सम्झौताको १४ महिनापछि धौलागिरी र आँधीखोला लघुवित्तको मर्जर तोडिने संघारमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 22, 2021 | 05:19:14 PM मा प्रकाशित

laxmi  sunrise bank

आँधीखोला लघुवित्त र धौलागिरी लघुवित्तको मर्जर तोडिने संघारमा पुगेको छ। मर्जर सम्झौता भएको १४ महिनापछि मर्जर तोडिन लागेको स्रोतले जनाएको छ । 

दुई संस्थाबीच २०७६ साल पुस २ गते मर्जर सम्झौता भएको थियो । तर सम्झौता भएको १४ महिनापछि दुवै पक्ष मर्जरबाट पछाडी हट्न लागेका हुन् । 

आन्तरिक संस्थागत सुशासनको कमी, कर्मचारी ब्यबस्थापनमा खटपट र संचालक विवादले मर्जर तोडिने अवस्थामा पुगेको स्रोतले जनाएको छ । स्रोतका अनुसार मर्ज गर्न नसकिने भन्दै राष्ट्र बैंकमा निवेदन पुगी सकेको छ । राष्ट्र बैंकले सोहि अनुसार पत्र दिएमा मर्जर तोडिएको आधिकारिक घोषणा हुने छ । 

के हो विवाद ?

दुवै कम्पनीले मर्जर हुनु नसक्नुमा एक अर्कालाई दोष लगाएको पाईएको छ । मर्जर सम्झौता भएपछि धौलागिरी लघुवित्तका निमित्त सीइओ शिवराज जोशीले २ जना कर्मचारीको राजिनामा स्वीकृत गरेका थिए । त्यसपछि संचालक समितिले जोशीलाई नै निलम्बन गरेको थियो । कर्मचारीको राजीनामा स्वीकृति गर्नु आफ्नो क्षेत्राधिकारभित्रको कुरा रहेको र संचालक समितिले आफुलाई बिना कारण बर्खास्त गरेको भन्दै जोशीले सर्वोच्च अदालतमा  मुद्दा दायर गरेका छन् । उक्त मुद्दा अहिले विचाराधीन रहेको बताईएको छ । 

धौलागिरीमा उच्च तह मै कर्मचारी विवाद भएपछि त्यस संस्थामा आन्तरिक संस्थागत सुशासन कमजोर रहेको भन्दै आँधीखोला मर्जमा इच्छुक नरहेको स्रोतको भनाई छ  । साथै  मर्जर सम्झौता भएपछि सम्झौता विपरित कर्मचारी हटाईएको आँधीखोला अशन्तुष्ट बनेको थियो  

उता धौलागिरीले पनि मर्जर सम्झौता हुँदाको बखत रहेका संचालकहरुलाई मात्र ब्यबस्थापन गर्ने भन्दै बखेडा झिकेको आरोप लागेको छ ।  मर्जर सम्झौता हुदाँ आँधीखोलामा पब्लिक संचालक थिएनन् । अहिले कम्पनीमा  २ जना पब्लिक संचालक आएका छन् ।  यसैलाई देखाएर धौलागिरीले सम्झौता हुँदाको बखतमा रहेका संचालकलाई सम्बोधन गर्ने र त्यसपछि आएका संचालकलाई सम्बोधन गर्न नसकिने जनाएको स्रोतको भनाई छ । 

दुवै संस्थाले १:१ को स्वाप अनुपातमा मर्ज मा सहमति गरेकोले स्वापमा भने कुनै विवाद नरहेको बताईएको छ । 

के थियो सम्झौता ?

मर्जर सम्झौताअनुसार मर्जपछि संस्थाको नाम धौलागिरि आँधीखोला लघुवित्त वित्तीय संस्था राख्ने सहमति भएको थियो। संस्थाको अध्यक्षमा धौलागिरिबाट इश्वरलाल राजभण्डारी हुने र प्रमुख कार्यकारी अधिकृत आँधीखोलाका डोलराज केसी हुने सम्झौतामा उल्लेख थियो। साथै धौलागिरिका प्रमुख कार्यकारी शिवराम जोशी नायव प्रमुख कार्यकारी बन्ने उल्लेख थियो। मर्जरपछि केन्द्रीय कार्यालय पोखरामा राख्ने र संयुक्त कारोबार २०७७ बैशाख १ बाट गर्ने पनि सम्झौतामा उल्लेख थियो।

अब के हुन्छ ?

अब यदि राष्ट्र बैंकले मर्जर सम्झौता तोड्नको लागि अनुमति दिए नेपाल स्टक एक्सचेन्जमा रोक्का रहेको आँधीखोलाको शेयर कारोबार सुचारु हुने छ । त्यस्तै मर्जर सम्झौता गरी मर्जर सम्झौता तोडेमा ३ महिना भित्र अर्को मर्जर सम्झौता गरिसक्नु पर्ने प्रावधान छ । सोहि अनुसार दुवै कम्पनीले राष्ट्र बैंकबाट पत्र पाएको ३ महिना भित्र अर्को मर्जर सम्झौता गर्नु पर्ने हुन्छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved