
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रतिष्ठान सभा सदस्य (सिनेटर) मा डा.आनन्द प्रसाद श्रेष्ठ मनोनित भएका छन् । प्रतिष्ठान सभाको गत माघ १४ गते बसेको बाह्रौ बैठकले डा. श्रेष्ठलाई ३ वर्षकालागि सिनेटरमा मनोनित गरेको हो ।
वरिष्ठ रेडियोलोजिष्ट समेत रहेका डा. श्रेष्ठलाई उक्त बैठकले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०६४ को दफा ७ उप–दफा (२) (न) मा व्यवस्था भए बमोजिम मनोनित गरेको जनाइएको छ । अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेजबाट रेडियोलोजीमा विशेषज्ञता हाँसिल गरेका तथा चिकित्सा क्षेत्रमा ४ दशक भन्दा बढीको अनुभव बटुलेका डा. श्रेष्ठ नेपाली चिकित्सा क्षेत्रमा रेडियोलोजी विधालाई स्थापित गराउने अग्रणी चिकित्सक हुन् ।
नेपाल सरकारको उच्च शिक्षा प्राविधिक समितिका पूर्व सदस्य समेत भइसकेका डा. श्रेष्ठ नेपाल मेडिकल काउन्सिलका पूर्व उपाध्यक्ष तथा नेपाल चिकित्सक संघको पूर्व अध्यक्ष समेत हुन् ।
डा. श्रेष्ठ नेपाल मेडिकल कलेजका संस्थापक संचालक शेयरधनी तथा नेपाल रेडियोलोजी सोसाइटिका सल्लाहाकार समेत हुन् ।
उनी हाल काठमाडौंको चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरको अध्यक्ष समेत हुन् ।