सञ्चालक कै कारण ब्रेक लाग्यो वैशाख १ बाटै ‘नेप्से ५०’ इण्डेक्स ल्याउने योजना, फेरि थपियो चुनौती

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 09, 2023 | 09:22:41 AM मा प्रकाशित

laxmi  sunrise bank

आउँदो वैशाख १ गतेबाटै ‘नेप्से ५०’ नामक इण्डेक्स ल्याउने भनी कम्मरकसेर लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अन्ततः असफल बनेको छ । अब त्यो योजना चालु आर्थिक वर्षको अन्त्यसम्म पनि नआउने पक्का जस्तै भएको छ । स्रोतका अनुसार सञ्चालक समितिले इण्डेक्स बनाउन आवश्यक पर्ने कार्यविधि पारित नगरिदिँदा नेप्सेको महत्वकांक्षी योजना असफल भएको हो । 

नेप्सेले ‘नेप्से ५०’ नामक इण्डेक्स निर्माण गरी डेरिभेटिभ प्रोडक्ट विकास गर्ने, त्यसलाई ट्रेडेबल (कारोबार नै गर्न सकिने) गरी प्रोडक्टको रुपमा विकास गर्ने र आगामी वैशाख १ मा बिदा परेकाले २ गतेबाट यसलाई कार्यन्वयनमा लैजाने तयारी गरेको थियो ।

“त्यस विषयमा सञ्चालकसमितिमा छलफल भएको थियो, त्यहाँबाट कार्यविधि पारित हुन भएन, नेप्सेका सञ्चालकहरुले यसको महत्व नै बुझेनन्”, बिजपाटीसँग नेप्से श्रोतले भन्यो ।

‘नेप्से ५०’ कार्यान्वयन गर्न नेप्सेले कन्सल्ट्यान्ट समूहबाट ‘नेप्सेअन्तरगत सञ्चालन हुने सूचकाङ्कहरुको विकास, सञ्चालन, व्यवस्थापन तथा नियमनसम्बन्धी कार्यविधि, २०७९’ को मस्यौदा तयार पारेको थियो । डेरिभेटिभ प्रडक्टको रुपमा विकास गरी त्यसलाई ट्रेडेबल अर्थात् कारोबार नै गर्न सकिने गरी सञ्चालन गर्न समय लाग्ने भएपछि सुरुमा वैशाख १ गतेबाट इण्डेक्स मात्र सञ्चालन गर्ने नेप्सेको तयारी थियो तर कार्यविधि पारित हुन नसक्दा उसको पहिलो चरणको योजना फेल हुने भएको हो ।

स्रोतका अनुसारकार्यविधि पारित भएर आएपछि बल्ल अन्य काम सुरु हुन्छ । चैत्र २४ गतेको मितिसम्म पनि कार्यविधि पारित नभएपछि अब बाँकी रहेका ५ कार्यदिनमा इण्डेक्स आउनसक्ने सम्भावना नदेखिएको स्रोतको दावी छ ।

नेपाल स्टक एक्सचेञ्ज नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की पनि वैशाख १ गतेबाट इण्डेक्स आउने सम्भावना नरहेको स्वीकार गर्छन् । अझै केही प्राविधिक काम बाँकी रहेकोले वैशाख १ गतेबाट इण्डेक्स ल्याउन नसकिने उनले बिजपाटीलाई बताए । उनले चालुआर्थिक वर्ष अर्थात् २०८० असार अन्त्यसम्ममा इण्डेक्स ल्याउने गरी काम गरिरहेको बताएका छन् ।

उनले भने जस्तो आगामी असार अन्त्यसम्म पनि इण्डेक्स आउने सम्भावना भने देखिंदैन । बिजपाटी डटकमले यसअघि इण्डेक्स ल्याउन ४ वटा मुख्य चुनौती रहेको स्पष्टरुपमा उल्लेख गरेको थियो । अब भने त्यसमा अर्को चुनौती पनि थपिएको छ, त्यो हो सरकार परिवर्तन । सत्ता समिकरण बदलिएर अर्थ मन्त्रालयमा नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महत आएका छन् । नेप्सेका हालका प्रमुख कार्यकारी अधिकृतलाई हटाएर नेप्सेमा आफू अनुकुल पात्र ल्याउने खेल सुरु भइसकेको चर्चा चल्न थालेको छ ।

नेप्से कै कर्मचारीहरु पनि राजनीतिक नियुक्ति भएकाले सत्ता समिकरण परिवर्तन हुनेवित्तिकै आउने यस्ता चर्चा स्वभाविक रहने र केही हदसम्म सत्य पनि हुनसक्ने स्वीकार गर्छन् । यदी हालका सीइओ कार्कीलाई अर्थ मन्त्रालयबाट सहयोग भएन भने उनले चाहेर पनि नेप्से ५० इण्डेक्स ल्याउन सक्दैनन् । 

