शेयर बजारले अब बुलिस ट्रेण्ड समातेकै हो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 10, 2023 | 03:23:17 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षापछिको पहिलो कारोबारमा शेयरबजारमा उछाल आएको छ। आज शेयर बजार परिसूचक नेप्से एकैदिन १११ अंकले बढेको छ । उच्च अंकले नेप्से बढेसँगै बजार बियरिस ट्रेण्डबाट बुलिस ट्रेण्ड समातेको बुझाई लगानीकर्तामा रहेको छ । 

शुक्रबार केन्द्रीय बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षामा ब्याजदर घटाउने र कर्जा प्रवाह बढाउने गरी नीति अख्तियार गरेसँगै त्यसको प्रत्यक्ष प्रभाव बजारमा देखिएको हो । समीक्षामार्फत बैंकदर र नीतिगत दर घटाइएको छ भने शेयर कर्जा तथा रियल स्टेट कर्जाको जोखिमभार घटाइएको छ । यस व्यवस्थाले बैंकिङ्ग प्रणालीमा ब्याजदर घट्ने र कर्जा माग बढाउने राष्ट्र बैंकको दाबी रहेको छ ।

आजको वृद्धि खोला थुनेपछि आएको बाढी जस्तै: ढकाल

शेयर लगानीकर्ता तथा नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकाल अब शेयर बजारले बुलिस ट्रेण्ड समातेको बताउँछन् । करिब २८ महिनादेखि घटेको बजारमा अब बढ्नै पर्ने उनी बताउँछन् । उनका अनुसार अहिलेको १८०० को इन्डेक्श भनेको यो अवधिमा नेप्सेमा सुचीकृत कम्पनीहरुलाई छोड्ने हो भने ८००-९०० को बिन्दु हो । बजार निकै तल्लो बिन्दुमा रहेकोले अब त्यसबाट तल जान नहुने उनको भनाई छ ।

‘बजार निकै घट्यो, विशेषत २०७८ को भदौ ८ गते राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले पूँजी बजारलाई नराम्ररी प्रहार गर्यो ।’ उनी भन्छन्, ‘अहिले राष्ट्र बैंकले नीतिगत रुपमा नै ब्याजदर घट्ने गरी नीतिगत दर घटाएको छ । साथै जोखिमभार पनि घटाएकोले यसको पोजेटिभ असर बजारमा देखिन्छ ।’ 

आजको उच्च अंकको वृद्धि भने खोला थुनेपछि आएको बाढी भएको उनको टिप्पणी छ।  जोखिभार कम गर्दा र  ब्याजदर घट्दा एकातिर कर्जा लिनेको लागत घट्न जाने र अर्कोतिर निक्षेपकर्ताहरु पनि बैंकको सस्तो ब्याजदर भन्दा लगानीतर्फ आकर्षित हुने उनी बताउँछन् ।

अबको यात्रा बुलिसको नै हो : फुल्लेल

त्यस्तै शेयर लगानीकर्ता तथा सेयर लगानीकर्ता संघ नेपालका कार्यबाहक अध्यक्ष  ताराप्रसाद फुल्लेल पनि मौद्रिक नीति समिक्षाको सकारात्मक प्रभाव बजारमा देखिएको बताउँछन् । बैंक तथा वित्तीय संस्थामा ब्याजदर घट्दो क्रममा रहेको साथै शेयर कर्जा तथा रियल स्टेटको कर्जामा जोखिमभारको कम गर्दा शेयर बजारमा लगानीको वातावरण बनेको उनी बताउँछन् । केन्द्रीय बैंकले मौद्रिक नीतिको समिक्षामार्फत बैंक कर्जाको वृद्धिदरलाई दृष्टिगत गरी बैंक दरलाई ७.५ प्रतिशतबाट घटाई ७ प्रतिशत कायम गरेको छ भने नीतिगत दरलाई ६.५ प्रतिशतबाट घटाई ५.५ प्रतिशत कायम गरेको छ । त्यस्तै निक्षेप संकलन बोलकबोल दरलाई ४.५ प्रतिशतबाट घटाई ३ प्रतिशत कायम गरिएको छ  । 

 अब शेयर बजारले बुलिस ट्रेण्ड समातेको उनको बुझाई छ । पछिल्लो पटक १८०० को बिन्दुमा बलियो टेवा पाएको नेप्सेको पछिल्लो न्यूनतम बिन्दु १८०७ रहेको भन्दै लगानीकर्ता फुल्लेलले भने, 'अब त्यसमा तल जाँदैन् । अबको यात्रा बुलिसको नै हो । '

 राष्ट्र बैंकको पूँजी बजार मैत्री नीतिले बढ्यो बजार : पोखरेल

नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पाखरेल राष्ट्र बैंकले समीक्षा मार्फत पूँजी बजार मैत्री नीति लिंदा बजारमा सकारात्मक प्रभाव परेको बताउछिन्। लामोसमय देखि घटिरहेको  बजारमा केन्द्रीय बैंकले ब्याजदर घटाउने र कर्जा प्रवाह बढाउने नीति लिएको हुँदा बजार बढेको उनको भनाई छ ।

त्यसमा पनि शेयर कर्जाको जोखिमभार घटाउँदा कर्जाको लागत कम पर्न जाने उनको भनाई छ । उनी भन्छिन्,'पछिल्लो पटक राष्ट्र बैंकले गरेको नीतिगत व्यवस्थाको फलस्वरुपमा नै बजार बढेको हो ।'

तेस्रो सर्किटसँगै १ घण्टा ९ मिनेटमा कारोबार बन्द

मौद्रिक नीति पछिको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा तेस्रो सर्किट लागेसँगै कारोबार बन्द भएको छ । नेप्सेमा कारोबार शुरु भएको ५ मिनेटमा नै४ प्रतिशत वृद्धिसँगै पहिलो सर्किट लाग्दै २० मिनेटका लागि कारोबार बन्द भएको थियो । पहिलो सर्किट पछि कारोबार खुलेको २ मिनेटमा नै ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट लाग्दै ४० मिनेटका लागि कारोबार बन्द भएको थियो । दोस्रो सर्किट ब्रेकपछि कारोबार खुलेको २ मिनेटमा १२ बजेर ९ मिनेट जाँदा  नेप्से ६ प्रतिशत बढसँगै तेस्रो सर्किट लाग्दै आजका लागि कारोबार नै बन्द भयो ।

एक घण्टा नौ मिनेटको समयावधिमा कुल नौ मिनेट मात्रै कारोबार भएको नेप्सेमा आज १११ अंकको वृद्धिसँगै १ हजार ९ सय ६३ अंकमा पुगेर रोकिएको छ । आज ५ कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले बढ्दा ३० कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । आइतबार २२७ कम्पनीको शेयर मूल्य बढ्दा २ कम्पनीको भने घटेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved