उज्वेकिस्तानलाई हराउँदै नेपाल बन्यो सेन्ट्रल जोनको च्याम्पियन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 28, 2021 | 02:45:48 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली महिला भलिबल टोली एभिसी एसियन सेन्ट्रल जोन च्याम्पियन बनेको छ । साविक विजेता नेपालले आज उज्वेकिस्तानलाई हराउँदै लगातार दोस्रो संस्करणमा अपराजित रहँदै च्याम्पियन बनेको हो ।

बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा भएको उपाधि भिडन्तमा नेपालले उज्वेकिस्तानलाई ३–२ को सेटमा पराजित गरेको हो । नेपालले उज्वेकिस्तानमाथि २६–२४, २४–२६, २५–१५, २२–२५ र १५– १० को जित निकालेको हो । 

नेपालले सन् २०१९ मा भएको एभिसी एसियन सेन्ट्रल जोनको पहिलो संस्करणमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै अपराजित र एक सेट पनि नगुमाई च्याम्पियन बन्दै नेपाली भलिबल इतिहासमा ऐतिहासिक स्वर्णपदक जितेको थियो ।

पहिलो सेटमा १२–१७ ले पछि रहेको अवस्थामा नेपालले उत्कृष्ट पूनरागमन गर्दै २०–१८ को अग्रता लिदै जिततर्फ अग्रसर बनेको थियो । तर, त्यसपछि लगातार अंक गुमाउँदा खेल २१–२१ को बराबरीमा पुग्यो । नेपालले ३ पटक सेट प्वाइन्टमा पुग्दै २६–२४ को रोमाञ्चक जित निकाल्यो । 

दोस्रो सेटमा भने कुनै पनि समय अग्रता लिन नसकेको नेपालले २४–२६ को नतिजामा चित्त बुझाउँदै सेट उज्वेकिस्तानलाई सुम्पियो । उज्वेकिस्तानका प्रशिक्षकले रातो कार्ड खाएपछि नेपालले एक अंक थप्दै खेलमा फर्किने संकेत गरेको थियो । त्यसपछि लगातार ३ अंक जोड्दै खेललाई २३–२३ को बराबरीमा पुर्याएको भएपनि नेपालले १ अंक जोड्दा उज्वेकिस्तानले २ पटक सेट प्वाइन्ट लिँदै २६–२४ ले सेट जितेको थियो । 

तेस्रो सेटमा ११–११ को अवस्थाबाट भने नेपालले लगातार अग्रता बनायो । लगातार ७ अंक जोड्दै नेपालले १८–११ को अवस्था सिर्जना गर्यो । र, थप ७ अंक जोड्दै २५–१५ को सहज जित निकाल्यो । 

प्रतिस्पर्धात्मक चौथो सेटमा १०–१० को बराबरीबाट पछि परेको नेपालले सेट २२–२५ ले गुमायो । जसका कारण खेल पाँचौ सेटसम्म लम्वियो । 

निकै प्रतिस्पर्धात्मक पाँचौ सेटमा ७–७ को बराबरीबाट अघि बढेको नेपाल १३–९ को अग्रता लिँदै जितको निकट पुग्यो । त्यसपछि २ अंक जोड्दै १५–१० को सेटमा च्याम्पियन बन्यो ।

च्याम्पियनसिपमा कुल ६ खेलमा २१ सेट खेलेको नेपालले १८ सेटमा जित र ३ सेटमा हार ब्यहोर्यो । 

यस्तै श्रीलंकाले किर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ ।

२३ डिसेम्वरबाट शुरु भएको च्याम्पियनसिपमा महिलातर्फ आयोजक बंगलादेश, किर्गिस्तान, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान गरी ६ राष्ट्रको सहभागिता थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved