बिहिबार हुने नेपाल र युएईबीचको खेलको सबै टिकट सकियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 15, 2023 | 09:48:54 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल क्रिकेट संघ क्यानले बिहिबार हुने नेपाल र युएईबीचको खेलको सबै टिकट सकिएको जनाएको छ । क्यानले आज संघ सामाजिक संजाल मार्फत सबै टिकट बिक्री भईसकेको जनाएको हो 

क्यानले बिहिबार ठूलो संख्यामा समर्थकहरु किर्तिपुर स्थित क्रिकेट मैदान पुग्ने आंकलन गरिएकोले सुरक्षित भई सभ्य तरिकाले खेल हेरिदिन आग्रह गरेको छ । त्यस्तै क्यानले बालबालिका र जेष्ठ नागरिकहरुलाई आ-आफ्नो घर बाट नै नेपाली टिमलाई समर्थन गर्न आग्रह गरेको छ 

बिहिबार नेपाली राष्ट्रिय क्रिकेट टिमले आफ्नो घरेलु मैदानमा महत्वपूर्ण खेल खेल्दै छ ।  आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत बिहिबार नेपालले युएइसँग अन्तिम खेल खेल्दै छ । यो लिग कै अन्तिम खेल हो । यो खेल नेपालको लागि सबैभन्दा महत्वपूर्ण छ।  यो खेल जितेमा नेपालले  सिधै एक दिवसीय विश्वकप ग्लोबल  छनौट खेल्न पाउने छ। 

लिगको अन्तिम खेल भएकोले यो फाइनल नै हो । तर त्यसमाथि पनि नेपालले यो खेल जितेमा सिधै एक दिवसीय विश्वकप ग्लोबल  छनौट खेल्न पाउने भएकोले यो फाइनल खेल जस्तै 'गर या मर'को अवस्था हो। 

खेलको लागि खेलाडीले तयारी गरेकै छन् । समर्थक र दर्शकको तयारी पनि कम छैन । बिहिबारको खेलको लागि बाहिरी जिल्लाबाट बस नै रिजर्भ गरेर खेल हेर्न आउने तयारी गरेका समर्थकहरुको संख्या ठूलो छ । 

त्यस्तै बिहिबारको खेलमा बाजा बजाउने समुह र लोक दोहोरी कलाकार समेत उपस्थित हुँदै छन् । प्रत्यक्ष दोहोरी कलाकार संघका अध्यक्ष एवम गोरखा सास्कृतिक समाजका महासचिव रविन लामिछाने ५० जना भन्दा धेरै दोहोरी कलाकारहरु एउटै समुहमा नेपाललाई समर्थन गर्न जाने तयारीमा रहेको बताउछन्। उनीहरुले लोक दोहोरी कलाकार लेखेर नेपाली टिमको विशेष जर्सी नै तयार पारेका छन् । 

त्यस्तै एमआरआरको समुहले पन्चेबाजा सहित नेपाललाई समर्थन गर्न मैदान जाने सबै तयारी गरिसकेको छ ।  एमआरआरले आम क्रिकेट समर्थकबाट ससानो सहयोग संकलन गरेर पन्जेबाजा सहित नेपाललाई समर्थन गर्न जान लागेको हो ।  

नेपाली क्रिकेट समर्थक समाजका अध्यक्ष नारायण पराजुली बिहिबार मैदानमा दर्शकको उपस्थिति ऐतिहासिक हुने बताउछन् ।  उनका अनुसार पूर्वदेखि पश्चिमबाट समर्थकहरु गाडी रिजर्भ गरेर काठमाडौँ आउन लागेको र काठमाडौ आसपासका साथीहरु मैदान पुग्ने नै भएकोले खेलमा समर्थकको उपस्थिति ऐतिहासिक हुने पक्का छ । उनी भन्छन् 'टियुमा ऐतिहासिक दर्शक सहित , ऐतिहासिक जित निकालेर विश्वकपको एक खुट्किला नजिक पुग्ने हाम्रो चाहानालाई अब कसैले रोक्न सक्दैन । '

नेपाली क्रिकेटलाई लामो समयदेखि नजिकबाट नियालिरहेका र नेपालको खेलको कमेन्टेटर समेत रहेका एन्ड्रियु लिनार्ड बिहिबार मैदानमा २५ हजार दर्शक आउने अनुमान गर्छन् । उनले मैदानमा आउने समर्थहरुलाई समयमा नै आउँन र आफ्नो टिमलाई समर्थन गर्दै गर्दा विपक्षी टिमका खेलाडीलाई पनि सम्मान गर्न आग्रह गरेका छन्। उनी बिहिबारको खेल नेपालको क्रिकेट इतिहास मै सबैभन्दा ठूलो खेल भएको बताउछन् ।

हाल अंक तालिकामा नेपाल ३८ अंक सहित चौथो स्थानमा छ। नेपालले युएई विरुद्दको खेल पनि जिते नेपालको ३६ खेलबाट ४० अंक हुने छ । ४० अंक हुँदा नेपाल अंक तलिकामा नामिबियालाई पछाडी पार्दै तेस्रो स्थानमा उक्लने छ । युएईलाई पराजित गर्दै नेपालले अंक तालिकामा तेस्रो स्थान हाँसिल गरेमा नेपालले  सिधै एक दिवसीय विश्वकप ग्लोबल  छनौट खेल्न पाउने छ। तर वर्षाको कारण अंक बराबर गर्नु पर्ने बाध्यता आयो भने नेपाल र नामिबियाको समान ३९ अंक हुनेछ र राम्रो रन रेट भएकोले नेपाल भन्दा मथि रही नामिबिया सिधै एक दिवसीय विश्वकप ग्लोबल  छनौट खेल्न पाउने छ। एक दिवसीय विश्वकप ग्लोबल छनौट जिम्बाबमा हुने छ।  विश्वकप ग्लोबल छनौटमा १० टिम रहने छन् । यसमा शिर्ष २ मा रहने २ टिमले आगामी वर्ष भारतमा हुने ५० ओभरको विश्वकप खेल्न पाउने छन् ।  

नेपालले युएईसंगको यो अन्तिम खेल नजिते पनि नेपालले एक दिवसीय विश्वकप ग्लोबल  छनौट खेल्न पाउने सम्भावना कायम नै रहने छ। तर त्यसको लागि ६ देश सम्मिलित अर्को छनौट खेल्नु पर्छ र ति ६ देश मध्ये शिर्ष २ मा रहन सक्नु पर्छ । यदि शिर्ष २ मा पर्न सकेन भने विश्वकप छनौट खेल्ने सम्पूर्ण सम्भावना बन्द हुन्छ।  नेपालको दिवसीय बरियता कायम नै रहने पक्का भईसकेको छ। 

वर्षाको सम्भावना कति ? 

महत्वपूर्ण खेल भएकोले सो खेल पानीले प्रभावित हुने पो होकी भन्ने चिन्ता आम समर्थकको छ । तर मौसदविदका अनुसार बिहीबार वर्षाको सम्भावना छैन । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको जल तथा मौसमविज्ञान केन्द्रीय विभागका सह प्राध्यापक डा. विनोद पोखरेलका अनुसार भोलि हुने नेपाल र युएई बीचको क्रिकेट खेलको मौसम सामान्य बदलि हुने तर पानी पर्ने सम्भावना एकदमै थोरै मात्र देखिन्छ। खेलको दौरान बादल लाग्ने देखिएपनि पानी पर्ने सम्भावना भने एकदमै न्यून रहेको उनले बताए 


यो पनि : बिहिबार नेपाली क्रिकेटको ऐतिहासिक 'फाइनल' खेल, लोकदोहोरी कलाकारदेखि पन्चेबाजासम्म तयार

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved