बोनस शेयर दिदैनौं, हकप्रद पनि जारी गर्दैनौं : सर्वोत्तम सिमेन्टका अध्यक्षको अन्तर्वार्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 08, 2024 | 01:29:19 PM मा प्रकाशित

laxmi  sunrise bank

सर्वोत्तम सिमेन्टले निष्काशन गरेको आईपीओ आज बाँडफाड भएको छ । उत्पादनमूलक उद्योगहरुले क्रमशः सर्वसाधारण नागरिकमा शेयर जारी गर्ने क्रम बढिरहेका बेला सर्वोत्तम सिमेन्ट पनि बुक विल्डिंग विधिबाट शेयर निष्काशन गरेर क्यापिटल मार्केटमा प्रवेश गरेको छ ।

लामो इतिहास भएको सर्वोत्तम सिमेन्ट बुक विल्डिंग विधिबाट शेयर निष्काशन गर्ने पहिलो कम्पनी पनि हो । उद्योगले सिमेन्ट तथा क्लिंकर उत्पादन गरिरहेको मात्रै छैन, भारतमा निकासी पनि गरिरहेको छ ।

आईपीओ जारी गरेपछि अब कम्पनीको उदेश्य के कस्ता छन् ? आईपीओबाट संकलन भएको रकम कता परिचालन हुन्छ ? बुक विल्डिंग विधिबाट शेयर निष्काशन गर्ने पहिलो कम्पनी भएकाले यो प्रक्रियाको अनुभव लगायतका विषयमा हामीले सर्वोत्तम सिमेन्टका अध्यक्ष विष्णु प्रसाद न्यौपानेसँग कुराकानी गरेका छौँ ।

आईपीओबाट संकलन गरिएको रकम कहाँ कहाँ खर्च गर्ने योजना छ ?

हाम्रो कर्जा तिर्नमै पनि खर्च हुन्छ । हामीले भर्खरै झापामा एउटा युनिट किनेका छौँ, सर्वोत्तम सिमेन्ट इष्ट प्रा.लि. भन्ने अर्को कम्पनी छ । यो कम्पनी शत् प्रतिशत सर्वोत्तम सिमेन्टको लगानी भएको कम्पनी हो । यसमा पनि हामीले क्षमता विस्तार गर्दैछौँ, मेशिनहरु थप गर्न सुरु नै गरिसकेका छौँ । यसमा पनि थप लगानी लाग्छ । 

बैंकबाट लिइएको कर्जा कति जति छ ?

४० करोड हाराहारीमा कर्जा छ । चालु पूँजी कर्जा ३ सय ३६ करोड छ । आईपीओबाट संकलन भएको रकम पश्चात १५० करोड आसपास मात्रै ऋण बाँकी रहन्छ ।

चालु आर्थिक वर्षको ७ महिना नाघिसक्यो । देशको अर्थतन्त्र मन्दीमा हुँदा निर्माण क्षेत्र सुस्ताएको अवस्था छ । मन्दीको असर कति परेको छ ? यस समयमा सर्वोत्तम सिमेन्टको व्यापार कस्तो छ ?

हाम्रो व्यवसा यगत वर्षभन्दा ३५ प्रतिशतले बढेको छ । बढ्नुका पछाडी २ वटा कारण छन् । एउटा, भारत निकासी बढेको छ । भारत हाम्रा लागि नयाँ बजारका रुपमा आयो । दोस्रो चाहिँ हामीले भर्खरै किनेको नयाँ युनिटबाट पनि उत्पादन सुरु गर्यौँ । यहाँबाट क्लिंकर पठाएर नयाँ युनिटबाट उत्पादन गर्न सुरु गरेका छौँ । 

यद्यपी, समग्र बजारमा निर्माण कार्य एकदमै सुस्त छ । नेपाल सरकारले विकास बजेट खर्च गर्न नसकेको, निर्माण व्यवसायीहरुले २ वर्षदेखि पैसा नपाएको, उनीहरु नयाँ काम गर्दिनँ भनेर बसेको, बीचमा बैंकको ब्याजदर बढेको लगायतका कारणले ठूला ठूला जलविद्युत परियोजनाहरु रोकिएका छन् । अब आशा के छ भने, ब्याजदर पनि घट्ने र सरकारले पनि विकास बजेटको खर्च बढाउनै पर्ने भएकाले समग्र बजार केही न केही बढ्छ भन्ने लाग्छ ।

सर्वोत्तम सिमेन्टले ६ महिनामा कति मूल्य बराबरको सिमेन्ट भारतमा निकासी गरेको छ ? 

चालु आर्थिक वर्षको ६ महिनामा हाम्रो बिक्रि ३ सय करोड हाराहारीमा छ । यसमध्ये निकासीको हिस्सा ५० करोड माथि छ ।

सर्वोत्तमले निर्यात कहिलेबाट सुरु गरेको हो ?

हामीले यहीँ वर्षको साउन १ गतेबाट निकासी सुरु गरेका हौँ । भारत सरकारबाट इन्डियन स्ट्याण्डर्ड पाउन समय लागेकाले अरु उद्योगभन्दा ढिलो गरि निकासी सुरु गर्यौँ ।

आगामी दिनका कसरी अघि बढ्ने थप केही रणनीति बनाइएको छ ?

अहिले हामीले हाम्रो कुल उत्पादन क्षमता अनुसार उद्योग चलाउने योजना बनाएका छौँ । यसका लागि उपकरणहरु पनि थप्दैछौँ । यसबाहेक अन्य क्षेत्रमा पनि उद्योग खोल्ने र हाम्रो उद्योग आफैँले उत्पादन गरेको क्लिंकर प्रयोग गर्ने रणनीति छ । सुदूरपश्चिममा पनि एउटा प्लान्ट लगाउने योजना छ । 

अहिलेको स्थितिमा सिमेन्ट पिस्ने युनिटहरु अफ्ट्यारो अवस्थामा छन् । किनभने, चलाउनै नसक्ने स्थिति छ । जसको आफ्नो क्लिंकर उत्पादन गर्ने उद्योग छ, उसले चाहिँ केही स्थानीय कच्चा पदार्थ प्रयोग गरेर आफ्नै उद्योगको क्लिंकर प्रयोग गरेर सिमेन्ट बनाउन सक्छ । यस्तो हुँदा स्थानीय उद्योगबाट डेलिभरी गर्न पनि सजिलो हुन्छ । क्लिंकर पठाएर विभिन्न ठाउँमा युनिटहरु किनेर सिमेन्ट उत्पादन गर्ने स्टाटेजीले बिक्रीको टन ओभर बढाउँछ ।

अहिले आफैँ क्लिंकर उत्पादन नगर्ने युनिटहरु बिक्री गर्ने क्रम पनि बढिरहेको छ । सस्तोमै युनिट बिक्री गर्नेहरु पनि छन् । किनकी, क्लिंकर उत्पादन नगर्ने युनिटहरु चलाउन समस्या छ । ५० करोड लगानी गरेर युनिट लगाएको हुन्छ, थप १५ सय करोड खर्च गरेर क्लिंकर उत्पादन गर्न समस्या छ । क्षमता पनि छैन, चुनढुंगा पनि छैन । यसकारण हामीले यो स्टाटेजीमा जाने ठूलो योजना बनाएका छौँ ।

भविष्यमा बजार सुध्रियो भने अन्य ठाउँमा क्लिंकरसमेत उत्पादन गर्ने प्लान्ट लगाउने सोच पनि बनाएका छौँ । यसका लागि एउटा खानी पनि लिइसकेका छौँ, टेण्डरमार्फत नै हामीले अरु साझेदारहरुसँग मिलेर त्यो खानी लिएका हौँ । ठूलो लगानी लाग्ने भएकाले धादिङको युनिटलाई केही समय रोकेका छौँ, तर योजना हामीले बनाइरहेका छौँ ।

वित्तीय स्वास्थ्य राम्रो भएकै कारण सर्वोत्तमले बुक विल्डिंग विधिबाट आईपीओ निष्काशन गर्न सफल भयो । आईपीओमा करिब प्रतिकित्ता ३६१ रुपैयाँ लगानी गरेका लगानीकर्ताले कहिलेबाट र कति लाभांश पाउलान् ?

यति नै ठ्याक्कै भनेर त अहिले हामी भन्न सक्दैनौँ । हामीले अहिले नै यतिसम्म दिन सक्छौँ भनेर प्रक्षेपण पनि गरेका छैनौँ । यस्तो प्रक्षेपण गर्न पनि किन मिल्दैन भने, अहिले चालु आर्थिक वर्षको अर्धवार्षिक अवधि सकिएको छ । अर्को कुरा, हामीसँग रिजर्भमा ३ अर्ब बढी पैसा छ । दिन चाहँदा ३० प्रतिशत नै दिन पनि सकिन्छ । तर, अहिले नै हामीले डिभिडेण्डको कुनै योजना बनाइसकेका छैनौँ । यसका लागि समय लाग्छ ।

आईपीओ निष्काशन पश्चात हकप्रद शेयर जारी गर्ने अभ्यास बढ्दो छ । सवोत्तमको सोच के छ ?

हकप्रद शेयर निकाल्ने कुनै योजना छैन । सायद हामी राइट शेयर निकाल्दै निकाल्दैनौँ । ठूलो स्केलको विस्तार र त्यसका लागि कुनै फण्ड नै नभएको र बैंक लोनबाट अफ्ट्यारो अवस्थामा परेको बेला राइट शेयर इस्यू गर्ने हो । हामीलाई यो समस्या छैन । 

हामी सकेसम्म नगद लाभांश नै दिन्छौँ । हामीले बोनस शेयर पनि सोचेका छैनौँ । तर, भोलीका दिनमा बोनस शेयर नै दिनुपर्ने अवस्था आयो भने त्यता पनि सोच्ने कुरा त छँदैछ ।

बुक विल्डिंग विधिबाट आईपीओ निष्काशन गर्ने प्रक्रिया सुरु गरेको ३ वर्षमा बल्ल सफल हुनुभयो । यो बीचमा प्रक्रियागत झण्झटले गर्दा प्रीमियममै निकालेको भए पनि हुने रहेछ भन्ने लाग्यो कि लागेन ?

त्यो हडल हामीले फेस गरिसकियो । यो एउटा फेयर मेथड हो भन्ने भएपछि यसैमा फोकस गरियो । नयाँ विधि भएकाले नियामकलाई नीति नियम बनाउन धेरै समय लाग्यो, हामीले पनि धेरै कमेन्ट पायौँ । जवाफ दिने प्रक्रिया पनि लामो थियो । तर, हामीलाई डर थिएन ।

अब आउने कम्पनीलाई यो विधिबारे के सुझाव दिन चाहनुहुन्छ ?

अब मेरै अर्को कम्पनी पनि आउँदैछ, त्यो कम्पनीको पनि बुक विल्डिंग विधिबाटै आईपीओ निष्काशन गर्दैछौँ । अब नयाँ आउने कम्पनीहरुको कुरा गर्दा पहिलो कुरा त बुक विल्डिंगका लागि योग्य हुनुपर्यो । निरन्तर ३ वर्ष नाफामा भएको हुनुपर्ने लगायतका केही मापदण्ड तोकिएका छन्, त्यो पूरा गर्नुपर्यो । 

बुक विल्डिंग विधिलाई हामीले नकारात्मक लिएका छैनौँ । हामीलाई प्रक्रियागत रुपमा समय लामो लागेको भन्दा पनि बुक विल्डिंग विधिलाई सर्वसाधारणले स्वीकार गर्छन् कि गर्दैनन् भन्ने चिन्ता थियो । प्रीमियमलाई नै मान्छेले शंकास्पद नजरले हेरिरहेको बेलामा एकैपटक ५० कित्ता किन्नुपर्ने, १८ हजार हाल्नुपर्ने भन्ने कुरा सर्वसाधारणले स्वीकार गर्छन् कि गर्दैनन् भन्ने थियो । अहिले यो चिन्ता हटिसकेको हुनाले बुक विल्डिंग विधिप्रति हामी सकारात्मक छौँ ।

यो विधिबारे धेरै कुरा इस्यू म्यानेजर कम्पनीहरुले बुझेका थिएनन्, हामीले बुझेका थिएनौँ, सेबोनले पनि बुझेको थिएन, नेप्सेले बुझेको थिएन । यसकारण यो बाटो खन्ने काम हो, केही न केही गाह्रो हुन्छ भन्नेमा हामी मानसिक रुपमा तयार नै थियौँ । बाटो खनेर एउटाले गाडी पुर्याइसकेपछि अरुले पनि गाडी पुर्याइहाल्छन् नि । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved