साताको पहिलो दिननै एक हजार दुई सयले बढेर सुनको मुल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ। पछिल्लो तीन दिनको कारोबारमा स्थिर देखिएको सुनको मुल्य आइतबार १२ सयले बढेर हालसम्मकै नयाँ रेकर्ड बनाएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य तोलामा १२०० रुपैयाँले बढेर ७२ हजार ५०० पुगेको छ। त्यस्तै तेजाबी सुन प्रतितोला ७२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।
सुन सँगसँगै चाँदीको मूल्य पनि निरन्तर उकालो लागिरहेको छ । आइतबार चाँदीको मूल्यमा प्रतितोला २० रुपैयाँले बढेर ८५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि सुनको मूल्य निरन्तर उकालो लागेको छ। सुनको मूल्य बढ्दै जाँदा कारोबारमा भने कमी आएको व्यवसायी बताउँछन्। उनीहरुकाअनुसार मुल्य बढेसंगै सुन किन्ने भन्दा बेच्नेको संख्या बढिरहेको छ।
मुल्य बढेसंगै हिन्दु धर्ममा आस्था राख्ने महिलाहरुको महान चाड तिजमा समेत सुन खरिद गर्नेको संख्या घटेको छ। सिजनमै सुन खरिद गर्नेको संख्या बढेपछि कारोबार प्रभावित भएको एक व्यवसायी बताउछन।