आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपाल र पीएनजी विरुद्दको खेल जारी छ । खेलमा टस हारेर पहिलो ब्याटिंग गरेको पीएनजी ९५ रन मै अल आउट भएको छ ।
पीएनजीले ३२ ओभरमा सबै विकेट गुमाउदै केवल ९५ रन मात्र बनाएको हो । पीएनजीलाई सस्तैमा समेट्न नेपालको लागि सन्दिप लामिछानेले सर्वाधिक ५ विकेट लिए । यस सँगै उनले एक दिवसीयमा ९८ विकेट लिएका छन् । अब ३ खेलमा २ विकेट लिए उनी एक दिवसीय क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट लिने खेलाडी बन्ने छन् । हालको यो रेकर्ड अफगानिस्तानका राशिद खानको नाममा छ । उनले ४४ खेलमा १०० विकेट लिएका हुन् । सन्दिपको भने हाल ४० खेल मात्र भएको छ ।
त्यस्तै आज कुशल मल्लले २ विकेट, ललित राजबंशीले २ विकेट र सोमपाल कामीले १ विकेट लिए । नेपालले केहि समयपछि जवाफी ब्याटिंग थाल्ने छ।
नेपालले हिजो युएईलाई पराजित गरेसँगै नेपालको दिवसीय बरियता कायम नै रहने पक्का भईसकेको छ । अब नेपालले आज सोमबार पीएनजीलाई र बिहिबार युएईलाई पराजित गरेमा नेपाल ४० अंक सहित अंक तालिकाको तेस्रो स्थानमा उक्लने छ । तेस्रो स्थानमा नेपाल पुगेमा नेपाल सिधै एक दिवसीय विश्वकप छनौट खेल्न पाउने छ ।
यदि शिर्ष ३ मा पर्न सकेन भने पनि नेपालले विश्वकप छनौट खेल्न सक्छ । तर त्यसको लागि ६ देश सम्मिलित अर्को छनौट खेल्नु पर्छ र ति ६ देश मध्ये शिर्ष २ मा रहन सक्नु पर्छ । यदि शिर्ष २ मा पर्न सकेन भने विश्वकप छनौट खेल्ने सम्पूर्ण सम्भावना बन्द हुन्छ।
विश्वकप छनौटमा १० टिम रहने छन् । यसमा शिर्ष २ मा रहने २ टिमले आगामी वर्ष भारतमा हुने ५० ओभरको विश्वकप खेल्न पाउने छन् ।