'भरतपुरका मतदाताले छलछाम गर्ने उम्मेदवारलाई चिनेका छन्', विजय सुवेदीको अन्तर्वार्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 18, 2022 | 12:46:18 PM मा प्रकाशित

laxmi  sunrise bank

वैशाख ३० गतेका लागि घोषणा गरिएको स्थानीय निर्वाचन आउन अब मुश्किलले २५ दिन बाँकी रहेको छ । सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी, नेकपा एसलगायत ५ दल र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले चुनावका लागि आ-आफ्ना रणनीतिक लेखाजोखा गरिरहेका छन् ।

स्थानीय तहको निर्वाचनमा महानगरको प्रतिस्पर्धा पेचिलो हुने देखिएको छ । ६ महानगरमध्ये नेकपा एमालेले चितवनको भरतपुर महानगरपालिकाको मेयरमा बिजय सुवेदीलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

गत २०७४ को स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रको तर्फबाट रेणु दाहाल विजयी भएकी थिइन् । त्यतिबेला कांग्रेस र माओवादी केन्द्रबीच तालमेल भएको थियो । यतिबेला पनि सत्तारूढ दल तालमेलमै छ । भरतपुरकै बारेमा बिजपाटीले सुवेदीसँग प्रश्न गरेको थियो, 'सत्तारूढ गठबन्धनसँग लडेर मेयरमा जित्ने तपाईंको दाबीका पछाडि केके आधारहरू छन् ?'

प्रस्तुत छ, सुवेदीसँग गरिएको कुराकानीको सम्पादित अंश -  

भरतपुरमा कांग्रेस माओवादीलगायत दलहरूबीच गठबन्धन हुने चर्चा चलिरहेको छ । यस्तो अवस्थामा एमालेको उम्मेदवार तपाईंले असुरक्षित महसुस गर्नुभएको छैन ?

अन्य दलबाट को उम्मेदवार आउनुहुन्छ, के गर्नुहुन्छ भन्ने कुरामा त्यति वास्ता गर्दिन । उहाँहरूले गठबन्धन गर्नुहुन्छ कि छुट्टाछुट्टै गर्नुहुन्छ, त्यसको कुनै अर्थ छैन । मसँग एजेण्डा छ, म एजेण्डाको राजनीति गर्ने मान्छे हो । भरतपुर महानगरलाई अन्तर्राष्ट्रिय मापदण्डको शहर बनाउने, त्यसका लागि हामीले गर्नुपर्ने कामहरू यी यी हुन् र त्यही काम गर्नका लागि म आएको छु भनेर मतदातासँग जाने हो ।

के छन् तपाईंसँग त्यस्ता एजेण्डा ? एक, दुई, तीन, चार भन्दिनुस् न !

कुनै पनि गन्तव्यमा पुग्न पहिला लक्ष्य निर्धारण गर्नुपर्छ । संसारभरका जति पनि विकासका लक्ष्यहरू छन्, त्यसलाई पूरा गर्न सबैभन्दा पहिला गुरूयोजना बनाउनुपर्छ । व्यवस्थित प्लान गरिन्छ र काम अघि बढाउने हो । व्यवस्थित योजना नभएसम्म काम अघि बढ्न सक्दैन । काठमाडौँलगायत अन्य ठाउँमा जति पनि शहरीकरण भइरहेको छ, त्यो बिनायोजना भइरहेको छ ।

शहरीकरणका लागि पहिल्यै नै प्लान हुनुपर्थ्यो । यो नभएका कारण काठमाडौँको हविगत अहिले राम्रो छैन । नदीनाला सफा छैनन्, दुर्गन्धित छन् । यस्तो अवस्था हाम्रो भरतपुरमा नआओस भन्नेमा म सजग छु । नागरिकको आवागमन सहज होस्, कुनै पनि प्रकारका ट्राफिक जाम कहिल्यै कतै नहोस् ।

प्रत्येक नागरिकको पालनपोषण, शिक्षादीक्षा, स्वास्थ्य रोजगारी, खेलकूद, बाटो, सञ्चारलगायत सबै विषयलाई केन्द्रमा राखेर मैले राजनीति गरेको छु । यसका साथमा पार्क, खेलमैदान र सबै संरचना भएको महानगरको गुरुयोजना बनाएर अघि बढ्नु मेरो प्राथमिकतामा रहन्छ ।

जसरी घर बनाउन पहिला राम्रो नक्सा बनाउनुपर्छ, त्यसै गरेर सभ्य र विकसित सहर बनाउन राम्रो गुरुयोजना चाहिन्छ । हामीले भरतपुरलाई प्राकृतिक ऐश्वर्य भएको, स्वच्छ, हरियाली र समृद्ध मानवीय सहर बनाउन सकिन्छ । हामीसँग स्रोत साधन त प्रशस्त छ, तर त्यतिले मात्र पुग्दैन । मानवीय संसाधनको पनि उत्तिकै आवश्यकता पर्छ ।

महानगरको फोहोरमैला व्यवस्थापन चुनौतीपूर्ण हुँदैन र ? मेयर भएपछि त्यसको व्यवस्थापन कसरी गर्नुहुन्छ ?

म भरतपुरमा एउटा पनि प्लास्टिक नभेटियोस् भन्ने देखाउन चाहन्छु । फोहोरमैलाको व्यवस्थापन चुनौतीपूर्ण छ तर गुरुयोजनासहित सबै पक्षलाई साथमा लिएर अघि बढे त्यो काम सहजै सम्पन्न हुने मेरो बुझाइ छ । जताततै फलफूलका रुख बिरुवा रोप्न सकिन्छ । प्राकृतिक, सुन्दर र हरियाली सहर बनाउन म लागिपर्नेछु ।

तपाई प्रदेश सभा सदस्यमा निर्वाचित नेता पनि हुनहुन्छ । अनि संघीय संसदको सदस्यको दाबेदारी नगरेर मेयरमा उठ्ने इच्छा किन गर्नुभयो ?

म अहिले पनि वागमती प्रदेशसभा सदस्य हो । जनप्रतिनिधिका रूपमा जुनसुकै पद पनि मेरो लागि गौरवको पद हो । मेयर होस्, प्रदेश सभा सदस्य होस् या संघीय संसद सदस्य होस्, सबैको मुख्य लक्ष्य भनेको जनताकै अधिकतम सेवा हो । अहिले मेयरको आकांक्षी छु र यसमा म गौरव गर्छु ।

अहिलेका मेयरले पनि तपाईंले सुनाएकै एजेण्डामा काम भइरहेको दाबी गर्छन्, अन्य दलका उम्मेदवारले पनि भन्ने यही होला, हैन र ?

होइन, यी मेरा एजेण्डा हुन् र यिनीहरूलाई लागू गर्न म नै मेयर हुनुपर्छ । अरूका एजेण्डा के हुन्, कसो गर्छन् त्यो जनताले हेर्ने कुरा हो । पार्टीले पनि यो मान्छेबाट यी कुराहरू हुन सक्छन् भनेर नै मलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । यी कुराहरू गर्न प्रदेश सभा सदस्यबाट असम्भव छ ।

चुनाव आइसक्यो, घोषणापत्र तयार पार्नुभयो ?

त्यो तयार हुँदैछ । त्यसैका लागि काठमाडौँ आएको थिएँ । अब फर्किदैछु ।

गठबन्धनका अगाडि तपाईंलाई चुनाव जित्न गाह्रो लाग्दैन ? के छ चुनाव जित्ने तपाईंको रणनीति ?

चुनाव जित्न कुनै गाह्रो काम होइन । प्रतिनिधिले आफ्नो एजेण्डा राख्ने हो, जसको एजेण्डा मन पर्छ, उसैलाई मतदाताले भोट हाल्छन् । अहिले मेरो एजेण्डा जनताले मन पराइरहनु भएको छ । म जहाँ जान्छु त्यहाँ जनता उत्साहित भएको मैले पाएको छु । जनताले हालेको मत सुरक्षितसाथ गन्ने व्यवस्था गरेर घोषणा हुनुपर्यो । यसअघिको चुनावमा मत सुरक्षित देखिएको थिएन ।

भरतपुरका नागरिक सचेत हुनुहुन्छ । उहाँहरूले छलछाम गर्नेहरूलाई चिन्नुभएकै छ । भरतपुरलाई एउटा राम्रो सहर बनाउने सबैको उत्कट आकांक्षा छ । मेरो एजेण्डा त्यही भएकाले मलाई चुनाव जित्न कुनै गाह्रो चीज हो जस्तो लाग्दैन ।

भरतपुरको जनसंख्या कति हो र मतदाता कति छन् ? तपाईले कति मत ल्याउने आंकलन गर्नुभएको छ ?

भरतपुरमा ३ लाख ६९ हजार ३ सय ७७ जनसंख्या छ भने तीमध्ये १ लाख ८५ हजार ७ सय ५२ मतदाता छन् । मैले जित्ने कुरा त ढुक्क नै छ, यति उति मत ल्याउँछु भनेर अहिले किन भन्नुपर्यो र ?

देवी ज्ञवालीलगायत अन्य आकांक्षीहरू हुँदाहुँदै तपाईको पार्टीले तपाईंलाई विश्वास गर्नुका आधारहरू केके हुन् ?

देवी ज्ञवालीज्यूले यसपटक हजुर उठ्नुस भनेर उहाँले नै मलाई प्रस्ताव गर्नुभएको हो । उहाँले आफ्नो हिसाबले अध्ययन गर्नुभएको होला । म नभएपनि हुन्छ भनेर उहाँले मलाई प्रस्ताव गर्नुभएको हो । अघिल्लोपटक पनि म मेयरमा उठ्न इच्छुक थिएँ । त्यतिबेला म भन्दा पनि सिनियर देवी ज्ञवालीज्यू भएकाले त्यतिबेला मैले उहाँलाई छोडें, अहिले उहाँले मलाई छोड्नुभयो ।

तपाईंहरू पनि राप्रपालगायत अन्य दलहरूसँग तालमेल गर्दै हुनुहुन्छ भन्ने सुनिन्छ नि !

अहिले अन्य दलहरूसँग तालमेलको कुनै कुरा चलेको छैन ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved