नेपाल राष्ट्र बैंकको तथ्यांकले कात्तिक महिनामा महंगीदर घटेको देखाएको छ। असोज महिनामा रहेको ६ दशमलब ७ प्रतिशत महंगीदर कात्तिकमा आइपुग्दा घटेर ४ दशमलब ८ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ।
एक बर्षको अवधिमा महंगीदर आधा भन्दा बढीले घटेको तथ्यांक छ। गत आर्थिक बर्ष यस अवधिमा महंगीदर १० दशमलब ४ प्रतिशत थियो।तथ्यांकअनुसार महंगीदर खाद्यान्नमा बढी मात्रामा घटेको देखिएको छ। अघिल्लो वर्षको कात्तिकसम्म खाद्यान्नको मूल्य बृद्धिदर १२. १ प्रतिशत रहेकोमा यो कात्तिकमा २. ६ प्रतिशतमा सीमित भएको छ।
अर्थशास्त्रको भाषामा मुद्रास्फितिले बस्तु तथा सेवा खरिदका लागि उपभोक्ताले खर्चिनु पर्ने पैसाको मूल्यलाई जनाउँछ। यसलाई बोलीचालीको भाषामा महँगीदर भनेर बुझ्ने बुझाईने गरिन्छ।
क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा उपभोक्ता महंगीदर पहाडमा ६.२ प्रतिशत, तराईमा ५।१ प्रतिशत, हिमालमा ४ प्रतिशत र काठमाडौं उपत्यकामा ३ प्रतिशत रहेको छ । अघिल्लो वर्षक सोही अवधिमा मूल्य वृद्धिदर पहाडमा ११.४ प्रतिशत, तराईमा ९.१ प्रतिशत, हिमालमा ९.६ प्रतिशत र काठमाडौं उपत्यकामा ११.८ प्रतिशत रहेको थियो।
नेपाल राष्ट्र बैंकको तथ्यांकले नेपालमा महंगीदर घट्दै गएको र देशकै राजधानी सस्तो भएको देखाएको छ। यद्दपी यथार्थमा भने अवस्था राष्ट्र बैंकको तथ्यांक भन्दा ठिक बिपरित रहेको छ। बजारमा दैनिक उपभोग्य बस्तु तथा खाद्यान्नको मूल्य छोही सक्नु छैन, त्यसमा पनि राजधानीमा । राष्ट्र बैंकले खुद्रा बजारबाट सामान खरिद गर्नेलाई समेट्न नसक्दा यथार्थप्रद तथ्यांक आउन नसकेको देखिन्छ।