यस कारण अधिक नुन खानाले निम्त्याउँदैछ नेपालीमा 'गम्भीर स्वास्थ्य समस्या'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 19, 2022 | 11:12:27 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालीहरूमा नुन धेरै खानाले हुने स्वास्थ्यसम्बन्धी समस्या बढ्न थालेको र त्यो चिन्ताको विषय भएको चिकित्सक तथा अनुसन्धानकर्ताहरूले बताएका छन्।

उनीहरूका भनाइमा नेपालमा "नसर्ने रोगहरूमा देखिएको वृद्धि"का लागि पनि नुनको अधिक प्रयोग एउटा प्रमुख कारण हुनसक्छ। तर त्यसका लागि अधिक नुन खाँदा र त्यसले कस्ता रोग कति मात्रामा वृद्धि गरेको छ भन्ने छुट्टै विस्तृत अनुसन्धान आवश्यक पर्ने चिकित्सकहरू बताउँछन्।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेका पछिल्ला अध्ययनले पनि नेपालीले औसतमा विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले तोकेको भन्दा बढी मात्रामा नुन खाने गरेको देखाएका छन्।

नेपालको अवस्था

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्‌का प्रमुख अनुसन्धान अधिकृत डा. मेघनाथ धिमाल नेपालीले खाने नुनबारे खासै धेरै अध्ययन नभएको बताउँछन्।

त्यसले गर्दा पहिले नेपालीले कति नुन खान्थे भन्ने तुलना गर्न सकिने अवस्था छैन।

यद्यपि सन् २०१९ मा गरिएको र त्यसको अर्को वर्ष सार्वजनिक भएको नसर्ने रोगसम्बन्धी एउटा अध्ययन प्रतिवेदनमा नै सबैभन्दा विस्तृतमा नुन खाने गरिएकोबारे उल्लेख भएको उनको भनाइ छ।

"त्यो विस्तृत रूपमै गरिएको अध्ययन हो र हामीले त्यसमा ६० जिल्लालाई समेटेर विवरण लिएका थियौँ," परिषद्‌ले गरेको उक्त अध्ययनका प्रमुख अनुसन्धानकर्ता समेत रहेका घिमालले भने।

उक्त अनुसान्धान अनुसार नेपालीले औसतमा दैनिक ९.१ ग्राम नुन खाने गरेको देखिएको छ।तर डब्लूएचओले दैनिक ५ ग्रामभन्दा कम नुन खानुपर्ने सिफारिस गरेको छ।

 नेपालमा औसतमा पुरुषहरूले दैनिक ९.६ ग्राम र महिलाले ८.७ ग्राम नुन खाने गरेको उक्त अनुसन्धानले देखाएको छ। अनुसन्धानकर्ताहरूका अनुसार विभिन्न स्थानका व्यक्तिहरूको ठाउँको ठाउँ पिसाब परीक्षण गरेर उक्त विवरण निकालिएको हो।

उनले भने, "डब्लूएचओले भनेको भन्दा नेपालीले औसतमा झन्डै दोबर नुन खाने गरेको देखिन्छ।"

कारण के?

नेपालीमा अधिक नुन खाने प्रवृत्ति देखिनुमा बदलिँदो जीवनशैली मुख्य कारण रहेको पोषणविद्हरूको तर्क छ। त्यस्तैमध्येकी एक डा. अरुणा उप्रेती नेपालीमा जङ्क फुड खाने क्रम बढ्नु एउटा कारण भएको बताउँछिन्।

त्यसका अतिरिक्त स्वादका लागि नुन बढी खाने चलनले पनि मात्रा बढाइरहेको उनको भनाइ छ।

उप्रेतीले भनिन्, "नुनले स्वाद दिने र खानालाई लामो समय नबिगारी राख्ने गर्छ। त्यस्तो खाना धेरै उपभोग गर्ने प्रवृत्ति बढ्दो छ। तर त्यसको नकारात्मक असर शरीरमा पर्छ।"

अनुसन्धानकर्ता धिमाल पनि सहरी जनसङ्ख्याको वृद्धि, खाना बनाउने समयको कमी लगायतका कारणले नेपालीहरूले तयारी तथा बाहिर बनाएको खानेकुरा बढी खान थालेको बताउँछन्।

त्यसको बाहिर खाना खाँदा पनि काँचो नुन थपेर खाने चलन हुनु अर्को कारण भएको उनको तर्क छ। ढिके नुनको साटो धुलो नुनको प्रयोग व्यापक हुन थालेपछि मानिसले काँचो नुन थप्ने प्रवृत्ति वृद्धि भएको उनी बताउँछन्।

"ढिके नुन प्रयोग गर्दा कुनै कुरामा नुन कम भए पनि थप्न सहज हुन्न थियो, अहिले त स्वाद अनुसार नुन थप्ने प्रवृत्ति बढ्यो," उनी भन्छन्।

जङ्क फुडमा अधिक मात्रामा नुन

परिषद्ले केहीअघि गरेको तर सार्वजनिक हुन बाँकी एउटा अध्ययनले नेपालमा खपत भइरहेका मुख्य जङ्क फुडहरूमा अधिक मात्रामा नुनको मात्रा पाइएको उक्त अध्ययनका लेखक समेत रहेका डा. धिमालले जानकारी दिएका छन्।

"प्रारम्भिक प्रतिवेदनमा अधिकांश जङ्क फुडमा उनीहरूले लेभलमा लेखेको भन्दा पनि बढी मात्रामा नुनको प्रयोग भएको पाइएको छ," उनले भने।

"हामी उक्त अनुसन्धानको नतिजा पनि चाँडै सार्वजनिक गर्दैछौँ।"

नेपालमा विशेषगरी बालबालिकाहरूले जङ्क फुडको अत्यधिक प्रयोग गर्ने गरेकाले त्यसको असर दीर्घकालसम्म पर्ने पोषणविद् उप्रेतीको भनाइ छ। तीन वर्षअघि पोषणसम्बन्धी एउटा अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित भएको काठमाण्डू उपत्यकामा गरिएको एउटा अध्ययनले कैयौँ नेपाली बालबालिकाले जङ्क फुडका माध्यमबाट पोषण प्राप्त गरेको उल्लेख थियो।

एक वर्षदेखि दुई वर्षका बालबालिकाको पोषणको स्थिति हेर्दा उनीहरूले एक चौथाइ आवश्यक पोषण जङ्क फुडबाट प्राप्त गरेको देखिएको विवरण सार्वजनिक भएको थियो।

नेपालमा खपत हुने जङ्क फुडमा अधिक मात्रामा नुनको प्रयोग हुने गरेको सन् २०१९ मा परिषद्‌ले गरेको अध्ययनका अर्का एकजना लेखक तथा नेपाल मेडिकल एसोसिएसनका पूर्वअध्यक्ष डा. अञ्जनीकुमार झा बताउँछन्।

उनी भन्छन्, "अहिले जसलाई जति मन लाग्छ उति नुन राखिदिएका छन्। मान्छेलाई पनि मीठो लाग्छ, खान्छन्।"

नुन बढी हुँदा हुने स्वास्थ्य समस्या

अत्यधिक मात्रामा नुन खाँदा गम्भीर स्वास्थ्य समस्याहरू देखा पर्ने चिकित्सकहरूको भनाइ छ। धिमालका भनाइमा नुनको मात्रा बढी हुँदा नै नेपालमा अहिले उच्च रक्तचापको समस्या बढ्दो क्रममा रहेको देखिएको छ।

त्यस्तै अन्य मुटुसम्बन्धी समस्या पनि यसले बढाउने धिमालले बताए।

उप्रेती चाहिँ मिर्गौला रोगको मुख्य कारण पनि नुनको अधिक प्रयोग भएको बताउँछिन्।

मिर्गौला

अधिक नुन सेवनले मिर्गौलामा नकारात्मक असर पार्ने चिकित्सकहरू बताउँछन्

उनले भनिन्, "हाम्रो शरीरलाई सोडियम चाहिन्छ तर बढी भयो भने स्वास्थ्यमा एकदमै नराम्रो असर पर्छ।"

उनले भनिन्, "नुन बढी खाएपछि उच्च रक्तचाप त बढ्छ नै मिर्गौलामा पनि गम्भीर असर पर्छ। मिर्गौला भनेको हाम्रो शरीरको विकास तत्त्व छान्ने अङ्ग हो। तर नुन बढी खाने पानी कम खाने अवस्थाले गम्भीर स्वास्थ्य समस्या निम्त्यउँछ।"

अर्का चिकित्सक झाका अनुसार नुन बढी भएका कारण हृदयाघात, उच्च रक्तचाप, अनिद्रा, चिट्चिटाहट, जोर्नी सुनिने र दुख्ने लगायतका स्वास्थ्य समस्या देखा पर्छन्।

त्यस्तै दीर्घकालमा थाइरोइड लगायतका समस्या पनि देखिने उनको भनाइ छ। उनी मात्रा मिलाएर मात्र नुन खानुपर्ने बताउँछन्।

नुनको खपत कम गर्न सुझाव

नुन बढी खाँदा हुने तत्काल र दीर्घकालका स्वास्थ्य समस्या कम गर्न नुन खाने मात्रा कम गर्नुपर्ने चिकित्सकहरूको सुझाव छ। त्यसका लागि मुख्य तीन क्षेत्रले सोच्नुपर्ने झाको भनाइ छ, पहिलो- सरकार, दोस्रो- समाज र तेस्रो- व्यक्ति।

उनले भने, "सरकारले नीति बनाएर मुख्यत: जङ्क फुडको नियमन गर्नुपर्छ। त्यो नियमलाई कडा ढङ्गले पालन गराउन अनुगमन गर्नुपर्छ।"

उनी समाज तथा सामाजिक अभियानकर्मीहरूले यसबारे जागरुकता फैलाउनुपर्ने आवश्यकता देख्छन्। त्यस्तै नुन खान कम गर्ने विषयमा व्यक्तिको भूमिका महत्त्वपूर्ण हुने झा बताउँछन्।

"आखिर स्वास्थ्य त व्यक्तिको हो। त्यसैले उसैले सबैभन्दा बढी सचेत हुनुपर्छ," उनले भने। -बिबिसीबाट 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved