नेप्सेको ४.६ प्रतिशत शेयर 'जी टु जी' माध्यमबाट सिधै बिक्री गर्ने तयारी, कसले किन्दैछ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 21, 2022 | 04:20:15 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले आफ्नो स्वामित्वमा रहेको नेपाल स्टक एक्सचेन्जको शेयर 'जी टु जी' माध्यमबाट बिक्री गर्ने भएको छ। राष्ट्र बैंकले सिधै सरकारी संस्थासँग सम्झौता गरेर आफ्नो स्वामित्वमा रहेको नेप्सेको शेयर बिक्री गर्न लागेको हो 

नेपाल राष्ट्र बैंकको बित्त ब्यबस्थापन विभागका कार्यकारी निर्देशन मुकुन्द कुमार क्षेत्रीले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को व्यवस्थाअनुसार नै राष्ट्र बैंकले आफ्नो स्वामित्वमा भएको नेप्सेको सेयर विनिवेश गर्न लागेको बताए। राष्ट्र बैंकले नेप्सेको १० प्रतिशत मात्र शेयर राखेर बाँकि शेयर बिक्री गर्ने उनले बताए । हाल राष्ट्र बैंकको स्वामित्वमा नेप्सेको १४.६ प्रतिशत शेयर रहेको छ ।  राष्ट्र बैंकले १० प्रतिशत कायम नै राखेर बाँकि राखेर नेप्सेको ४.६ प्रतिशत शेयर बिक्री गर्ने छ । 

कार्यकारी निर्देशक क्षेत्रीले अघिल्लो पटक सूचना जारी गरेर शेयर बिक्री गरिएको भएपनि यस पटक भने सरकारी संस्थासँग सिधै सम्झौता गरेर शेयर बिक्री गरिने बताए । उनले भने 'यस पटक पहिले जस्तो सूचना जारी गरेर शेयर बिक्री हुँदैन, राष्ट्र बैंकले कुनै सरकारी संस्थासँग 'जी  टु जी' सम्झौता गरेर शेयर बिक्री हुने छ '। यस अघि सार्वजनिक सूचना जारी गरेर शेयर बिक्री गर्दा लक्ष्मी बैंक र प्रभु बैंकले समान ५ प्रतिशत शेयर खरिद गरे पनि उनीहरुले संचालक पठाउन नसक्ने भएकोले अब सरकारी संस्थालाई शेयर बिक्री गरिने उनले बताए 

राष्ट्र बैंकले यस अघि आफ्नो स्वामित्वमा रहेको नेप्सेको २० प्रतिशत शेयर बिक्री गरेको थियो । त्यस समय कर्मचारी संचय कोषले १० प्रतिशत , र लक्ष्मी बैंक तथा प्रभु बैंकले सामना ५ प्रतिशत शेयर खरिद गरेका थिए । 

स्रोतका अनुसार राष्ट्र बैंकले राष्ट्रिय वाणिज्य बैंकलाई जी टु जी सम्झौता गरेर ४.६ प्रतिशत शेयर बिक्री गर्नको लागि अन्तिम तयारी गरिरहेको छ । प्रति कित्ता शेयर मूल्य ६०० रुपैयाँ देखि ७०० रुपैयाँसम्म हुने गरि मूल्य पनि तय भईसकेको स्रोतको दाबी छ । प्रक्रिया अन्तिम चरणमा पुगेकोले छिट्टै सम्झौता हुन सक्ने स्रोत बताउछ । राष्ट्र बैंकले यस अघि नेप्सेको शेयर प्रति कित्ता ११४४ रुपैयाँमा बिक्री गरेको थियो। तर अब ६-७ सयको हाराहारीमा शेयर पाईने देखिएकोले राष्ट्रिय वाणिज्य बैंकले शेयर खरिद गर्ने स्रोत बताउछ । 

तर कार्यकारी निर्देशक क्षेत्रीले भने राष्ट्रिय वाणिज्य बैंकले शेयर खरिदमा चासो देखाएको भए पनि औपचारिक प्रस्ताव भने नल्याएको बताए । उनले भने 'राष्ट्रिय वाणिज्य बैंकले चासो देखाएको छ, शेयर गर्ने भए उसले संचालक समितिबाट निर्णय गराएर प्रस्ताव लिएर आउनु पर्छ, जुन अहिलेसम्म आएको छैन' । अन्य सरकारी संस्था पनि आउँन सक्ने उनले बताए 

हाल नेप्सेमा नेपाल सरकारको ५८.६६ प्रतिशत, राष्ट्र बैंकको १४.६० प्रतिशत, कर्मचारी संचय कोषको १० प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ६.१२ प्रतिशत,  लक्ष्मी बैंकको ५ प्रतिशत, प्रभु बैंकको ५ प्रतिशत, र विभिन्न शेयर ब्रोकरहरुको ०.६२ प्रतिशत शेयर लगानी रहेको छ । 

हाल वाणिज्य बैंकको ६.१२ प्रतिशत शेयर रहेको छ र थप ४.६ प्रतिशत शेयर खरिद गर्दा नेप्सेमा नेपाल सरकारपछिको ठूलो शेयरधनी राष्ट्रिय वाणिज्य बैंक हुने छ। ४.६ प्रतिशत शेयर बिक्री गरेपछि राष्ट्र बैंकको शेयर स्वामित्व १० प्रतिशत मात्र हुने छ । राष्ट्र बैंक ऐन अनुसार राष्ट्र बैंकले  आफनो काम कारबाही वा दायित्व पूरा गर्न सहयोग हुने काम कारबाही गर्ने संस्थालाई सो संस्थाको कुल पुँजीको दश प्रतिशत ननाघ्ने गरी ऋण प्रदान गर्ने वा त्यस्ता संस्थाको शेयरमा स्वामित्व प्राप्त गर्न सक्छ । सोहि अनुसार राष्ट्र बैंकले १० प्रतिशतको सीमा कायम गर्न बाँकि शेयर बिक्री गर्न लागेको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved