लियोनल मेस्सीः सन्यासबाट फर्केर नयाँ उचाईमा पुगेका सुपरस्टार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 11, 2021 | 09:56:33 AM मा प्रकाशित

laxmi  sunrise bank

विश्व फुटबलका सुपरस्टार लियोनल मेस्सीको जीवनकालमा लाग्दै आएको एउटा दाग आजबाट मेटिएको छ । करिब २ दशकदेखि सर्वाधिक चर्चामा रहेका मेस्सीले आफ्नो देशको लागि अन्तराष्ट्रिय उपाधि दिलाउन नसकेको आरोप खेप्दै आएका थिए । तर, आज कोपा अमेरिकाको उपाधि उचालेसँगै उनी माथिको यो आरोपको दाग अब सधैँका लागि मेटिएको छ ।

अर्को शिराबाट भन्ने हो भने लियोनल मेस्सीले आजबाट नयाँ उचाई लिएका छन् । क्लब फुटबलबाट सर्वाधिक उपलब्धि हासिल गरेका मेस्सीले सक्रिय फुटबलरको रुपमा देशका लागि अन्तराष्ट्रिय उपाधि दिलाउने सपना पूरा गरे । यति मात्रै नभई, स्पेनिस क्लब बार्सिलोनाका लागि राम्रो खेल्ने तर अर्जेन्टिनाका लागि राम्रो नखेल्ने आरोप पनि सधैँका लागि मेटाए । 

क्लब फुटबलमा ४ पटक च्याम्पियन्स लिग, ३ पटक फिफा क्लब विश्वकपको, १० पटक ला लिगा र ६ वटा कोपा डेल रेको उपाधि उचलेका मेस्सीले विश्व फुटबलका सर्वाधिक सफल खेलाडीलाई हरेक वर्ष दिइने बालोन डि ओर अवार्ड ६ पटक जितेका छन् ।

घरेलु टोली ब्राजिललाई उसकै मैदानमा स्तब्ध पार्दै १–० को नतिजासहित अर्जेन्टिनाले उपाधि उचाल्यो । फाइनलमा आफूले गोल नगरेपनि मेस्सीका लागि आजको फाइनलमा जित महत्वपूर्ण थियो । आजको फाइनलमा डि मारियाले २२ औँ मिनेटमा गरेको १ मात्र गोल नै निर्णायक बन्यो ।

कोपाको फाइनलसम्म आईपुग्दा मेस्सी ४ पटकक म्यान अफ दि म्याच बने । ४ गोल र ५ असिस्ट गरे । फाइनलमा गोल नगरेपनि आफ्नो प्रभाव कायम राखेका मेस्सीकै कारण आजको जित सम्भव भयो भन्न सकिन्छ । 

५ वर्ष अघिको त्यो अप्रत्यासित सन्यास

मेस्सीले ५ वर्ष अघि नै अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए । सन् २०१६ को कोपा अमेरिकाकै फाइनलमा चिलीसँग पराजित भएपटि मेस्सीले सन्यासको घोषणा गरेका थिए । त्यतिबेला जम्मा २९ वर्षका मेस्सीले पटक पटक फाइनलमा पराजय ब्यहोरेपछि दिक्क मानेर सन्न्यासको घोषणा गरेका थिए । 

तर, विश्वभरका समर्थकहरुको निरन्तर आग्रह र अर्जेन्टिनी लेजेन्ड डिएगो म्याराडोनाले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा फिर्ता लिन गरेको अपिललाई आत्मसात गर्दै मेस्सी राष्ट्रिय टोलीमा फर्किएका थिए । 

यदि, ५ वर्षअघिको त्यो सन्न्यासमा उनले पुनःर्विचार नगरेको भए सर्वाधिक चर्चित हुँदाहुँदै पनि मूलुकका लागि अन्तराष्ट्रिय उपाधि नउचाली करियबाट बिदा भएकोमा मेस्सीलाई पछुतो रहिरहने थियो । तर, ३४ वर्षको उमेरमा आएर अर्जेन्टिनालाई कोपाको उपाधि दिलाउन नायककत्व भूमीका निर्वाह गरेका मेस्सीको हातमा ढिलै भएपनि अन्तराष्ट्रिय उपाधि परेको छ । 

विश्वकप गुमाएको स्टेडियममा कोपाको उपाधि

सन् २०१४ को विश्वकपमा मेस्सीले अर्जेन्टिनालाई उपाधिको नजिक पुर्याएका थिए । पहिलोपटक उनको नेतृत्वमा विश्वकप खेलिरहेको अर्जेन्टिना फाइनलसम्म पुग्यो । तर, फाइनल खेलमा जर्मनी हाबी हुँदा उपाधि गुमाउन पर्यो । मेस्सीले त्यतिबेला म्यान अफ दि टुर्नामेन्टको व्यक्तिगत अवार्डमा मात्रै चित्त बुझाउन पर्यो ।

आफूले विश्वकपको उपाधिका लागि जर्मनीसँग प्रतिस्पर्धा गरेर उपाधि गुमाएको ब्राजिलको रियो दि जेनेरियोस्थित माराकाना रंगशालामै आज मेस्सीले कोपा अमेरिकाको उपाधि उचाले । 

यसअघि २०१५ र २०१६ मा दुईपटक कोपाको फाइनलमा पुगेर पनि उपाधिबाट चुकेका मेस्सीले विश्व फुटबलको महारथी भनिने ब्राजिललाई उसकै घरेलु मैदानमा हराएर उपाधि उचाले ।

अब मेस्सी र अर्जेन्टिनी समर्थकहरु उनकै जीवनकालमा अर्जेन्टिनाले विश्व कप फुटबलको उपाधि उचालेको हेर्न चाहन्छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved