
नेपाल धितोपत्र बोर्डको एमाले निकट कर्माचारीहरुको यूनियन बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाको बचाउमा उभिएको छ। 'नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठन' बोर्ड अध्यक्षको पक्षमा उभिदै पुँजी बजारलाई प्रभाव पार्ने भ्रामक एवम् तथ्यहिन विषय बाहिर प्रकाशन नगर्न आग्रह गरेको हो ।
काग्रेस निकट तथा आधिकारिक युनियन 'नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियन'ले बोर्ड अध्यक्ष ढुंगाना र संचालक चन्द्र ढकाललाई निलम्बन गर्न माग गरेपछि एमाले निकट युनियनले बोर्ड र बोर्ड सम्बद्ध निकायहरुसँग जोडिएर आएका विषयहरुमा सत्य तथ्य विवरण आधिकारिक निकायबाट प्रेषित हुने भन्दै पुँजी बजारलाई प्रभाव पार्ने भ्रामक एवम् तथ्यहिन विषय बाहिर प्रकाशन नगर्न आग्रह गरेको हो ।
पछिल्लो समय धितोपत्र बोर्ड, बोर्डका पदाधिकारी तथा धितोपत्र बजारका सम्बन्धमा संचार माध्यमहरुमा आएका विषयहरुलाई सम्बन्धित निकायबाट विना पूर्वाग्रह सत्य तथ्यमा आधारीत भई आवश्यक्तानुसार वास्तविकता वाहिर ल्याउन र बोर्डको कार्य बातावरणलाई प्रभावित हुन नदिन पनि युनियनले बोर्ड व्यवस्थापन तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।
बोर्डमा ढुंगाना अध्यक्ष भएर आउनु अघि बोर्डमा एउटा मात्र युनियन थियो । बोर्ड अध्यक्ष ढुंगाना कै पहलमा 'नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठन' खुलेको हो । यस संगठनले आज निकालेको विज्ञप्ति समेत बोर्ड अध्यक्ष ढुंगानाको निर्देशनमा आएको र यसको ड्राफ्ट समेत ढुंगानाले नै तयार पारेको स्रोतको भनाई छ ।