हिन्दीलाई सम्पर्क भाषा बनाउने प्रयास

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 08, 2019 | 06:20:03 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश २ को सरकारद्वारा हिन्दी भाषालाई सम्पर्क भाषाका रूपमा विकास गर्ने नीति तथा कार्यक्रम प्रस्तुत गरिएकामा प्रतिपक्षी नेकपाका प्रदेशसभा सदस्यले आपत्ति जनाएका छन् ।

आर्थिक वर्ष ०७६÷०७७ का लागि प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा उनीहरूले सरकारले मैथिली, भोजपुरीलगायतका भाषाको संरक्षण नगरी हिन्दी भाषाको विकास गर्ने नीति तथा कार्यक्रम प्रस्तुत गर्नु मैथिली, भोजपुरीलगायतका भाषालाई कमजोर तुल्याउने मनसाय भएको बताए ।

नीति तथा कार्यक्रममा एकातिर मातृभाषामा पढाउने अर्कोतिर हिन्दी भाषालाई सम्पर्क भाषाका रूपमा विकास गरिने उल्लेख गर्नु विरोधाभास र संविधान विपरित भएको धारणा उनीहरूले राखे । नेकपाका प्रदेशसभा सदस्य किशोरी साह, मञ्जु यादव, सुन्दर विश्वकर्मा र दिलीपकुमार साहले सरकारको मैथिली र भोजपुरीलगायतका भाषालाई विस्थापित गर्ने नीति धरातलीय यथार्थभन्दा पृथक रहेकाले आफ्नो दल हिन्दी भाषालाई सम्पर्क भाषाका रूपमा विकास गरिने नीतिविरूद्ध रहेको स्पष्ट गरे ।

उनीहरूले सरकारको नीति तथा कार्यक्रम परम्परागत, मन्त्रीमुखी, नारामुखी, खर्च बढाउने संरचना कायम गरिएको, दलितलाई भेदभाव गरिएको, मन्त्रीको क्षेत्रमा मात्र कार्यक्रम केन्द्रित रहेको तर्फ ध्यानाकर्षण गराए । नीतिभन्दा नीयतमा सुधारको खाँचो रहेको उल्लेख गर्दै उनीहरुले जनकपुरधामलाई केन्द्रविन्दुमा राखी रिङ्ग कैनल, रिङरोड, ठोरीदेखि सप्तरीसम्मका बौद्ध सम्पदाको संरक्षणको विकासमा सरकार गम्भीर हुनु जरूरी भएको धारणा राखे। नेपाली काङ्गे्रसका प्रदेशसभा सदस्य शिवचन्द्र चौधरीले नीति तथा कार्यक्रम मन्त्री र नातेदारलाई कुवेर बनाउनेतर्फ केन्द्रित रहेको धारणा राखे ।

सरकारद्वारा जेठ १९ गते प्रस्तुत नीति तथा कार्यक्रममाथि १३ जना प्रदेशसभा सदस्यले संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved