रोकिएन निर्माण सामग्रीको मूल्य वृद्धि, सिमेन्ट, डण्डी र इँटाको भाउ कति पुग्यो ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 15, 2021 | 01:59:00 PM मा प्रकाशित

laxmi  sunrise bank

निषेधाज्ञा केही खुकुलो हुनासाथ निर्माण सामग्रीको मूल्य बढ्न थालेको छ । बैशाख १५ गतेबाट काठमाडौँ उपत्यकामा निषेधाज्ञा सुरु हुँदा देशका विभिन्न जिल्लामा निर्माणको काम भईरहेको थियो । सोही मौका छोपेर निर्माण सामग्रीको भाउ बढाउन थालिएको हो । यो क्रम अझै पनि चलिरहेको निर्माण व्यवसायीहरुको गुनासो छ ।

निषेधाज्ञाले सबैजसो क्षेत्र ठप्प प्रायः रहँदा पनि निर्माण क्षेत्र आंशिक रुपमा चलायमान छ । यसैको मौका छोपेर बढ्न थालेको निर्माण सामग्रीको भाउ रोकिने कुनै छाटकाट देखिएको छैन ।

कति महँगियो ?

निषेधाज्ञा सुरु हुनु अघिसम्म काठमाडौँमा फलामे डण्डी प्रतिकिलो ८० देखि ८६ रुपैयाँमा उपलब्ध हुन्थ्यो । अहिले किलोमै २४ देखि ३० रुपैयाँसम्म मूल्य बढेको प्रतिकिलो ११६ रुपैयाँसम्म पुगेको छ । यसअघि जेठ २० सम्म १०६ रुपैयाँको हाराहारीमा रहेको फलामे डण्डीको भाउ जेठ २१ देखि निषेधाज्ञा केही खुकुलो भएपछि ह्वात्तै बढेको हो । 

फलामे छडको मात्रै नभई बालुवा, सिमेन्ट, इँटा र गिट्टीको मूल्य पनि आकाशिएको छ । अहिले सिमेन्टको भाउ बोरामै ५० देखि १ सय रुपैयाँसम्म बढेको छ । सिमेन्ट प्रतिबोरा ७५० देखि ८५० रुपैयाँसम्म पुगेको छ । जबकी निषेधाज्ञा अगाडीसम्म सिमेन्ट प्रतिबोरा ७ सयदेखि ७५० रुपैयाँसम्म पाईन्थ्यो ।

अहिले बजारमा १ हजार वटा १ नम्बर इँटाको भाउ १७ हजार ५ सयदेखि १८ हजार रुपैयाँसम्म पर्न थालेको छ । जबकी यसअघि १ नम्बर इँटा १६ हजार ५ सय रुपैयाँमा १ हजार वटा पाइन्थ्यो ।

महँगिनुको कारण के ?

कोरोना भाइरसका कारण लामो समय निर्माण क्षेत्र पनि सिथिल बन्यो । विस्तार लय समात्न सुरु गरिरहेकै बेला पुनः लकडाउन भयो । तर पनि फाट्टफुट्ट निर्माणका काम जारी रहेको मौकामा निर्माण सामग्री उत्पादन गर्ने उद्योगीहरुले मूल्य बढाएर बढी नाफा राखेको निर्माण व्यवसायीहरुको आरोप छ ।

अर्को कुरा, विगतमा मनसुन सुरु हुने समयमा निर्माण सामग्रीको मूल्य घट्दै आएको थियो । बिजुलीको पर्याप्त उपलब्धताले विगतमा निर्माण सामग्रीको उत्पादन पनि बढी हुने गर्दथ्यो भने निर्माणको काम कम हुने गर्दथे । तर, यसपाली भने उद्योगीहरुले कम मात्रामा निर्माण सामग्री उत्पादन गर्ने र कम उत्पादनबाटै बढी लाभ लिने रणनीति अपनाएका कारण भाउ अचाक्ली बढेको दाबी ठेकेदारहरुको छ ।

तर, सिमेन्ट र फलामे डण्डी उत्पादन गर्ने उद्योगीहरु भने निर्माण सामग्रीको भाउ बढेको स्वीकार गर्न तयार छैनन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved