सिमेन्ट र डण्डीका ८० प्रतिशत उद्योग बन्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 21, 2021 | 05:44:50 PM मा प्रकाशित

laxmi  sunrise bank

दोस्रो भेरियन्टको कोरोना देखिएपछि सरकारले निषेधाज्ञा जारी गर्दा पनि निर्माण सामग्रीको मूल्य बढिरह्यो । निर्माण व्यवसायीहरु निरन्तर खबरदारीमा उत्रिरहे । तर, अहिले निर्माणको काम पनि ठप्प हुँदा सिमेन्ट र डण्डी उद्योगहरुको बिजोग भएको छ ।

मूलुकका ७७ मध्ये ७५ वटा जिल्लामा निषेधाज्ञा लागू हुँदा भौतिक संरचना निर्माणको काम हुन सकेको छैन । यसको प्रत्यक्ष असर निर्माण सामग्री उत्पादन गर्ने उद्योगहरुमा परेको हो । सिमेन्ट र डण्डीको माग ६० प्रतिशतले घटिसकेको छ । माग ४० प्रतिशत रहेपनि उद्योगहरुले त्यो माग अनुसारका सामग्री पनि उत्पादन गर्न पाएका छैनन् ।

कारण के ?

अहिले सिमेन्ट उद्योगमा अक्सिजन छैन । कोरोनाका कारण अस्पतालहरुमा अक्सिजन सिलिण्डर अभाव भएपनि उद्योगहरुले आफूसँग भएका सिलिण्डर स्वास्थ्य संस्थालाई दिएका छन् । एउटा फलामे डण्डी उद्योगमा दैनिक ३० अक्सिजन सिलिण्डरसम्म अक्सिजन खपत हुने गरेकोमा अहिले सबै सिलिण्डर अस्पतालमा पठाईएको छ ।

अक्सिजन नभई स्टिल तथा बिलेट उद्योग सञ्चालन गर्न नसकिने भएकाले अहिले उत्पादन हुन नसकेको उद्योगीहरु बताउँछन् । अक्सिजन नहुँदा उद्योगहरु बन्द गर्नु परेका कारण बजारमा सिमित मात्रामा रहेको माग पनि उद्योगहरुले पूरा गर्न नसकेको स्टिल उद्योगीहरु बताउँछन् ।

यति मात्रै नभई, कर्मचारी र उद्योगीहरु कोरोना संक्रमित भएर आईशोलेशनमा बसेका कारण अहिले उद्योग चल्न पाएका छैनन् । चलेका केही उद्योगहरु पनि क्षमताको १० देखि २० प्रतिशतमा मात्रै चलेका छन् । 

‘कामदारलाई आवास सुविधा दिन सकिएन’

सरकारले उद्योगमै खान र बस्न दिएर उद्योग चलाउन अनुमति नदिएको होइन । तर, कामदारहरुको संख्या धेरै हुने भएकाले आवासिय सुविधा दिन नसक्दा उद्योग नै बन्द गर्नु परेको साखः स्टिलका प्रवन्ध निर्देशक किरणप्रकाश साखःको भनाई छ । 

‘उद्योगमा सयौं कर्मचारी हुन्छन्, एक दुई जना भए पो त्यही राखौँ भन्ने हुन्छ, सयौँको संख्यामा रहेका कामदार, मजदूर र कर्मचारीलाई आवासिय सुविधा दिएर उद्योग चलाउन कहाँ सम्भव हुन्छ ?’ उनले प्रश्न गर्दै भने, ‘बजारमा माग भए पो कामदारलाई उद्योगमै राखेर उद्योग चलाऔँ भन्नु, त्यो पनि छैन । सरकारले भने जसरी उद्योगमै कामदार राखेर उत्पादन गरेपनि बजारमा पठाउन सकिँदैन ।’ 

७० प्रतिशत सिमेन्ट उद्योग बन्द

निषेधाज्ञाका कारण अहिले ७० प्रतिशत सिमेन्ट उद्योग बन्द भएको सिमेन्ट उत्पादक संघको तथ्यांक छ । संघका अध्यक्ष ध्रुब थापाका अनुसार सञ्चालनमा रहेका केही उद्योगहरुले पनि क्षमताको ३० प्रतिशत मात्रै सिमेन्ट उत्पादन गरिरहेका छन् । 

निर्माण सामग्रीको माग नै नभएका कारण ८० प्रतिशत डण्डी उद्योग र ७० प्रतिशत डण्डी उद्योग बन्द भएको अनुमान गरिएको छ । बजारबाट उधारो सामान वापतको रकम पनि निकै धेरै उठ्न बाँकी भएकाले आफूहरुका समस्या बढ्दै गएको उद्योगीहरुको गुनासो छ । डण्डी र सिमेन्ट उद्योगीहरुले बजारबाट उठाउन बाँकी रकम ८ अर्ब बढी रहेको बताउँदै आएका छन् ।

सिमेन्ट र डण्डी उत्पादन गर्ने ८० प्रतिशत उद्योग बन्द हुँदा १ लाख बढी मानिसहरुको आम्दानी शून्यमा झरेको अनुमान गरिएको छ । औपचारिक क्षेत्रमा कर्मचारीका रुपमा कार्यरत बाहेक ९५ प्रतिशतको बचत पनि शून्यमा झरेको अनुमान छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved