फेरि सञ्चालनमा आयो उदयपुर सिमेन्ट, गुमेको साख फर्काउने अध्यक्ष बस्नेतको प्रतिबद्धता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 22, 2023 | 08:02:37 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग पुन: सञ्चालनमा आएको छ। असार ६ गते बुधबार विहान ७ः५५ बजेको साइतमा क्लिङ्कर उत्पादनका लागि उद्योग फायरिङ गराएर दुई महिनापछि उद्योगलाई सञ्चालनमा ल्याएको हो।

हिजो बुधबारदेखि उदयपुर सिमेन्ट उद्योगमा किलिङ्कर उत्पादनको काम सुरु भएको उद्योगका अध्यक्ष केशवकुमार बस्नेतले बिजपाटीलाई जानकारी दिए । विभिन्न विवादका कारण पछिल्ला केही महिनायता उदयपुर सिमेन्ट उद्योगमा क्लिङकर उत्पादनको काम रोकिएको थियो। 

महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले मन्त्रीसमक्ष राजीनामा दिएको भोलिपल्टै उद्योग पुन: सञ्चालनमा आएको हो। न्यौपानेले राजीनामा दिएपछि उदयपुर सिमेन्टका कायम मुकायम महाप्रबन्धकको जिम्मेवारी उमाशंकर आनन्दले पाएका छन्। 

अध्यक्ष बस्नेतकाअनुसार उद्योगभित्रका विभिन्न विवादका कारण यस अघि नै पटकपटक उद्योग सञ्चालन गर्नक लागि पहल गरिए पनि उद्योगमा क्लिङकर उत्पादनको काम रोकिएको थियो। उद्योग रोकिँदा करोडौँ दायित्व बढेको अध्यक्ष बस्नेतको भनाइ छ। 

फायरिङको बर्नर र क्लिङकर उत्पादन गर्ने मेसिनमा केही समस्या भए पनि चल्नै नसक्ने अवस्थामा नभएकाले विगतमै उद्योग सञ्चालनमा आइदिएको भए अहिले बढेको दायित्व पनि कम हुने उनको भनाइ छ। तर त्यस्तो हुन नसक्दा उदयपुर सिमेन्टको बजार पनि प्रभावित भएको बस्नेत बताउँछन् । 

उदयपुर सिमेन्ट उद्योगको गैँडा छाप ब्राण्डमा अब पहिलेको जस्तो कमिकमजोरी नदोहोरिने र हुन नदिनेसमेत अध्यक्ष बस्नेतले प्रतिबद्धता जनाएका छन्। गुमेको शाख फिर्ता हुनेगरी उदयपुर सिमेन्टलाई यसको क्षमताअनुसार सञ्चालनमा ल्याउने उनले दावी गरे ।

कोइला, जिप्सन, आइरन ओरलगायतको आपूर्ति गर्ने सामग्रीको मापदण्ड जाँचमा कुनै कसर बाँकी नराख्ने र गुणस्तरयुक्त सिमेन्ट उत्पादन गर्ने अध्यक्ष बस्नेतले विश्वास दिलाए । उनकाअनुसार अबको केही दिनमा उदयपुरको गैँडा छाप सिमेन्टले बजारमा निरन्तरता पाउनेछ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved