'अरुण भ्याली लगातार १४ वर्ष लाभांश खुवाएको कम्पनी हो, राम्रो प्रतिफल दिँदै जान्छौ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 05, 2024 | 11:14:26 AM मा प्रकाशित

laxmi  sunrise bank

अरुण भ्याली हाइड्रोपावर कम्पनीले फागुन १७ गतेदेखि हकप्रद निष्काशन गरिरहेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको १:१ को अनुपातमा शत प्रतिशतले हुन आउने १ करोड ८६ लाख ७९ हजार ६ सय २६ कित्ता शेयर निष्काशन गरेको हो।

शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । लगानीकर्ताले चैत्र ७ गतेसम्म हकप्रदमा आवेदन दिन सक्ने छन् ।  कम्पनीले हकप्रद निष्काशन प्रयोजनको लागि माघ १५ गते बुक क्लोज गर्ने निर्णय गरेकोले माघ १४ गतेसम कायम शेयरधनीले मात्र कम्पनीले निष्काशन गर्ने हकप्रद आवेदन दिन सक्ने छन्।  नेपाल धितोपत्र बोर्डले पुस १९ गते कम्पनीलाई हकप्रद निष्काशन अनुमति दिएको हो ।

यसै सन्दर्भमा हामीले कम्पनीको आयोजनाको अवस्था, भावी योजना, हकप्रदको रकमको उपयोग, कम्पनीको वित्तीय अवस्था लगायतका विविध विषयमा कम्पनीका प्रबन्ध सञ्चालक रमेश प्रसाद न्यौपानसँग कुराकानी गरेका छौ ।

प्रस्तुत छ कुराकानीको सम्पादित अंश:

अरुण भ्याली हाइड्रोको आयोजनाको अवस्था कस्तो छ ? 

हामीले काबेली बि वान, काबेली क्यासकेड र पिलुवा खोला गरी ३  ओटा हाइड्रोपावर आयोजना चलाईरहेका छौँ । जसमध्ये ३ मेगावाटको पिलुवा खोला हाईड्रोपावर शङ्खुवासभामा छ । यो अहिले १८औँ वर्षमा चल्दै छ । यो हाईड्रोको ऋण तिरिसकिएको छ, अहिले ऋणमुक्त छ। त्यस्तै, अर्को हामीले सम्पन्न गरेको १० मेगावाटको काबेली बि क्यासकेड आयोजना छ । कावेली बि-१ को डाउन स्टीममा त्यसले छोडेको पानीले मात्र १० मेगावाटको काबेली बि क्यासकेड बनाएका छौँ । २५ मेगावाटको पनि अरुण भ्यालीको ठुलो लगानी भै हाल्यो जुन २ महिना देखि अपरेसन आएको छ। गत वर्षको साउनमा आएको बाढीले दुई ओटै आयोजनालाई अवरोध गरेको थियो । हामीले करिब ६ महिना लगाएर पिलुवा खोला सञ्चालनमा ल्यायौ, क्यासकेड पनि यो महिना भित्र संचालनमा ल्याउदै छौँ ।

साथै नयाँ लगानीको रुपमा लिखु खोला ३० मेगावाट को आयोजनामा अरुण भ्यालीको ५१ प्रतिशत लगानी हुने छ  त्यसैको लागि यो हकप्रद निश्कासन गरेको हो ।

 दैनिक विद्युत उत्पाद कति भैरहेको छ ? नेपाल विद्युत प्राधिकरणले सबै खरिद रहेको छ ?

अहिले सुक्खा महिना (ड्राइ मन्थ) हो । यो महिनामा प्राधिकरणलाई नै विद्युतको अभाव हुन्छ त्यसैले पूर्ण रुपमा किनी नै हाल्छ । पानी पर्ने सिजनमा प्राधिकरणले सबै विद्युत किन्दैन, ट्रान्समिन लाइनको क्षमता नभएर  उसले पुरा क्षमतामा आयोजना नचलाउन भनेर निर्देशन दिइरहेको हुन्छ। नेपाल विद्युत प्राधिकरणले  ग्रिडमा धेरै सुधार गरेको छ, धेरै सबस्ष्टेसनहरु स्थापना भएका छन्, अब आउने वर्षा सिजनबाट यस्तो समस्या हुँदैन भन्ने खालको अभिव्यक्तिहरु प्रमुखहरुबाट आइरहेको छ । तर, विद्युतको जति मात्रामा उत्पादन भईरहेको छ त्यो अनुसारको खपत नभएको हुनाले केहि समस्या भोगिरहनु परेको देखिएको छ ।

 हकप्रद निष्काशन गरिरहनु भएको छ, कति प्रतिशत बिक्री हुने अपेक्षा गर्नु भएको छ ? 

अरुण भ्याली हाईड्रोपावर नेपालको पुरानो जलविद्युत आयोजना हो । यो नेपालको निजी क्षेत्रबाट सुचिकृत भएको पहिलो कम्पनी हो । यसले १८० रुपैयाँमा प्रिमियम आईपीओ पनि जारी गरेको थियो । यसले समयमा नै आईपीओ जारी गरेर त्यस बाट उठेको पैसाले नयाँ आयोजनाहरुमा लगानी गर्ने गर्यौ। हाम्रो यो तेस्रो पटकको हकप्रद हो ।  

हकप्रदबाट उठेको रकम कहाँ कहाँ कति कति लगानी गर्नु हुन्छ ?

हकप्रदबाट १८६.७९ करोड रुपैयाँ संकलन हुन्छ ।  जस मध्ये ९३.३९ करोड रुपैयाँ काबेली बी– १ क्यासकेड जलविद्युत आयोजनाको लागि बैंक तथा वित्तिय संस्थाबाट लिएको दिर्धकालिन ऋणको आंशिक भुक्तानी गर्न प्रयोग हुने छ ।हाल आयोजनाको दिर्घकालिन बैंक कर्जा तिर्न बाँकी रु १२७.९० करोड रहेको छ ।

त्यस्तै पिके हाइड्रोपावर लिमिटेडले निर्माण गर्ने लिखु खोला जलविद्युत आयोजनामा स्वपूँजीमा लगानी गर्न ९३.४० करोड प्रयोग हुने छ। कोशी प्रदेशको ओखलढुङ्गा जिल्ला र बागमती प्रदेशको रामेछाप जिल्लाको सिमाना नदी लिखु खोलामा ३० मेगावाट क्षमताको लिखु खोला जलविद्युत आयोजना बनाउनको लागी कुल लगानीमा ५१ प्रतिशत हिस्सा लगानी गर्न मिति २०७८।०२।१४ मा सहमति भएपछि लिखु खोला जलविद्युत आयोजनामा रु ६५८.३० करोडको लगानी हुनेछ । कुल लगानीको ७० प्रतिशत अर्थात रु ४६०.८० करोड रुपैया बैंक तथा वित्तिय संस्थाबाट ऋण पूँजीको रुपमा लगानी हुनेछ भने बाँकी ३० प्रतिशत अर्थात रु १९७.५० प्रतिशत स्वपूँजीको रुपमा लगानी हुनेछ ।

अरुण भ्यालीको कुन कुन आयोजनामा कति कति लगानी छ ? 

हकप्रदबाट आएको पैसा अरुण भ्यालीले लिखु खोला मा ५१ प्रतिशत लगानी गर्ने छ । त्यस्तै, कावेली बि-१ मा २५ प्रतिशत लगानी गरेका छौँ । तात्कालीन जनता बैँकमा १० करोड भन्दा माथिको लगानी छ । रिडी हाईड्रोपावरमा ३ करोड लगानी छ । हिमालय हुर्जामा साढे ४ करोड लगानी छ ।  

कम्पनीको जम्मा ऋण कति छ ? कहिले सम्म तिरिसक्नु हुन्छ ?

हाम्रो कम्पनीलाई १४० करोड ऋण छ । यो ऋण करिब १०/१२ वर्ष सम्म तिरिसक्नु पर्छ । अब हामीले १ अर्बको ऋण घटाउछौँ । त्यो घटाए पछि त ऋण छिटै सकिन्छ । 

भावि दिनमा अरुण भ्यालीले लगानीकर्तालाई के कस्ता लाभांश दिनु हुन्छ ?

गत सालको बाढीले हाम्रो आयोजनामा ४० करोडको क्षती गर्यो । त्यसको बीमा दाबी भुक्तानी पाउन बाँकि छ।  आयोजना पूर्ण सञ्चालनमा नआइसकेको अवस्थामा यसपाली पनि लाभांश उल्लेख्य रुपमा हुने सम्भावना देखिदैन । सञ्चालनमा आएपछि र ऋण घटाइ सकेपछि लाभांश दिने कुरा त छदै छ । 

हाइड्रोहरु दीर्घकालीन प्रकृतिका आयोजना भएकाले आजको भोलि नै प्रतिफल नआएपनि ३० मेगावाटको लाभांशको ५० प्रतिशत रिभेन्यु भोली यसले प्राप्त गर्छ । त्यसैले लामो समय लाग्छ । हामीले कम्पनीलाई अझ बलियो बनाउदै लगिरहेका छौँ । यो ट्रेडिङ कम्पनी हैन, त्यसैले दिर्घकालीन सोच राखेर ठूलो ठूलो आयोजनामा लगानी गर्दै छौ। 

विदेशमा रहेका लगानीकर्ता र डिम्याट नभएकाहरुले कसरी हकप्रद भर्ने ?

 मेरो शेयर चलाउनु हुन्छ भने देश विदेशबाट पनि आफ्नो खातामा पैसा छ भने शेयर भर्न सक्नुहुने छ । डिम्याट  नभएको हकमा पनि हकप्रद भर्न पाइन्छ । यदि विदेशमा हुनुहुन्छ वा मेरोशेयर छैन  भने आफ्ना घर परिवारलाई भनेर चेक सहितको भौचर ल्याएर अफिसमा आएर फारम भरेर आवेदन दिन सक्ने छन् । 

 अरुण भ्यालीको हकप्रद किन भर्ने ?

यो निजि क्षेत्रको हाईड्रोपावरमा आईपीओ निकाल्ने पहिलो कम्पनी हो । र समयमा पिलुवा खोलाको ऋण तिरेको हुनाले लगातार १४ वर्ष सम्म लाभांश खुवाएको भएर यसको साख बजारमा राम्रो छ । यहि साखलाई कायम राख्नको लागि हकप्रद भर्न आग्रह गर्छु। कम्पनीले भविष्यमा दिने लाभ लिनको लागि पनि यो हकप्रद गर्नु पर्छ। त्यस्तै, लङट्रम इन्भेस्टमेन्टको लाभ पनि लिन सकिन्छ । त्यसैले यो क्षेत्रमा ठूलो संभवाना छ, र धेरै जोखिम नभएकोले हकप्रद मार्फत कम्पनीमा लगानी गर्न आग्रह गर्छु। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved