भारु प्रतिबन्धको असर :  दैनिक दुई करोडको भारु कारोबार बन्द

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 21, 2016 | 11:19:40 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतमा ५०० र १००० हजारका भारु नोट बन्द भएपछि महोत्तरी जिल्लामा हुने गरेको दैनिक दुई करोड भारतीय रुपैयाँको कारोबार बन्द भएको छ। महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिकालगायत जिल्लाको मटिहानी, सम्सी गाविस र जिल्लाको मूल भन्सार कार्यालय भिट्ठामोड अगाडि दैनिक हुने गरेको भारतीय रुपैयाँको कारोबार बन्द भएको हो। 
 
उल्लेखित चार वटै ठाउँमा दैनिक बिहानदेखि बेलुकासम्म दर्जनौँ व्यक्ति अवैधरुपमा बाटोमै उभेर सीमानाकामा आउजाउ गर्ने व्यक्तिलाई भारु रुपैयाँ बेचेर हजारौँ आम्दानी गर्ने गरेका थिए भने इजाजत प्राप्त सटही काउण्टर र राष्ट्रिय वाणिज्य बैंकले पनि भारु रुपैयाँको कारोबार गर्दै आएको थियो। यसका साथै जलेश्वर, मटिहानी, सम्सी र भिट्ठामोडका कपडा पसल, सुन चाँदी पसल र मदिरा पसल सञ्चालकले पनि दैनिक लाखौँ भारतीय रुपैयाँको कारोबार गर्दै आएका थिए । 
 
उनीहरुले नेपालबाट भारततर्फ बिरामी जचाँउन, आवश्यक सर सामान किनमेल गर्न र आकस्मिक कामकाजका लागि जाने व्यक्तिलाई नेपाली पैसा लिएर भारतीय पैसा बेच्दै आएका थिए। उनीहरुले नेपाली नागरिकसँग प्रति सैकडा चार रुपैयाँदेखि ६÷७ रुपैयाँसम्म लिएर भारतीय रुपैयाँ दिने गरेका थिए भने कतिले त आफ्नो वास्तविक व्यापार व्यवसायभन्दा भारु नेपाली साटेर नै राम्रो कमाइ गर्ने गरेका थिए। 
 
तर त्यस्ता भारु रुपैयाँको कारोबार गर्ने व्यक्तिसँग महोत्तरीमा अहिले तीन करोडदेखि पाँच करोड रुपैयाँसम्म ५०० र १००० नोट रहेको र ती सबै अब नचल्ने भइसकेको जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृपाशङ्कर साहले बताए। उनले महोत्तरीका दर्जनौँ भारु कारोबारी र ठूलठूला व्यापारी नेपाल सरकारले नेपाली व्यक्तिसँग रहेको भारतीय रुपैयाँ साट्नका लागि गर्न लागेको विशेष व्यवस्थालाई पर्खिरहेको बताए।
 
अहिले महोत्तरीमा भारु रुपैयाँको कारोबार पूर्णरुपमा बन्द रहेको छ भने भारतीय रुपैयाँको अभावमा यहाँबाट भारततर्फ बिरामीलगायत विभिन्न आवश्यक कामकाजका लागि जाने व्यक्ति भने निक्कै मारमा परेका छन्।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved