आइफा अवार्डको लागि डेढ अर्ब, कसले कति ब्योर्दै छ खर्च ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 30, 2019 | 06:46:31 PM मा प्रकाशित

laxmi  sunrise bank

इण्डियन फिल्म एकेडेमी (आइफा) अवार्ड–२०१९ नेपालमा आयोजना गर्ने सम्बन्धमा बजेटको विषयलाई लिएर विभिन्न टिकाटिप्पणी चलिरहेका बेला नेपाल पर्यटन बोर्डले उक्त अवार्डका लागि अहिले नै बजेटको टुङ्गो लागि नसकेको स्पष्ट पारेको छ ।

बोर्डले आज पत्रकार सम्मेलन गरी आगामी अगष्ट महीनाको अन्तिम साता काठमाडौँमा आयोजना गर्ने तयारी गरिएको उक्त अवार्डमा लाग्ने नगद तथा अन्य सौजन्यलगायत खर्चबारे अझै वार्ताकै क्रममा रहेकाले बाहिर आएजस्तो रकम खर्च नहुने प्रष्ट पारेको छ ।

आइफा अवार्डको विषयलाई लिएर विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आएका समाचार तथा टिप्पणीप्रति ध्यानाकर्षण भएको जनाउँदै बोर्डले अवार्डको कार्ययोजना तयार भइनसकेको, पूर्वतयारीका विषय यकिन गर्न बाँकी रहेको तथा अवार्डको खर्च राष्ट्रिय ढुकुटीबाट नहुने जनाएको छ ।

आइफा अवार्डका लागि सरकारले रु एक अर्ब रुपैयाँ खर्च गर्न लागेको भन्ने समाचार तथा सामाजिक सञ्जालमा छाएको थियो । आयोजकले अर्वाड सम्पन्न गर्न करीब रु डेढ अर्ब लाग्ने र त्यसमा करीब रु ४० देखि ५० करोड नगद र अन्य ‘लजिस्टिक’ सहयोगको उनीहरुबाट आग्रह भए पनि नेपालले कति खर्च गर्ने भन्नेमा निर्णय हुन बाँकी रहको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जानकारी दिए ।

उनले भने,“अवार्ड आयोजकले नगद रु ४० करोड र भारतका मुख्य शहरदेखि काडमाडौँंसम्म दुईतर्फि हवाईभाडा, होटल तथा स्थानीय यातायात र सुरक्षाको जिम्मा नेपालले लिनुपर्ने प्रस्ताव गरेका छन् । यसबारे हामी छलफलकै क्रममा छौ । अहिले बाहिर आएजस्तो रु एक अर्ब खर्च गर्ने भन्ने कुरा सत्य होइन सकेसम्म कम खर्चमा बढी प्रतिफल हुनेगरी गर्ने योजना छ ।”

अवार्ड आयोजनाका लागि पर्यटनमन्त्री संयोजक रहनेगरी १७ सदस्यीय समिति गठन गरिएको छ । त्यसमा बोर्डले सदस्य सचिवको जिम्मेवारी पाएको छ । मन्त्रिपरिषद्को हालैको बैठकले काठमाडौंँ महानगरपालिका सहआयोजक रहने गरी नेपाल पर्यटन बोडको समन्वयमा अवार्ड सम्पन्न गर्ने निर्णय गरेको थियो ।

अवार्डका लागि नेपालले व्यहोर्नुपर्ने खर्च महानगरपालिका, पर्यटन बोर्ड र निजी क्षेत्रका सङ्घ संस्था, नेपाल उद्योग वाणिज्य महासङ्ग, उद्योग परिषङ, होटल एशोसिएशन अफ नेपाल (हान)लगायतको साझेदारी गरिने जोशीले जानकारी दिए । नेपाली सेनाको मुख्यालय परिसरमा रहेको खेलकूद मैदानमा अवार्ड आयोजना गर्ने प्रारम्भिक निर्णय भएको भए पनि स्थान परिवर्तन पनि हुनसक्ने जनाइएको छ ।

प्रमुख कार्यकारी अधिकृत जोशीले आइफा अवार्ड नेपालमा आयोजना हुनु नेपालको पर्यटन प्रवद्र्धनका लागि ठूलो अवसर भएको बताए । भारतका वरिष्ठ कलाकारदेखि करीब छ सयको सङ्ख्यामा बलिउड कलाकार नेपाल आउँदा ‘नेपाल आइफा अवार्ड’ भनेर विश्वभर प्रचार हुने भएकाले नेपालको पर्यटनका विषयमा विश्वभर सकारात्मक सन्देश जाने विश्वास लिइएको छ ।

सन् २००० देखि शुरु भएको आइफा अवार्ड हालसम्म १२ देशका १६ शहरमा आयोजना भइसकेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved