एनआईसी एसिया बैंक NIC Asia Bank Limited ले चालू आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा उल्लेख्य प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले गत आर्थिक बर्षको यसअवधीसंगको तुलनामा १४५ प्रतिशतले बढाएर २ अर्ब २७ करोड खुद मुनाफा आर्जन गरेको छ। गत आर्थिक बर्षको यसअवधिमा बैंकले ९२ करोड ७६ लाख मात्रै मुनाफा गरेको थियो।
यसअवधीमा बैंकको निक्षेप संकलनको तुलनामा कर्जा बिस्तार करिब डब्बल देखिएको छ। बैंकले १० दशमलब ४२ प्रतिशतले बढाएर १ खर्ब ५४ अर्ब निक्षेप संकलन गर्दा २२ दशमलब २४ प्रतिशतले बढाएर १ खर्ब ४१ अर्ब कर्जा परिचालन गरेको छ। बैंकको मुख्य आम्दानी मानिने खुद ब्याज आम्दानी शतप्रतिशतले बढेर २ अर्ब ६५ करोडबाट ५ अर्ब ३२ करोड पुगेको छ।
चालु आर्थिक वर्षको ९ महिना अवधिमा बैंकसंग १ अर्ब ०५ करोड वितरणयोग्य नाफा छ। यसअनुसार बैंकले शेयरधनीलाई १५ दशमलब ८६ प्रतिशत लाभांश वितरण गर्न सक्दछ। राष्ट्र बैंकले तोकेको व्यवस्था अनुरुपको व्यवस्था पश्चात कायम हुने फ्रि प्रोफिट बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ। यद्दपी यस आर्थिक बर्षको कमाईबाट अन्य शिर्षकमा व्यवस्थापन गर्न नपरेको अवस्थामा र अहिलेकै प्रगतिलाई कायम राखेको अवस्थामा बैंकले यस बर्ष १६ प्रतिशत लाभांश बाड्न सक्ने क्षमता राख्छ। बैंकले ९४ करोड ९६ लाख रुपैयाँ सम्भावित जोखिमका लागि छुट्याउदा समेत उसको खुद मुनाफा १४५ प्रतिशतले बढेको छ।
यसअवधिमा बैंकको चुक्तापुंजी ८ अर्ब ८३ करोड छ भने जगेडा कोषमा ५ अर्ब ४५ करोड छ। त्यस्तै बैंकको खराब कर्जा अनुपात शुन्य दशमलब ४५ प्रतिशत छ। यसअवधिमा बैंकको प्रति सेयरआम्दानी ३४ रुपैयाँ ३६ पैसा, प्रति सेयर नेटवर्थ १६१ रुपैयाँ ७४ पैसा र मुल्य आम्दानीको अनुपात १३ दशमलब ६४ गुणा छ।