आईपीओको तयारीमा सोपान फर्मा, युरोपदेखि रसियासम्म निर्यात गर्ने लक्ष्य (सीईओ न्यौपानेको अन्तर्वार्ता)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 29, 2024 | 04:33:53 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका सफल एवम् विशिष्ठ उद्यमीहरूको लगानीमा ललितपूरको महालक्ष्मी नगरपालिका वार्ड नं. ८ मा उद्योग स्थापना भई सञ्चालनमा आएको सोपान फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारण नागरिकमा धितोपत्र निष्काशनको निम्ति नेपाल धितोपत्र बोर्डमा आवेदन पेश गर्ने तयारी गरेको छ । मुलुकलाई औषधि उत्पादनमा आत्मनिर्भर बनाउने बृहत् लक्ष्यका साथ स्थापना भएको सोपान फर्मास्युटिकल्सले अब सर्वसाधारण नागरिकको समेत लगानी लिएर अझै धेरै उत्पादनको लक्ष्य राखेको छ ।

यसै सन्दर्भमा सोपान फर्मास्युटिकल्स लिमिटेड र कम्पनीका भावी योजनाहरूका सम्बन्धमा सोपान फर्मास्युटिकल्स लिमिटेडका सीईओ सुमन न्यौपानेसँग बिजपाटीले कुराकानी गरेको छ । 

प्रस्तुत छ कुराकानीको सम्पादित अंशः

सोपान फर्मास्युटिकल्स लिमिटेडको स्थापना कहिले भएको हो र यस उद्योग अन्तरगत हाल के कस्ता युनिटहरू रहेका छन् ?

हाम्रो कम्पनी बि.सं. २०६६ सालमा कम्पनी स्थापना भएको हो । कम्पनी स्थापना भएपछि विभिन्न चरण पार गरेर बि.सं. २०७४ साल फाल्गुण महिनाबाट उद्योग निर्माण कार्य सुरू भयो । सुरु भएको ठिक ४ वर्ष अर्थाता् २०७८ साल फाल्गुणमा उद्योग निर्माण सम्पन्न भयो । निर्माण कार्य सम्पन्न भए लगत्तै २०७९ साल बैशाख महिनादेखी सोपान फर्मास्युटिकल्सले आफ्ना उत्पादनहरूको बजारीकरण तथा बिक्री बितरण कार्य सुरू गरेको हो ।

सोपान फर्मास्युटिकल्स लिमिटेडले उद्योग निर्माणका क्रममा हरेक गतिबिधिहरू विश्व स्वास्थ्य संगठन को कुशल उत्पादन अभ्यास (WHO-GMP) को अधिन र युरोपियन युनियनको कुशल उत्पादन अभ्यास (EU-GMP) को मार्गनिर्देशनमा रही विकास गरी सोही मापदण्डहरूका आधारमा उद्योग सञ्चालन गर्दै आएको छ । 

कम्पनीको स्वामित्वमा रहेको लगभग २२ रोपनी जग्गामा फर्मास्युटिकल्स र मेडिकल अक्सिजन ग्याँस गरी दुई प्रकारका उत्पादन युनिटहरू रहेका छन् । फर्मास्युटिकल्स अन्तरगत Non-Beta Lactam Block मा ट्याब्लेट्स, क्याप्सुल्स, लिक्विड्स र सेमी–सोलिड्स (आईन्टमेन्ट्स्) सेक्शनहरू रहेका छन् भने Cephalosporin Block मा ट्याब्लेट्स, क्याप्सुल्स र ड्राई पाउडर सेक्शनहरू रहेका छन् । अक्सिजन ग्याँस युनिट अन्तरगत अस्पताल प्रयोगका लागी मेडिकल अक्सिजन र हिमाल–पहाड चढ्दा आवश्यक अक्सिजन (पोर्टेबल क्यान) उत्पादन हुन्छ ।

सोपान फर्मास्युटिकल्स लिमिटेडमा सफल उद्यमीहरुको सामूहिक लगानी छ । यस कम्पनीका प्रमुख संस्थापकहरूको पृष्ठभूमी के हो ?

सोपान फर्मास्युटिकल्स लिमिटेडको प्रमुख संस्थापक सोपान मल्टिपल कम्पनी लिमिटेड हो । सोपान मल्टिपल कम्पनी लिमिटेड १५ वर्ष पुरानो इन्भेष्टमेन्ट कम्पनी हो । नेपालका प्रतिष्ठित उद्यमीहरू जस्तै डा. उपेन्द्र महतो, डा. बीरेन्द्र महतो, ई. रामेश्वर रिजाल, डा. ई. तारा प्रसाद पोखरेल, ई. बसन्तचन्द्र मरहट्टा, जीवनाथ लामिछाने, राजेन्द्र मल्ल लगायतका व्यक्तिहरु प्रमुख संस्थापक रही स्थापना गरिएको सोपान मल्टिपल कम्पनी लिमिटेडले कान्तिपूर ईन्जिनियरिङ्ग कलेज, एक्मी ईन्जिनियरिङ्ग कलेज, सोपान फर्मास्युटिकल्स, मैलुङ्ग खोला जलविद्युत कम्पनी, माथिल्लो मैलुङ्ग खोला जलविद्युत कम्पनी, मोल्निया पावर, सोपान प्रोपर्टिज लगायतका कम्पनीहरूमा लगानी गर्दै आएको छ । 

सोपान मल्टिपल कम्पनी लिमिटेडमा महतो समूहको २५ प्रतिशत शेयर रहेको छ भने बाँकी ७५ प्रतिशत अन्य व्यक्ति तथा संस्थाहरुको स्वामित्वमा रहेको छ । सोपान फर्मास्युटिकल्स लिमिटेड सोपान मल्टिपल कम्पनी लिमिटेडको प्रमुख प्रोजेक्टहरू मध्यको एक हो । कम्पनीका संस्थापकहरूले देश तथा विदेशमा स्वास्थ्य, शिक्षा, हाईड्रो, रियल–स्टेट, बैंक–ईन्स्युरेन्स, पूँजीबजार र उत्पादनमुखी उद्योगहरूमा लामो समयदेखि लगानी तथा व्यवस्थापन गर्दै आउनु भएको छ ।

सोपान फर्मास्युटिकल्सले उत्पादन गर्ने औषधिहरू कति संख्यामा र के कस्ता छन् ?

हामीले २०७९ साल बैशाखमा ८ वटा औषधिहरूबाट बजारीकरण तथा बिक्री बितरण सुरू गरेकोमा हाल सो संख्या ५० पुगिसकेको छ । १०२ ओटा औषधिहरूको उत्पादन अनुमति पत्र प्राप्त गरिसकिएको छ भने १५५ ओटा औषधिहरूको रिसर्च एण्ड डेभलप्मेन्ट सफल भई सकेको छ । 

हामीले चालु आर्थिक वर्षको अन्त्यसम्म बजारमा थप २० प्रकारका औषधिहरू पुर्याउने लक्ष्य लिएका छौँ भने आगामी दुई वर्ष भित्र कम्तिमा कूल २०० वटा औषधिहरू बजारमा पुर्याउने लक्ष्य समेत लिएका छौँ ।

हामीले उत्पादन गर्दै आएका औषधिहरू अर्थो, रेस्पिरेटरी, सेफालोस्पोरिन, युरोलोजी, पिपिआई, डर्मा, कार्डियो, डायबेटिक आदिसँग सम्बन्धित छन् ।

सोपानले WHO-GMP Certification कहिले प्राप्त गर्छ ? सोपानका उत्पादनहरूले विदेशी कम्पनीहरुद्वारा उत्पादित औषधिहरूसँग गुणस्तरमा प्रतिस्पर्धा गर्न सक्छन् ?

सोपान फर्मास्युटिकल्स लिमिटेडले WHO-GMP Certification हासिलका लागि सम्पूर्ण संयन्त्रहरू तयार पारिसकेको छ । उक्त Certification प्राप्तीका लागि GMP Audit गराइदिन औषधि व्यवस्था विभाग समक्ष आगामी हप्ता नै निवेदन दिइने छ । यसै आर्थिक वर्षको अन्त्यसम्म उक्त सर्टिफिकेट हासिल गरिने प्रक्षेपण गरिएको छ ।

गुणस्तरको हकमा, सोपान फर्मास्युटिकल्स लिमिटेडले उत्पादन गर्ने मापदण्ड र अन्य विदेशी कम्पनीहरुले औषधि उत्पादन गर्ने मापदण्डमा फरक नहुँदा हाम्रो गुणस्तरमा कमी नहुने र प्रतिष्पर्धमा अब्बल रहेने कुरामा ढुक्क रहन हामी आग्रह गर्न चाहन्छौँ ।

यसका अतिरिक्त सोपान फर्मासँग अत्याधुनिक प्रविधिका प्लान्ट मसिनरीहरू र अन्य फ्यासिलिटिज रहेको र भेन्डर भ्यालिडेशन गरेर मात्र उच्च गुणस्तरका कच्चा पदार्थहरू खरीद गरिने हुनाले जुनसुकै विदेशी कम्पनीहरूको औषधिसँग अब्बल प्रतिष्पर्दा गर्न सक्ने अवस्थामा रहेका छौं । हाम्रो स्वदेशमा खपत मात्रै नभई निर्यात पनि प्रमुख लक्ष्य भएको हुँदा गुणस्तरलाई सधैं उच्चतम् प्राथमिकतामा राख्ने गरेका छौँ ।

GMP Certification  हासिल गरेपछि कम्पनीलाई के कस्ता फाईदाहरू हुन्छन् ?

हुनत हामीले सुरूवातबाटै उच्च गुणस्तरका औषधिहरूको उत्पादन र बिक्री–बितरण गर्दै आएका छौँ । तथापी, WHO-GMP Certification प्राप्तीले आमरूपमा कम्पनी र कम्पनीका उत्पादनहरू प्रति बिस्वासको वातावरण सिर्जना हुन्छ, जसले गर्दा हामीलाई बिक्रीमा प्रतक्ष्य सहयोग पुग्छ ।

WHO-GMP Certification प्राप्त गरेपपछि हामीलाई औषधिसँग सम्बन्धित सरकारी बोलपत्रहरू, ईस्टिट्युशनल सप्लाईज र निर्यात समेतका लागी बाटो खुल्ने छ । त्यसैले उक्त Certification हासिल पश्चात अझ परिस्कृत बजारीकरणका साथै पहिलो चरणमा सरकारी तथा संस्थागत टेण्डरहरूमा सहभागी भई बिक्री बितरणलाई तिब्रता दिने छौँ । दोश्रो चरणमा निर्यातका लागि काम गर्ने छौँ । हाम्रो ठूलो उत्पादन क्षमता भएको र ईकोनोमिज एफ स्केलका कारण सरकारी तथा संस्थागत टेण्डरहरूमा दर–रेट र गुणस्तरमा प्रतिस्पर्धा गरी सफल हुन सक्नेछौँ ।
निर्यातको कुरा गर्दा उत्पादनको गुणस्तरमा विश्वास गर्ने आधार त प्रस्तुत गरिसक्नु भयो । उत्पादन क्षमता के कस्तो रहेको छ ? साथै, निर्यातको लागी कुन देशहरू प्राथमिकतामा पर्ने छन् ?

सोपान फर्मास्युटिकल्सले आफ्नो उद्योगको विद्यमान उत्पादन क्षमता अनुसार एक बर्षमा ३०० दिन प्रति दिन ८ घण्टा (सिङ्गल सिफ्ट) का दरले उत्पादन गर्ने हो भने परिमाणमा ८५ करोड ट्याब्लेट्स्, १० करोड क्यापसुल्स्, ४ लाख लिटर लिक्विड, ३० लाख ट्युबस् मल्हम र ३५ लाख बोटल ड्राई पाउडर उत्पादन गर्न सक्छ । आवश्यकताको आधारमा यो परिमाणको ३ गुणसम्म बढाएर (ट्रिपल सिफ्ट) उत्पादन गरी बजार विकास गर्न सकिएमा रू. १० अर्ब माथिको बिक्री गर्न सकिन्छ ।

निर्यातको हकमा हामीले रसिया, मिडल–ईष्ट, अफ्रिका, युरोप लगायतका बजारहरूमा निकासीको प्रयास गर्ने योजना बनाएका छौँ ।

कम्पनीको लगानी र पूँजी संरचना के कस्तो रहेको छ ?

कम्पनीको लागत मूल्यमा रू. १ अर्ब ६० करोड बराबरको लगानी रहेको छ । उक्त लगानीको फेयर मार्केट भ्याल्लु रू. २ अर्ब २५ करोड माथि हुन्छ ।

संस्थापक तर्फको चुक्ता पूँजी रू. ९९ करोड (९० प्रतिशत) रहेको छ  भने रू. ११ करोड (१० प्रतिशत) बराबरको आईपीओ जारी गरी कूल चुक्ता पूँजी रू. १ अर्ब १० करोड बनाउने योजना रहेको छ ।

आईपीओ निष्काशन प्रक्रिया कहाँ पुगेको छ ?

धितोपत्रको सार्वजनिक निष्काशनका निम्ति एनएमबी क्यापिटलसँग ईस्यु म्यानेजमेन्टको सम्झौता गरिएको छ । पुराना तथा नयाँ संस्थापकहरूबाट फण्डरेजको कार्य सम्पन्न गरी शेयर लगत कायमको लागी प्रकृया अघि बढाईएको छ ।

आईपीओ रेटिङ्ग कार्य अन्तिम चरणमा पुगेको छ । आगामी बैशाख महिनामा धितोपत्र निष्काशनका लागि सम्बन्धित निकायमा आवेदन दिईनेछ र मंसिर २०८१ भित्र धितोपत्र निष्काशन स्वीकृत हुने प्रक्षेपण गरिएको छ ।

कम्पनी सफल हुने आधारहरू के के छन् र आगामी ५ वर्षमा कम्पनी कुन अबस्थामा रहने प्रक्षेपण गरिएको छ ?

सर्वप्रथम त हामीले ISO 9001:2015, WHO-GMP, EU-GMP जस्ता मापदण्डहरूको अधिनमा रही संरचनाहरू विकास गरि निरन्तर उत्पादन अभ्यास र विकाश गर्दै आएका छौँ । हामीले अत्याधुनिक प्रविधिमा लगानी गरेका छौँ, औषधि उत्पादन गर्दा उच्चतम गुणस्तरको कच्चा पदार्थहरूको प्रयोग गर्छौँ र सो कुराको सुनिश्चितताको लागी सोही अनुरूपका प्राविधिक एवम प्रशासनिक संयन्त्रको अभ्यास गर्दै आएका छौँ ।

यसरी हामीले उच्चतम गुणस्तरको औषधि उत्पादनलाई प्रमुख प्राथमिकतामा राखेका छौँ । औषधिको मूल्य औसत राख्ने गरेका छौं, कर्पोरेट सोसियल रेस्पोन्सिबिलिटी (सामाजिक उत्तरदायित्व) लाई अङ्गिकार गरेका छौँ ।

कम्पनीका संस्थापक एवम संचालक समिति सदस्यहरू अत्यन्त प्रभावशाली र स्थापित उद्यमी व्यवसायीहरू हुनुहुन्छ । कम्पनीमा स्थायित्व कायम गर्न र नतिजामुखि कार्य संयन्त्रको विकास गर्न हामीले कर्मचारीहरूलाई संस्थापक शेयरधनी बन्ने अवसर प्रदान गरेकोमा धेरै कर्मचारीहरूले लगानी गरेका छन् । त्यस्तै गरी ब्यापार प्रवद्र्धन गर्ने उदेश्यले कम्पनीको संस्थापक शेयरधनी बन्ने अबसर दिईएकोमा धेरै डाक्टर एवम् स्वास्थ्यकर्मीहरू, औषधिका थोक तथा खुद्रा बिक्रेताहरू लगायत अन्य क्षेत्रका विभिन्न लगानीकर्ताहरू संस्थापक शेयरधनी बन्नु भएको छ ।

कम्पनीको संचालक समिति एवम् उच्च ब्यवस्थापन उच्चतम् सुशासन कायम गर्न प्रतिवद्ध छ । यस अवस्थामा ठोस योजनाका साथ स्वदेशमा बिक्री बितरण बढाई आयात प्रतिस्थापनमा प्रमुख भूमीका खेल्दै निर्यात समेतलाई सफल पारी आगामी ५ वर्ष भित्र सोपानलाई नेपालको अग्रणी फर्मा कम्पनीको रूपमा स्थापित गराउने छौँ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved