नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेपाल इन्फ्रास्ट्रकचर बैंक 'निफ्रा' को शेयर कारोबार सुरु भएको छ । आज आइतबारको प्रि ओपन सेसनमा बैंकको पहिलो कारोबार भएसंगै निफ्राको दोस्रो बजारमा कारोबार सुचारु भएको हो ।
बैंकको NIFRA सिम्बलबाट कारोबार सुरु भएको हो । बैंकको पहिलो कारोबार ३४० को मूल्यमा भएको छ । प्रि ओपन सेसनमा बैंकको ७ हजार ३ सय ८० कित्ता शेयर कारोबार भएको हो ।
गत बिहिबार बैंकको २० करोड कित्ता शेयर सुचिकृत भएको थियो। नेप्सेले पहिलो कारोबारको लागि ११३.६२ देखि ३४०.८६ रुपैयाँसम्मको रेन्ज तोकेकोमा उच्च बिन्दुबाट कारोबार सुरु भएको हो। नेप्सेले कम्पनीको नेटवर्थको ३ गुणासम्मको रेन्ज तोकेको छ । बैंकको आरटिएस ग्लोबल आईएमई क्यापिटल रहेको छ ।
बैंकले माघ २ देखि सर्वसाधारणको लागि आईपिओ निष्काशन गरेको थियो । बैंकले एक सय रुपैयाँ अंकित दरका ८ करोड कित्ता शेयर अर्थात ८ अर्ब बराबरको आईपिओ निष्काशन गरेको हो। जस मध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो । बाँकि रहेको ७ करोड ५८ लाख ४० हजार कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका थिए । नेपाली पुँजीबजारमा आएको यो नै हालसम्म कै ठुलो आईपिओ हो ।
वित्तीय अवस्था
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको खुद नाफा १२.५४ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले ४० करोड २७ लाख खुद नाफा कमाएकोमा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको नाफा घटेर ३५ करोड २५ लाख कायम भएको हो । बैंकको वितरणयोग्य नाफा भने २७ करोड ६० लाख रहेको छ ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.७२ प्रतिशतले घटेर ५६ करोड ९४ लाख कायम भएको छ । त्यस्तै बैंकको संचालन मुनाफा १२.३२ प्रतिशतले घटेर ३५ करोड २५ लाख कायम भएको छ । १२ अर्ब चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा १ अर्ब ९४ करोड रहेको छ ।