नेप्सेको सञ्चालक समितिलाई यसको महत्व बुझाएर प्रोडक्ट ल्याउने निर्णय गराउनका लागि कन्भिन्स गर्नु अर्को ‘फलामको चिउरा’ बन्न पुगेको छ । यसअघि पनि पटकपटक लगानीका लागि नयाँ औजारहरु ल्याउन सञ्चालक समितिमा छलफल भएको थियो तर सञ्चालक समिति नै पोजेटिभ नभएको कर्मचारीहरु बताउँछन् । 

नेप्सेका एक कर्मचारी भन्छन्, “सञ्चालकहरुमा अहिले भएकै राम्रोसँग चलिरहेको छ, नयाँनयाँ चिज किन चाहियो भन्ने मानसिकता छ,अर्थ मन्त्रालयका प्रतिनिधि सञ्चालक रहेसम्म यो अवस्था रहिरहन्छ ।”

अर्को ठूलो चुनौती– कानूनी आधार तयार पार्नु हो । अहिलेको धितोपत्र ऐनले धितोपत्रको मात्र परिभाषा दिएको छ । 

धितोपत्रको परिभाषामा ‘धितोपत्र बजारमार्फत कारोबार हुन सक्ने वा हस्तान्तरण हुन सक्ने भनी धितोपत्र बोर्डले तोकिदिएको अन्य धितोपत्र’ भन्ने शब्दावलीले मात्र डेरिभेटिभ प्रोडक्टलाई सम्बोधन गर्छ वा गर्दैन भन्नेमा फरकफरक व्याख्या छ । 

त्यसकारण कारोबारदेखि राफसाफका लागि ऐनदेखि विभिन्न नियमावली, विनियमावली, निर्देशिकामार्फत कानूनी आधार तयार पार्नुपर्ने हुन्छ । त्यसमा प्रथमतः धितोपत्र बोर्ड कन्भिन्स हुनुपर्छ । नियमावली मन्त्रिपरिषद बैठकबाट पारित भइ आउनु पर्नेहुन्छ । त्यसमा अर्थ मन्त्रालय र प्रधानमन्त्री पनि पोजेटिभ हुनुपर्छ ।

अर्को चुनौती– प्रणाली तयार पार्नु हो । डेरीभेटिभ प्रडक्ट कारोबार हुँदा शेयरको जस्तो आफ्नो खातामा आउने वा खाताबाट जाने हुँदैन। यसको लागि छुट्टै सेटलमेन्ट प्रणाली चाहिन्छ । यद्यपि कानुनी आधार तयार भईसकेपछि त्यसमा भने खासै समस्या नहुने नेप्सेका इन्जिनियरहरुको बुझाई छ ।

अन्तिम चुनौती– सरोकारवालाले बुझेर कन्भिन्स हुनु हो । लगानीकर्ताले डेरिभेटिभ प्रोडक्टको महत्व बुझ्नुपर्ने हुन्छ । उनीहरुले त्यस्तो खालको प्रोडक्ट कारोबार गर्दा हुने जोखिमबारे पनि बुझ्नुपर्ने हुन्छ । शेयर शिक्षा कै कमि भइरहेको अवस्थामा नेपालमा हालसम्म नरहेको प्रणालीबारे बुझाउन कठिन हुन्छ । लगानीकर्ता तयार नभइ प्रोडक्ट ल्याए पनि त्यसको प्रभावकारिता खासै नहुने नेप्से कै कर्मचारीहरु स्वीकार गर्छन् । 

त्यसकासाथै बजारमा रहेका विज्ञहरु पनि नेप्सेले ल्याउने प्रोडक्ट र कारोबार विधिबारे कन्भिन्स हुनुपर्छ । विभिन्न देशका पुँजीबजारमा काम गरी लामो अनुभव बटुलेका बजार विज्ञ अहिले उपलब्ध छन् । नेप्सेले कार्यविधि तयार पार्दा ति विज्ञहरुबीच पर्याप्त छलफल गरेको देखिदैन ।  

ट्रेडेबल हुनेमा पनि शङ्का 

‘नेप्से ५०’ नामक इण्डेक्स बनाउन समस्या नभए पनि कारोबारयोग्य हुने गरी डेरिभेटिभ प्रडक्टको रुपमा विकास गर्न भने जटिल नै देखिन्छ । विश्वका धेरै बजारमा इण्डेक्स फण्ड सुरु गरिएको भए पनि सबै देशमा सफल भएका छैनन् । नेपालमा पनि अझै केही वर्ष डेरिभेटिभ प्रोडक्ट आउनेमा नेप्सेका उच्च तहका कर्मचारीहरु नै विश्वस्त छैनन् ।

यी विविध कारणहरुले ‘नेप्से ५०’ नामक इण्डेक्स सुरु गरे पनि नेप्सेका सीइओ कार्कीले भने जस्तो चालु आर्थिक वर्षको अन्तिमबाटै डेरिभेटिभ प्रोडक्टको रुपमा कारोबार हुने सम्भावना भने अत्यन्तै न्यून देखिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved