राष्ट्र बैंकका कारण विवादमा तानिए तीन लघुवित्त, संचालक समितिको वैधानिकतामा प्रश्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 25, 2023 | 06:43:33 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकको कारण तीन लघुवित्त वित्तीय सँस्थाका प्रमुख कार्यकारी विवादमा तानिएका छन्। ऐनसँग बाझिने गरि राष्ट्र बैंकले दिएको निर्देशनका कारण यी लघुवित्त विवादमा तानिएका हुन्। 

प्रबन्ध संचालक पद कायम नरहने गरि प्रमुख कार्यकारी अधिकृत पदको व्यवस्था लागू गर्नुपर्ने राष्ट्र बैकको निर्देशन विपरित हुनेगरि सिवाईसी नेपाल, युनिक नेपाल र नेष्डो समृद्ध लघुवित्तमा प्रबन्ध संचालक नै प्रमुख कार्यकारी रहन पुगेपछि यी संस्थाका प्रमुख कार्यकारीहरुको नियुक्ति नै विवादित बनेको हो। 

सिवाईसी नेपालमा संचालक डोलेंद्र प्रशाद शर्मा प्रबन्धक संचालक छन् भने युनिक नेपालमा संचालक डा. गोपाल दहित एक्जुएटिभ डाइरेक्टर रहेका छन्। त्यस्तै नेष्डो समृद्दमा संचालक विश्व प्रकाश प्रसाई ठकुरी प्रबन्धक संचालक छन्। राष्ट्र बैंकले २०७९ साल पुष ७ गते दिएको निर्देशनमा 'मर्जर तथा प्राप्तिको अन्तिम स्वीकृति पाएको ६ महिनाभित्र प्रबन्ध संचालक पद कायम नरहनेगरि प्रमुख कार्यकारी अधिकृत पदको व्यवस्था गर्नुपर्ने' उल्लेख छ।

तर यी लघुवित्तहरुले भने प्रबन्ध संचालकको नियुक्ति पश्चात संस्थामा अतुलनिय प्रगती भएकाले  'बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३' मा भएको व्यवस्थाअनुसार एक कार्यकालका लागि प्रबन्ध संचलाकलाई नै निरन्तरता दिनलाई राष्ट्र बैंकलाई अनुरोध गरिएको बताएका छन्।

"बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ को दफा १५ को उपदफा २ मा प्रबन्ध संचालक नै प्रमुख कार्यकारी रहन पाउने व्यवस्था अनुसार नै विशेष साधारणसभाबाट पारित गराई संचालक समितिबाट निर्णय गरिएकाले प्रबन्धक संचालकको नियुक्ति ऐनसम्मत रहेको छ"  एक लघुवित्तका अध्यक्षले भने। 

ऐन स्पष्ट नहुँदा संचालक समितिको वैधानिकतामा प्रश्न 

ऐनमा भएको व्यवस्था स्पष्ट नहुँदा संचालक समितिको वैधानिकतामाथि नै प्रश्न उठेको छ। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा सञ्चालक निर्वाचित वा मनोनित भएको मितिले ३५ दिनभित्र तोकिएअनुसार पद तथा गोपनीयताको शपथ लिनुपर्छ।  

उपत्यकाभित्र प्रधान कार्यालय रहेका राष्ट्रियस्तरका लघुवित्तका अध्यक्षले नियमन विभागका कार्यकारी निर्देशक वा निर्देशकबाट र उपत्यका बाहिर कार्यालय रहेका लघुवित्तका अध्यक्षले सम्बन्धित क्षेत्र हेर्ने राष्ट्र बैंक कार्यालयको निर्देशकबाट पद तथा गोपनीयताको सपथ लिनु पर्ने व्यवस्था छ। 

तर सिवाईसी नेपाल र आँधिखोला लघुवित्त मर्ज भएर बनेको सीवाईसी नेपालको संचालक समितिका अध्यक्ष र प्रबन्धक संचालकले सपथ नलिँदा उनीहरुको वैधानिकतामा प्रश्न उठेको हो। 

मर्ज पश्चात पनि मर्ज हुन अगाडीकै अध्यक्ष र प्रबन्धक संचालकको निरन्तरता भएको र आफुहरु अहिले निर्वाचित भएर नआएकाले सपथ लिनु नपर्ने देखेर सपथ नखाएको अध्यक्ष र प्रबन्ध संचालकको तर्क छ। 

ऐनमा नै निर्वाचित वा मनोनित भएको ३५ दिनभित्र भनिएको तर आधिखोलालाई मर्ज गरेपनि मर्ज पश्चातको अध्यक्ष र प्रबन्ध संचालक हिजोकै निरन्तरता भएको देखिएकाले आफुहरुले सपथ नखाएको सिवाईसी नेपाल लघुवित्तका अध्यक्ष पद्यमनाथ शर्माको भनाई छ। 

राष्ट्र बैंकको सुझावअनुसार नै आफुहरुले दोहोर्याएर सपथ नखाएको सीवाईसी नेपालका प्रबन्धक संचालक डोलेंद्र प्रसाद शर्माले पनि पुष्टि गरेका छन्। "हामीले पहिल्यै सपथ खाईसकेकाले र पहिल्यैकै निरन्तरता भएकाले सपथ नखाएका हौँ, शपथ खानुपर्ने भए फेरि खान तयार छौं" शर्माले भने।

तर मर्ज पश्चात बन्ने संस्था नयाँ नै हुने भएकाले मर्ज लगत्तै बन्ने संचालक समितिका अध्यक्षले पद तथा गोपनियताको शपथ लिनुपर्ने कुरा कानुनमा स्पष्ट पारिनुपर्ने जानकारहरु बताउँछन्। 

राष्ट्र बैंकको लघुवित्त सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक रेवती नेपालसँग यस बिषयमा कुराकानी गर्दा यो विषय नियमनको बिषय भएकाले ऐन र निर्देशनसँग जोडिएका बिषयबारे आफुले बोल्नु उपयुक्त नभएको बताए। त्यस्तै राष्ट्र बैंकका सहायक प्रवक्ता नारायण पोखरेलले आफुलाई यसबारे केहि जानकारी नरहेको बिजपाटीलाई बताए। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved