ललितपुर मल तथा ललितपुर मोबाइल कम्प्लेक्सको आयोजनामा मोबाइल एक्स्पो २०७३ सुरु भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवन बहादुर शाहीले मोबाइल एक्स्पो २०७३ को उद्घाटन गरे।
आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा सुरु गरेको सो मोबाइल एक्सो भदौ २४ गतेदेखि असोज ३ गतेसम्म चल्ने छ। ललितपुर जिल्लालाई केन्द्रमा राखेर नेपालभरीका मोबाइल प्रेमी तथा खरिदकर्ताहरुका लागि मोबाइल एक्स्पो गर्न लागिएको ललितपुर मोबाइल कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले बताए।
सो एक्स्पोमा हरेक मोबाइल खरिदकर्ताहरुले हात खाली नजाने उपहार प्राप्त गर्ने कम्पनीको दाबि छ। विभिन्न मोबाइल ब्राण्ड तथा एसेसरिजमा न्यूनतम ७ प्रतिशतदेखि ७० प्रतिशतसम्मको छुट रहने बताइएको छ। एक्स्पोमा हरेक ग्राहकहरु उपहार योजनामा सहभागी हुन पाउनेछन् ।
एक्स्पोका आगन्तुकले प्रवेश शुल्कको समयमा लक्की ड्र प्राप्त गर्ने र त्यसको आधारमा लक्की ड्रबाट दैनिक ३ जनालाई उपहार दीईने कम्पनीले जनाएको छ। एक्स्पोमा कम्प्लेक्सबाट सिल प्याक गरिएका मोबाइल फोन मात्र बिक्री गरि नयाँ प्रविधिहरुको बारेमा जानकारी प्रदान गरिने छ ।
एक्स्पोमा न्यूनतम ९ सयदेखि १ लाख रुपैंयासम्मको ब्राण्डेड मोबाइल फोनहरु उपलब्ध हुने कम्पनीले जनाएको छ । मोबाइल एक्स्पोमा करिब ३ लाख भन्दा बढिले अवलोकन गर्ने कम्पनीको अनुमान छ ।
मोबाइल एक्स्पोमा सामसुङ,हुवावे,जियोनी, आईफोन, एचटिसी, माइक्रोसफ्ट फोनहरु, डिटिसी, ओवीआई, लाभा, विनकम, फ्लाई, कलर्स, इन्टेक्स, माइक्रोम्याक्स, सोनी, एलजी, ब्ल्याकबेरी, कार्बन, पानासोनिक, जेडटिईलगायत ब्राण्डका फोनहरु उपलब्ध गराईने कम्पनीले जनाएको छ।