
सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपिओ आगामी बुधबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलले चैत्र ८ गते बुधबार बिहान आईपिओ बाँडफाँड गर्न लागेको हो ।
कम्पनीले फागुन २६ गतेदेखि फागुन ३० गतेसम्म सर्वसाधारणलाई आइपिओ बिक्रि खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई ४२ लाख ४८ हजार ९ सय ३८ कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय,, विदेशमा रहेका नेपाली श्रमिक, सामुहिक लगानी कोष योजनाहरुलाई शेयर निष्काशन गरि बाँडफाँड गरि सकेको छ ।
कम्पनीले ताप्लेजुङमा ७३ मेगावाटको मिडिल तमोर हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । आयोजनाको कुल अनुमति लागत १३ अर्ब ३३ करोड रहेको छ । आगामी २०८० भदौ २६ गतेसम्ममा आयोजना सम्पन्न गर्ने लक्ष्य छ ।