सरकारले पश्मिना निर्यात राष्ट्रिय रणनीति सार्वजनिक गरेको छ । सन् २०२६ सम्म पश्मिना निकासीमार्फत वार्षिक ७ करोड ५० लाख अमेरिकी डलर भित्र्याउने लक्ष्यसहित उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले रणनीतिक योजना सार्वजनिक गरेका हुन् ।
७ करोड ५० लाख अमेरिकी डलर भनेको हालको विनिमयदर अनुसार ९ अर्ब ७५ करोड रुपैयाँ हुन्छ ।
राष्ट्रिय पश्मिना क्षेत्र निर्यात रणनीतिमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र यस अन्तर्गतको व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्र (टीईपीसी) तथा नेपाल पश्मिना उद्योग संघबीच सहकार्य र युरोपियन युनियनको सहयोग रहने छ ।
उद्योगमन्त्री भण्डारीले रणनीतिले पश्मिना उद्योगको विकास र विस्तारमा मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । उनले नेपाली च्याङ्ग्राको ऊनलाई नेपालमै प्रशोधन गरी पश्मिनाका लागि धागो उत्पादन गर्ने कारखाना बन्न लागेको पनि जानकारी दिएका छन् ।
‘च्याङ्ग्राको ऊनलाई प्रशोधन गरी पश्मिना धागो उत्पादन गर्ने पहिलो कारखाना बन्दैछ’ मन्त्री भण्डारीले भने ‘यसबाट नेपालको हिमाली क्षेत्रका च्याङ्ग्रापालक किसानले उत्पादन गरेको ऊन स्वदेशभित्र नै उचित मूल्यमा बिक्री हुन्छ ।’
उद्योग सचिव मधु मरासिनीले ऊन उत्पादन बढाउन हिमाली जिल्लाहरुमा च्याङ्ग्रा पालनमा किसानलाई प्रोत्साहन गर्नुपर्ने बताए ।
नेपाल पश्मिना उद्योग संघका अध्यक्ष विजय दुगडले पश्मिनाको धागो विदेशबाट ल्याउनुपर्ने बाध्यता रहेको अवस्थामा अब नेपालमा नै च्याङ्ग्राको ऊन प्रशोधन गरेर धागो तयार हुने वातावरण बन्ने विश्वास जनाएका छन् । दुगडले विश्व बजारमा नेपाली पश्मिनाले जम्माजम्मी २ प्रतिशत मात्रै हिस्सा ओगटेकाले यो मात्रा बढाउन जरुरी रहेको पनि बताएका छन् ।
पश्मिना प्रशोधनको लागि ललितपुरको हरिसिद्धिमा फाइबर प्रशोधन केन्द्रको शिलान्यास भइसकेको छ ।
नेपालबाट सन् २०२१ मा २ अर्ब ५३ करोड रूपैयाँको पश्मिना सल निकासी भएको थियो ।