नबिल इन्भेष्टमेन्ट बैंकिङले भदौ २५ गतेदेखि बन्दमुखी सामुहिक लगानी कोष योजनाको इकाई बिक्री गर्दै छ। नबिल इन्भेष्टमेन्टले नबिल म्युचुअल फण्ड अन्तर्गत रहने गरि १ अर्ब आकारको नबिल ब्यालेन्सड् फण्ड ३ नामको बन्दमुखी योजनाको इकाई निष्काशन गर्न लागेको हो ।
यसै सन्दर्भमा बिजपाटी डटकमले नबिल इन्भेष्टमेन्टको नयाँ सामुहिक लगानी कोष योजना, योजनाको उदेश्य, कम्पनीको भावी योजना र म्युचुअल फण्ड सम्बन्धि अन्य विविध विषयमा नबिल इन्भेष्टमेन्ट बैंकिङका स्किम म्यानेजर एम.के अर्यालसँग कुराकानी गरेको छ।
प्रस्तुत छ कुराकानीको सम्पादित अंशः
कम्पनीले कस्तो खालको योजना निष्काशन गर्न लागेको हो ?
कम्पनीले नबिल म्युचुअल फण्ड अन्तर्गत रहने गरि नबिल ब्यालेन्सड् फण्ड ३ नामको १० वर्षे बन्दमुखी योजनाको इकाई निष्काशन गर्न लागेको हो। यो योजनाको आकार १ अर्बको रहेको छ र यो चौथों योजना संचालन गर्न लागिएको हो। यस अन्तर्गत प्रति इकाई १० रुपैयाँको दरले १० करोड इकाई निष्काशन हुने छ। जस मध्ये न्युनतम १ करोड ४० लाख इकाई वा बिक्री भएको १४ प्रतिशत इकाई कोष प्रबर्दक नबिल बैंक लिमिटेडको लागि तथा न्युनतम १० लाख वा बिक्री भएको मध्ये १ प्रतिशत इकाई कोष ब्यबस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङलाई छुट्याईएको छ । बाँकि रहेको ८ करोड ५० लाख इकाईको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन्। आवेदन दिंदा न्युनतम १ सय इकाई र अधिकतम १ करोड इकाईको लागि आवेदन दिन सकिने छ। आवेदन दिने मिति भदौ २५ गते देखि भदौ २९ गतेसम्म रहेको छ । माग भन्दा बढीको आवेदन परेमा नेपाल धितोपत्र बोर्डको अनुमतिमा योजनाको आकार १ अर्ब २५ करोडसम्म कायम गर्न सकिने छ ।
यो योजनाले के के मा लगानी गर्छ ?
यो योजना ब्यालेन्सड् प्रकृतिको हो र बजारको जोखिमलाई मध्यानजर गरी लगानीको बिविधिकरण गरी समय सापेक्ष लगानीको निर्णय लिन्छौ। जस अनुसार अवस्था हेरेर ३५ देखि ७५ प्रतिशत इक्वीटी अर्थात शेयरमा लगानी गर्छौ। त्यस्तै २० देखि ४५ प्रतिशत लगानी निश्चित आम्दानी हुने औजारहरु जस्तै बचतपत्र, ऋणपत्र तथा मुद्दती निक्षेपहरुमा लगानी गर्छौ भने ५ देखि २० प्रतिशत रकम नगद कै रुपमा राख्छौ । यो १० वर्षको योजना भएकोले बजारमा कहिले साइड वेज ट्रेण्ड, कहिल बुलिसट्रेण्ड र कहिले बियरिस ट्रेण्ड आउने नै छ । यस्तो अवस्थामा बजारमा जोखिम हेरेर हामी लगानी निर्णय लिन्छौ। यदि बजारबाट कम रिटर्न पाउने अवस्था भएमा वा बजारमा जोखिम बढेको हामीलाई लागेमा हामी निश्चित आम्दानी हुने बचतपत्र, ऋणपत्र तथा मुद्दती निक्षेपहरुेप लगानी गर्छौ भने बजारबाट नै बढी रिटर्न आउने अवस्था छ भने हामी इक्वीटी अर्थात शेयरमा लगानी बढाउछौ ।
कम्पनी छनौट कसरी गरिन्छ ?
यस कम्पनीले फण्ड संचालनको लागि दक्ष, अनुभवी उत्कृष्ट टेक्निकल तथा फण्डामेन्टल एनालिष्टहको टिम पहिले देखि नै खडा गरेको छ र उहाँहरुले दिएको प्रतिवेदनको आधारमा कम्पनीको छनौट गरिन्छ । साथै हामी नबिल इन्भेष्टसंग नेपालमा सामूहिक लगानी कोष संचालनको शुरुवाती दिनदेखिको अनुभव रहेको छ। विगतका फण्डहरुको अनुभवका आधारमा हामीले अब आउँने योजनाको रणनीति बनाएका छौं । के गर्दा ठिक र के गर्दा वेठिक भनेर हामीले १० वर्षको अनुभव संगालिसकेका छौं । हाम्रो यस अनुभवको आधारमा पनि हामी उत्कृष्ट र राम्रा कम्पनीहरुको छनौट गर्ने छौ। र यसबाट हाम्रो योजनामा लगानी गर्ने लगानीकर्ताहरुलाई फाईदा हुनेछ ।
लगानीकर्ताले कहिलेबाट कति प्रतिफल पाउँन सक्छन् ?
हामीले लगानीकर्तालाई चालु आर्थिक वर्षदेखि नै लाभांश वितरण गर्ने प्रक्षेपण गरेका छौ। हामीसँग लगानीको लागि चालु आर्थिक वर्षमा १० महिना बाँकि रहन्छ। यहि अवधिमा गरिने लगानीबाट हामीले चालु आर्थिक वर्षमा नै १२ प्रतिशत लाभांश बितरण गर्ने प्रक्षेपण गरेका छौ । त्यसपछिका वर्षमा क्रमश १४ प्रतिशत, १६ प्रतिशत, १३ प्रतिशत, १२ प्रतिशत, १३ प्रतिशत, १६ प्रतिशत, २२ प्रतिशत तथा २२ प्रतिशत लाभांश वितरण गर्ने प्रक्षेपण गरेका छौ । त्यस्तै १० वर्षको अन्त्यमा लगानीकर्तालाइ ६१.१७ प्रतिशतसम्मको समष्टिकृत पुँजीगत लाभ हुने प्रक्षेपण गरेका छौ । यो हामीले गरेको प्रक्षेपण मात्र हो । यो भनेको हामी न्युनतम यति दिनको लागि कोशिस गर्छौ भन्ने हो, तर यो भन्दा बढी वा घटी पनि दिने सम्भावना रहन्छ ।
बियरिस बजारमा नै यहि अनुसारको प्रतिफल दिन सकिन्छ भन्ने आधार के हो ?
शेयर बजार बढ्दा फण्डहरुले अवश्य नै राम्रो प्रतिफल दिन्छन्। हाम्रो बजार भनेको एकतर्फि मात्र छ । यसको मतलब बजार बढ्दा मात्र शेयरको मुल्य बढ्नो हो तर म्युचअल फण्डहरुले फण्डामेन्टली बलिया कम्पनीहरुमा लगानी गर्ने हुँदा जोखिम कम हुने हुन्छ । बजारको जोखिमलाई मध्यनजर गर्दै दक्ष तथा अनुभवि विशेषज्ञहरुको टिमले दिएको लगानी सम्बन्धि परामर्श तथा सुझावको आधारमा लगानी गर्ने भएकाले शेयर बजार घट्दा पनि निश्चित मात्रामा प्रतिफलको आशा गर्न सकिन्छ। अघि मैले भने जस्तै यो योजना ब्यालेन्सड् प्रकृतिको हो र बजारको जोखिमलाई मध्यानजर गरी लगानीको बिविधिकरण गरी समय सापेक्ष लगानीका उपकरणहरु हेरफेर हुने हुँदा बजार घट्दा पनि राम्रो प्रतिफल दिने हाम्रो योजना छ ।
बजारमा धेरै म्युचुअल फण्ड छन्, नबिल नै किन रोज्ने ?
हामी नबिल इन्भेष्टसंग नेपालमा सामूहिक लगानी कोष संचालनको शुरुवाती दिनदेखिको अनुभव रहेको छ । विगतका फण्डहरुको अनुभवका आधारमा हामीले अब आउँने योजनाको रणनीति बनाएका छौं। के गर्दा ठिक र के गर्दा बेठिक भनेर हामीले १० वर्षको अनुभव संगालिसकेका छौं। हाम्रो यस अनुभवले अहिलेको योजनामा लगानी गर्ने लगानीकर्ताहरुलाई नै फाईदा हुनेछ । जसका कारण यो फण्ड अन्य फण्डहरु भन्दा अब्बल रहने हाम्रो आंकलन छ । यस कम्पनीले फण्ड संचालनको लागि दक्ष, अनुभवी उत्कृष्ट टेक्निकल तथा फण्डामेन्टल एनालिष्टहको टिम खडा गरेको छ र उहाँहरुले दिएको प्रतिवेदनको आधारमा लगानी गरिने भएकोले यो फण्डले लगानीकर्ताहरुलाई बितरण गर्ने प्रतिफल राम्रो हुनुका साथै बजारको लगानी सम्बन्धि जोखिमलाई कम गर्ने देखिन्छ त्यसैले नबिल नै रोज्न हामी अनुरोध गर्दछौ ।
म्युचुअल फण्ड कस्ता लगानीकर्ताको लागि बढी उपयुक्त हुन्छ ? लगानी गर्दा के के मा बढी ध्यान दिनु पर्छ ?
खासै ज्ञान नभएका लगानीकर्ताहरु, नव प्रवेशी लगानीकर्ता, कम पुंजी भएका तथा कम जोखिम लिन चाहने सबैखाले लगानीकर्ताको म्युचुअल फण्ड उत्तम हुन्छ। यसमा जो कोहिले लगानी गर्न सक्छन्। योजनाको अवधि भर होल्ड गरेर राख्न सक्यो भने योजना बन्द हुने बेलासम्ममा राम्रो प्रतिफलको अपेक्षा गर्न सकिन्छ। यदी बीच मै नगदको आवश्यकता पर्यो भने यसलाई सजिल्यै बिक्री पनि गर्न सकिन्छ। त्यस्तै योजना ब्यबस्थापकले हरेक महिना न्याभ प्रकाशित गर्ने गर्दछन्। र उक्त न्याभमा भएको सूचना जस्तै लगानी गरिएको कम्पनी, त्यसले दिने मुनाफा, ब्याज आम्दानी, धितोपत्र बिक्रीबाट भएको आम्दानी इत्यादीको आधारमा पनि लगानीको निर्णय लिन सकिन्छ ।
लगानीकर्तालाई के संदेश दिन चाहनु हुन्छ ?
माथि मैले उल्लेख गरे अनुसार लगानीको विविधिकरणका साथ सन्तुलित तरिकाले लगानी हुने भएकोले यो फण्डमा कम जोखिम रहनेछ । जसका कारण यो फण्ड अन्य फण्डहरु भन्दा अब्बल रहने हाम्रो आंकलन छ । सोहि कारण लगानीकर्तालाई ढुक्क भएर यस योजनामा लगानी गर्नुस् भन्ने संदेश दिन चाहन्छु ।
खुलामुखी योजना संचालन गर्ने तयारी के छ ?
हामीले खुलामुखी योजना संचालनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेका छौ र हाल पाईपलाइनमा रहेको छ। बोर्डबाट अनुमति प्राप्त भएपछि हामीले खुलामुखी योजना पनि संचालनमा ल्याउने छौ ।
नेपालमा म्युचुअल फण्डमा लगानीकर्ताको आकर्षण नदेखिनु कारण के होला ?
नेपालको बजार बोनस शेयर र हकप्रद शेयरको पछाडी आकर्षित भएको देखिन्छ । जुन कम्पनीले बोनस शेयर र हकप्रद प्रस्ताव गरेका छन्, लगानीकर्ताहरुको त्यसमा बढी आकर्षण भएको देखिन्छ । म्युचुअल फण्डले नगद लाभांश मात्र वितरण गर्ने भएकोले लगानीकर्ताहरुको यसमा आकर्षण कम भएको हो ।
अन्तिममा, म्युचुअल फण्डहरुले आईपिओमा पाउने आरक्षण हटाउन माग गरिरहेका छन् नि, तपाइको भनाई के छ ?
म्युचुअल फण्डलाई सामूहिक लगानी कोष नियमावली, २०६७ अनुसार प्रत्येक आईपिओमा ५ प्रतिशत आरक्षणको ब्यबस्था गरेको छ । पहिला थोरै म्युचुअल फण्डहरु थिए । तर अहिले म्युचुअल फण्डहरुको संख्या निक्कै बढेको छ । सबैलाई आईपिओ भाग लाग्दा अहिले कम शेयर मात्र भागमा पर्छ । आरक्षणको कारणले नै कमायो भन्ने होइन । पहिले थियो होला । तर अहिले परिस्थिति बदलिएको छ । आरक्षणको योगदान निक्कै कम छ । हुँदा र नहुँदामा खासै भिन्नता देखिएको छैन ।