१७ वर्ष अगाडी नै बनेको थियो अर्को स्टकको 'योजना', कार्कीदेखि कार्कीसम्मको संलग्नता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 12, 2023 | 05:30:27 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल सरकारले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रकृया अगाडी बढाएसँगै अर्को स्टक एक्सचेन्जको आवश्यकताबारे सुरु भएको बहस अझैं सकिएको छैन। केहिले नेपालजस्तो सानो अर्थतन्त्र भएको देशमा दुईवटा स्टक एक्सचेन्ज नचाहिने धारणा राखेका छन् भने अधिकांशले अहिलेको स्टक एक्सचेन्ज यथास्थितिमा अगाडी बढ्न नसक्ने भन्दै नयाँ स्टक एक्सचेन्जको खाँचो देखेका छन्। 

तर यथास्थितिमा अहिलेको स्टक एक्सचेन्ज अगाडी बढ्न नसक्ने भन्दै यसको विकल्प १७ वर्ष अगाडी नै कोरिएको थियो । बिजपाटीलाई प्राप्त दस्तावेज अनुसार नेपाल धितोपत्र बोर्डका अध्यक्ष समेत भईसकेका रेवत बहादुर कार्की नेप्सेको कार्यकारी प्रमुख हुँदा नै अहिलेको स्टक एक्सचेन्जको विकल्प खोजिएको थियो। अहिलेको यथास्थितिमा नेप्सेलाई अगाडी बढाउँन नसकिने आधार सहित यसको विकल्पको प्रस्ताव कार्कीले अर्थमन्त्रालयमा बुझाएका थिए। तर उनको त्यो प्रस्ताव १७ वर्षदेखि अर्थमन्त्रालयमै थन्किएको पाइएको छ। 

कार्की पश्चात नेप्सेको कार्यकारी प्रमुख बनेका शंकरमान सिंहले पनि अहिलेको स्टक एक्सचेन्जको विकल्प महसुस गरेर प्रस्ताव अर्थमन्त्रालय पठाएका थिए। उनको प्रस्ताव अर्थमन्त्रालय हुँदै संसदीय समितिमा समेत पुगेर रोकिएको जानकार बताउँछन्। अहिलेको स्टक एक्सचेन्जको विकल्पमा अगाडी सारिएको प्रस्ताव पुगेको माथिल्लो ठाउँ भनेको अहिलेसम्मलाई संसदीय समिति नै रहेको समेत जानकार बताउँछन्। 

सिंह पश्चात नेप्सेको कार्यकारी प्रमुख बनेका सिताराम थपलिया, चन्द्र सिंह साउद मात्रै नभई बहालवाला सीइओ कृष्ण बहादुर कार्कीले समेत अहिलेको स्टकको विकल्पको प्रस्ताव अर्थमन्त्रालयसम्म पुर्याएको पाइएको छ। उनीहरु सबैले अहिलेको कानुनी तथा प्राविधिक संरचनामा टेकेर नेप्से धेरै अगाडी बढ्न नसक्ने भन्दै यसको विकल्प अगाडी सारेको पाइएको छ। 

अहिलेको कानुनी, मानवसंसाधन र प्रविधिगत संरचना नै नेपाल स्टक एक्सचेन्ज अर्थात नेप्सेको विकल्पको कारण भएको तत्कालिन नेप्से प्रमुख शंकरमान सिंहदेखि बहालवाला कृष्ण बहादुर कार्कीले बुझाएको प्रस्तावपत्रमा उल्लेख छ। 

उनीहरुले पेश गरेको प्रस्तावपत्रअनुसार नेप्से मुलत: प्रविधिमा आधारित हुने भएकाले क्षमतावान कर्मचारीको अभाव नै यसको समस्या हो। लोकसेवाले बिज्ञापन गरेर भर्ना गर्ने कर्मचारीहरुमा नेप्सेलाई चाहिने जस्तो कर्मचारी नपाइनु नै मूल समस्या हो। 

आइटीको ज्ञान कम भएकाहरु नै लोकसेवा पास गरेर आउने भएकाले उनीहरुबाट भनेजस्तो काम लिन नसकिने नेप्सेका पुर्व हाकिम बताउँछन्। नेप्सेमा क्षमतावान कर्मचारी आउँन नसक्नुको कारणमा ती हाकिम भन्छन, "आइटीको कामको लागि बाहिर जान नसकेका, नेपालमै पनि फ्री ल्यान्सर बन्न नसकेका, अरु निजि सँस्थामा काम पाउन नसकेकाहरुको अन्तिम विकल्प नेप्से बन्न पुगेको छ। त्यति मात्र नभई, नेप्सेमा आएर पनि यहाँको आइटी सिकेर राम्रो गर्ने भन्दा पनि भविष्यमा निजामति कर्मचारीमा उच्च पदको तयारिमा लाग्ने उदेश्यले नेप्सेमा आउँछन्" ती हाकिम भन्छन्, "यसो हुनुमा नेप्सेले उपलब्ध गराउने पारिश्रमिक नै हो, बाहिर गरे २-४ लाख कमाइन्छ, नेप्सेमा लोकसेवाले तोकेको तलबमान हुन्छ। '

अर्कोतर्फ, नेप्सेले शेयर कारोबार सेवाको लागि प्रयोग गर्ने प्रविधि पनि अर्को समस्या हो। अहिलेको प्रणालीलाई पटक पटक अपग्रेड गर्नुपर्ने भएपनि सार्वजनिक खरिद ऐन जस्ता कानुनको पालना गर्नुपर्ने हुँदा चाहेर पनि नेप्सेले समयअनुकुलको प्रविधि प्रयोगमा ल्याउन नसक्ने ती हाकिमको भनाई छ। 

कर्मचारी भर्ना मात्र नभई नेप्सेको अहिलेको संचालक समिति र कर्मचारीको संरचना पनि अर्को मूल समस्याको कारण भएको ती हाकिम बताउँछन्। संचालक समितिमा सरकारका बिभिन्न निकायका व्यक्तिहरु सदस्य हुने भएकाले उनीहरुको लागि यो एउटा भत्ता आउने ठाउँ र फुर्सदमा कुरा गर्ने ठाउँ बनेको बताउदै अहिलेको संचालक समितिको मोडालिटी पनि समस्या भएको ती हाकिम बताउँछन्। 

नेप्सेको संचालक समितिमा नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय, राष्ट्रिय बाणिज्य बैंक जस्ता संस्थाका ब्यस्त व्यक्तिहरु सदस्य हुने भएकाले उनीहरुले चाहेर पनि नेप्सेको लागि समय दिन नसक्ने भएकाले अहिलेको संचालक समितिको मोडल पनि समस्या भएको ती हाकिमको भनाई छ। 

त्यस्तै नेप्सेको प्रमुख कार्यकारीको नियुक्ति राजनीतिक भएकाले पनि पूर्ण रुपमा राजनीतिक प्रभाव हुने र सत्ता परिवर्तनसँगै कार्य सम्पादनमा चुनौती बढ्ने समस्याले पनि अहिलेको स्टक एक्सचेन्जको विकल्प खोज्नुपर्ने ती हाकिमको भनाई छ। 

संचालक समितिको संरचना, कानुनी पूर्वाधार, मानव संसाधन, खरिद प्रकृया जस्ता बिषयहरु नै नेप्सेको निरन्तरताको बाधक भएको भन्दै नेप्सेका सबै हाकिमले नेप्सेको विकल्प खोजेको बताइन्छ। विकल्पमा अहिलेको नेप्सेको निजीकरण, पब्लिक प्राइभेट पार्टनरशिप वा पूर्ण निजीकरणको प्रस्ताव सरकारसामु पटक पटक पुर्याउंदा पनि संसोधन नभएको बताइन्छ। 

समस्याको समाधान नदीई यथास्थितिमा नेप्सेलाई चलाउँदा अन्तराष्ट्रिय बजारमा कारोबार हुने अन्य टुल्स जस्तै इन्डेक्सको कारोबार, बोन्ड डिबेन्चरको कारोबार, इन्ट्रा डे कारोबार, अप्सन कारोबार, डेरीएभेटिभ कारोबार, जस्ता विकल्प नेपालमा नभएकाले १७ वर्ष अगाडी नै अहिलेको स्टक एक्सचेन्जको विकल्प खोजिएको नेप्सेका उच्च तहका कर्मचारी बताउँछन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved