नेपाली क्रिकेटरलाई २ बर्षको तलब एकै पटक, सन्दीप लामिछाने लगायत कसले कति पाउँछन ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 03, 2019 | 03:01:50 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली क्रिकेटरले दुई बर्षदेखि रोकिएको तलब एकै पटक पाउने भएका छन। नेपाली क्रिकेटको अभिभावक नेपाल क्रिकेट संघ (क्यान) नयाँ नेतृत्त्व चयनको विवादले निलम्बनमा परेकाले नेपाली क्रिकेटरले दुई बर्षयता तलब पाएका थिएनन। 

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले बिशेष पहल गरेपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) खेलाडीको बर्गिकरणअनुसार राखेपमार्फत दुई वर्ष (सन् २०१७ र २०१८) को तलब उपलब्ध गराउन सहमत भएको हो। यससंगै नेपाली क्रिकेटरले दुई बर्षदेखि रोकिएको पारिश्रमिक पाउने निश्चित भएको हो। 

'हामीले आइसिसीसँग पहल गर्यौं, ऊ पनि पैसा दिन सहमत भयो, अहिले हामीले खेलाडीसँग सम्झौता गरेर आइसिसीमा पठाएका छौँ, वर्गीकरणभित्र परेका खेलाडीले केही साताभित्र तलब बापतको पैसा पाउनेछन्' राखेपका सदस्य सचिव केशवकुमार विष्टले भने। 

विसं २०७३ वैशाखमा क्यान निलम्बन भएपछि अहिलेसम्म नेपाली खेलाडीले अभिभावक बिनै ठूला प्रतियोगितामा सहभागिता जनाउँदै आएका छन् । साथै नेपाली क्रिकेटको सबै व्यवस्थापकीय पक्ष आइसिसीले नै हेर्दै आएको छ । 

तलबका विषयमा आइसिसीले राष्ट्रिय खेलकूद परिषद्को सहकार्यमा तलब दिन लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका व्यवस्थापक रमन सिवाकोटीले  जानकारी दिए  । खेलाडी तथा परिषद्को आग्रहपछि आइसिसी तलब दिनका लागि राजी भएको हो । यसका लागि आइसिसीले तलब दिने खेलाडीलाई ए, बी र सी गरी तीन तहमा वर्गीकरणसमेत गरेको छ। ‘ए’ श्रेणीमा पर्ने खेलाडीले मासिक रु ३५, ‘बी’ श्रेणीका खेलाडीले मासिक रु २५ र सी श्रेणीका खेलाडीले मासिक रु १५ हजारका दरले पछिल्लो दुई वर्षको तलब पाउनेछन् । 

त्यसमध्ये ‘ए’ श्रेणीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, शरद भेषवाकर, वसन्त रेग्मी, सोमपाल कामी, र दीपेन्द्रसिंह ऐरी रहेका छन् । श्रेणी ‘बी’ मा रोहितकुमार पौडेल, ललितनारायण राजवंशी, आरिफ शेख, करण केसी, ललित भण्डारी, अनिलकुमार शाह र शक्ति गौचन रहेका छन् । श्रेणी ‘सी’ मा सुशन भारी, किशोर महतो, सुवास खकुरेल, सागर पुन, दिलीपनाथ, सुनील धमला र विनोद भण्डारी रहेका छन् । 

‘ए’ श्रेणीका खेलाडीले पछिल्लो दुई वर्षको एकमुष्ट रु आठ लाख ४० हजार, ‘बी’ श्रेणीका खेलाडीले रु छ लाख र ‘सी’ श्रेणीका खेलाडीले रु तीन लाख ६० हजार प्राप्त गर्नेछन् । आइसिसीको निलम्बनमा पर्नु अघि क्यानले खेलाडीलाई ‘ए’, ‘बी’ र ‘सी’ तीन श्रेणीमा वर्गीकरण गरी सम्झौता गरेर सन् २०१५ को जनवरीदेखि मासिक तलब दिन शुरु गरेको थियो । तर, क्यानले भने निलम्बनमा परेसँगै खेलाडीको तलबसमेत रोकेको थियो । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved