जोमसोम सडक योजना

आर्थिक वर्ष २०७३/०७४ मा पहिलो ठेक्का लागेपछि निर्माण सुरु भएको कालीगण्डकी करिडोर अन्तर्गतको बेनी–जोमसोम सडक आर्थिक वर्ष २०८१/०८२ सम्म सक्ने लक्ष्यका साथ काम भइरहेको छ । हाल ७७ प्रतिशत वित्तीय प्रगति र ८० प्रतिशत भौतिक प्रगति भएको आयोजना प्रमुख जगत प्रजापति बताउँछन् ।

‘यो सडक योजनाको निर्माण सम्पन्न गर्नुपर्ने अवधि बाँकी नै छ’ उनले भने, ‘सुरुमा ठेक्कामा मात्रै १० अर्ब ५७ करोडको लगात अनुमान थियो, तर ७ अर्ब ७३ करोडमा ठेक्का लाग्यो । यसमध्ये ५ अर्ब ८४ करोड रुपैयाँ खर्च भइसकेको छ ।’

जोमसोमदेखि कोरलासम्म ग्रावेलको काम सकिएको छ । मालढुंगा–बेनी १३ किलोमिटर खण्डको कालोपत्रे गर्नका लागि ३० महिनामा सक्नेगरी ठेक्का लगाइएकोमा अब १ वर्ष अवधि बाँकी छ ।

बेनीदेखि जोमसोमसम्म ७४ किलोमिटर सडकमा ४ वटा ठेक्का लगाइएको छ । जोमसोमदेखि कागबेनीसम्म १३ किलोमिटर कालोपत्रेका लागि ३० महिनामा काम सक्नुपर्ने गरी ठेक्का लागेको छ ।

यस सडक योजनामा कुल ३८ वटा पुल बनाउनुपर्नेमा हालसम्म कल्भर्ट र सिङ्गल लेनका पुल गरी १८ वटा पुल बनेका छन् । १६ वटा निर्माणाधिन अवस्थामा छन् भने ४ वटाको ठेक्का लाग्न बाँकी छ ।

यो आयोजनाले चालु आर्थिक वर्षमा १ अर्ब २३ करोड बजेट पाएको छ ।

गैँडाकोट–राम्दी–मालढुंगा सडक योजना

आर्थिक वर्ष २०६६/०६७ बाट सुरु भएको यो कालीगण्डकी करिडोर अन्तर्गतको अर्को सडक आयोजना हो गैँडाकोट–राम्दी–मालढुंगा सडक । आर्थिक वर्ष २०७९/०८० भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भएपनि हालसम्म सबै ट्रयाक नै खोलिसकिएको छैन । 

कुल २४५ किलोमिटर लम्बाईको यो सडक आयोजनाको हालसम्म ११० किलोमिटर खण्ड मात्रै कालोपत्रे सकिएको छ । बाँकी सडक ग्रावेल पनि गरिएको छैन, सबै ‘माटे’ छ ।

राम्दी–रानीमहल खण्डको १७ किलोमिटरमा सामान्य ट्रयाक मात्रै खोलिएको छ । गैँडाकोट क्षेत्रमा ७ किलोमिटर बन क्षेत्र पर्छ, जहाँ आयोजनाले रुख कटानको अनुमति नै पाएको छैन । 

यस सडक योजनामा ५६ वटा पुलहरु पर्छन् । १६ वटा निर्माणाधिन अवस्थामा छन् भने १४ वटाको ठेक्का लगाउन बाँकी छ । अरु निर्माण सकिएका छन् । 

४५ प्रतिशतको हाराहारीमा भौतिक प्रगति सकिएको गैँडाकोट–राम्दी–मालढुंगा सडक योजनाको कुल अनुमानित लागत करिब २५ अर्ब रुपैयाँ हो । हालसम्म १० अर्ब खर्च भइसकेको यो आयोजनाका लागि चालु आर्थिक वर्ष २०७९/०८० मा १ अर्ब २० करोड बजेट विनियोजन गरिएको छ ।

अब आर्थिक वर्ष २०८३/०८४ मा निर्माण सम्पन्न गर्ने नयाँ लक्ष्य निर्धारण गरिएको आयोजना प्रमुख शंकर पौडेलले जानकारी दिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved