स्पेनिस ला लिगाः सेभिया र बार्सिलोना विजयी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 19, 2021 | 08:38:33 AM मा प्रकाशित

laxmi  sunrise bank

स्पेनिस ला लिगामा दोस्रो स्थानमा आसिन सेभिया र बार्सिलोनाले जित निकालेका छन् । घरेलु मैदानमा शनिबार राति भएको खेलमा सेभियाले एट्लेटिको म्याड्रिडलाई २–१ गोलले हरायो । बार्सिलोनाले इल्चेमाथि ३–२ गोलको रोमाञ्चक जित निकाल्यो ।

सेभियाको जितमा इभान राकिटिक र लुकास ओकम्पोसले गोल गरे । एट्लेटिकोका फिलिपेले एक गोल फर्काए । प्रतिस्पर्धात्मक खेलमा सेभियाले सातौं मिनेटमा खाता खोलेको थियो । राकिटिकले करिम रिकिकको पासमा गोल गर्दै घरेलु टोलीको उत्साह जगाए ।

३३औं मिनेटमा फिलिपेले बराबरी गोल गर्दै एट्लेटिकोलाई खेलमा फर्काउने प्रयास गरे । फिलिपेले थोमस लेमारको पासमा गोल गरेका थिए । ८८औं मिनेटमा लुकास ओकम्पोसले जुलेस कोन्डेको पास गोल गर्दै सेभियालाई जिताए । सेभियाका इभान राकिटिक ‘म्यान अफ दी म्याच’ भए ।

जितसँगै सेभियाले दोस्रो स्थान थप बलियो बनाएको छ । १७ खेल सकेको सेभियाको ३७ अंक छ । पराजित एट्लेटिको २९ अंक सहित पाँचौं स्थानमा झरेको छ । शीर्षस्थानमा रहेको रियल म्याड्रिडको ४२ अंक छ ।

यसैगरी घरेलु मैदानमा बार्सिलोनालाई जिताउन फेरान जुटग्ला, पाब्लो गाभिरा र निकोले गोल गरे । इल्चेका टेटे मोरेन्टे र पेरे मिल्लाले गोल गरेका थिए । जारी सिजन खराव लयबाट गुज्रिएको बार्सिलोनाको पछिल्लो पाँच खेलमा यो पहिलो जित हो । बार्सिलोनाले १६औं मिनेटमा फेरानको गोलमा अग्रता लिएको थियो । पाब्लोले १९औं मिनेटमा गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफमा खेलमा फर्किएको इल्चेले दुई मिनेटको अन्तरमा दुई गोल गर्दै खेललाई बराबरीमा ल्यायो । ६२औं मिनेटमा टेटे मोरेन्टे र ६३औं मिनेटमा पेरे मिल्लाले गोल गरेपछि खेलले रोचक मोड लिएको थियो ।

त्यसपछि ८५औं मिनेटमा निकोले पाब्लो गाभिराको पासमा गोल गर्दै बार्सिलोनालाई रोमाञ्चक जित दिलाए । निको ‘म्यान अफ दी म्याच’ भए । जितसँगै १७ खेलबाट २७ अंक बनाएको बार्सिलोना सातौं स्थानमा छ । पराजित इल्चे १५ अंक सहित १६औं स्थानमा छ ।

अर्को खेलमा भिल्लारियलले १० खेलाडीमा सिमित रियल सोसिडाडलाई ३–१ र रायो भालेकानोले डिर्पोटिभो अलाभेसलाई २–० गोलले पराजित गरेको छ ।

विश्वकै चर्चित लिग मध्यको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रतक्ष हेर्न पाइने ब्यवस्था छ । हरेक हप्ता आउने ला लिगाको खेल अब हप्ताको ५० रुपैयाँ शुल्क तिरेर हेर्न सकिने छ ।

ला लिगाको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो । ला लिगाका खेलहरु एक्सन स्पोर्टस एचडी २ मा प्रशारण भईरहेको छ ।

त्यसका लागि डिशहोमको ग्राहक भने बन्नुपर्ने हुन्छ । हाल डिशहोमको ग्राहकलाई ला लिगाको सिजन टिकट सिम टिभी, प्रभु टिभी र डिश होमको ओटीटी (डिशहोम गो) मार्फत उपलब्ध छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved