भिष्म ढुंगाना धितोपत्र बोर्डमा फर्कने सम्भावना सकियो, सर्वोच्चले दिएन अन्तरिम आदेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 17, 2022 | 05:13:08 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डका निवर्तमान अध्यक्ष भिष्मराज ढुंगानाले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार गरेको छ ।  आज न्यायधीशहरु मिरा खड्का, डा. आनन्द मोहन भट्टराई र हरि प्रसाद फुयालको पूर्ण इजलाशले उक्त मुद्दामा अन्तरिम आदेश नहुने आदेश दिएको हो । यस संगै उनी बोर्डमा फर्कने सम्भावना सकिएको छ ।

 सरकार गैर कानुनी रुपमा आफुलाई हटाएको र आफुमाथि अन्याय भएको भन्दै उनले कार्तिक ७ गते आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उनले नेपाल सरकार मन्त्रिपरिषद प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवारलाई विपक्षी बनाएका थिए । उनले आफुलाई बोर्ड अध्यक्षमा पुनर्बहालीको माग गरेका थिए। तर उनलाई सर्वोच्च अदालतले अन्तरिम आदेश दिएर पुनर्बहाली गर्न अस्विकार गरेको छ । 

 यस अघि पुस २९ गते यो मुद्दा न्यायधीशहरु अनिल कुमार सिंह, टंकबहादुर मोक्तान र डा, मनोजकुमार शर्माको पूर्ण इजलाशमा पेसी तोकिएको थियो । तर डा. शर्माले यो मुद्दा हेर्न नमिल्ने भएपछि इजलाश नै बसेको थिएँन ।  त्यसपछि आज पुन: पूर्ण इजलाशमा यो मुद्दामा बहस भएको हो  । 

  मङ्सिर २१ गते सर्वोच्चले यस मुद्दामा कारण देखाउ आदेश जारी गरेको थियो ।  त्यसपछि पुस ७ गते न्यायधीशहरु प्रकाशमान सिंह र डा. कुमार चुडालको राय बाझिएको थियो । राय बाझिएपछि पूर्ण इजलाशमा मुद्दा प्रवेश गरेको हो । पूर्ण इजलाशमा राय बाझिए बहुमत न्यायधीशको आदेश सदर हुने ब्यबस्था छ।   

असोज १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बर्खास्त गरेको थियो । अर्थ मन्त्रालयको सिफारिसमा उनलाई बर्खास्त गर्ने निर्णय भएको हो । सरकारले यस अघि उनलाई स्पष्टिकरण सोधेको थियो । स्पष्टिकरणको जवाफ चित्त बुझ्दो नभएको भन्दै उनलाई हटाइएको हो।  असोज १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।  ढुंगानाले असोज १७ मा आइतबार स्पष्टिकरण बुझाएका थिए । 

ढुंगानामाथि लागेको आरोपको सम्बन्धमा जाँचबुझ गर्न गठित समितिले सकारलाई प्रतिवेदन बुझाएको थियो । जाँचबुझ समितिको सिफारिसको आधारमा उनलाई स्पष्टिकरण सोध्ने निर्णय सरकारले गरेको थियो। 

धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले धितोपत्रको भित्री कारोबार तथा धितोपत्र व्यवसाय गरी बोर्डलाई हानी नोक्सानी पु¥याई बोर्डको हित र पुँजी बजारको विकास विपरित हुनेगरी पदीय आचरण विपरित काम कार्वाही गरेको भन्ने सम्बन्धमा जाँचबुझ गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न गत भदौ १६ गतेको मन्त्रिपरिषद्को  बैठकले जाँचबुझ समिति गठन गरेको थियो ।  

यता सरकारले भने आज नै बोर्डमा रमेश कुमार हमाललाई अध्यक्ष नियुक्त गरेको छ  । आज बसेको मन्त्रिपरिषद्को बैठकले हमाललाई ४ वर्षको लागि अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो 

 बोर्ड अध्यक्ष छनोटका लागि गठित सिफारिस समितिले बोर्ड अध्यक्षमा नियुक्त गर्नको लागि कृष्णराज पोखरेल, गोपालप्रसाद भट्ट र रमेशकुमार हमालको नाम सिफारिस गरेर मन्त्रिपरिषदमा पठाएको थियो । सरकारले यिनीहरु मध्येबाट हमाललाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।   यस संगै करिब ५ महिनापछि बोर्डले नेतृत्त्व पाएको छ।  

 बोर्ड अध्यक्षको लागि १५ जनाको आवेदन परेको थियो । आवेदन दिनेमा डा. गोपालप्रसाद भट्ट, खगेन्द्र कटुवाल, मुक्ति अर्याल, रमेश घिमिरे, चिरन्जिवी चापागाई, डा नवराज अधिकारी, अम्बिका शर्मा लामिछाने , कृष्णराज पोखरेल, डा जीवन अंगाई, रमेश कुमार हमाल, सिताराम थपलिया , डा. केशवप्रसाद श्रेष्ठ, अनिलराज पौडेल, निरज गिरि र हेमन्त बस्याल रहेका थिए। 

 बोर्डको अध्यक्ष हुनको लागि स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा सात वर्ष काम गरेका लब्ध प्रतिष्ठित व्यक्ति हुनु पर्ने ब्यबस्था ऐनले गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved